ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक राजस्व कार्यालय भरतपुर : राजस्व असुली लक्ष्यभन्दा करीब १४ प्रतिशत कम

२०७७ कार्तिक, २०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । असोज महीनामा आन्तरिक राजस्व कार्यालय भरतपुरको राजस्व असुली लक्ष्यभन्दा १३ दशमलव ६३  प्रतिशत कम भएको छ । कार्यालयका अनुसार सो अवधिमा सबै शीर्षकमा गरी १ अर्ब ७३ करोड ९८ लाख ३२ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकोमा १ अर्ब ५० करोड २६ लाख २३ हजार रुपैयाँ मात्र संकलन भएको छ ।

कार्यालय प्रमुख सुवप्रसाद रिजालले भदौको तुलनामा महीनामा राजस्व संकलन सन्तोषजनक भएको बताए । ‘साउनमा लक्ष्यको शतप्रतिशत असुली गर्न सफल भयौं, भदौमा निषेधाज्ञाले ५० प्रतिशत मात्र संकलन भयो,’ उनले भने, ‘असोजमा ७७ प्रतिशत जति पुगेको छ । बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प जस्तै भए पनि असोजमा भएको राजस्व असुली निराशाजनक होइन ।’

कार्यालयले अन्तःशुल्क शीर्षकमा राजस्वको लक्ष्य भेट्न नसके पनि अन्य सबै शीर्षकको भन्दा बढी असुली गरेको छ । कार्यालयका अनुसार असोजमा १ अर्ब ४८ करोड २५ लाख ४५ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएकोमा १ अर्ब २१ करोड ३९ लाख ९८ हजार रुपैयाँ असुली भएको छ । यस्तै शिक्षा सेवा शुल्क शीर्षकबाट कार्यालयले सबैभन्दा कम २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

मूल्य अभिवृद्धि कर, आयकर र ब्याजकर शीर्षकमा भने लक्ष्यभन्दा बढी राजस्व असुली गर्न सफल कार्यालय भएको छ । आन्तरिक राजस्व विभागले कार्यालयलाई मूल्य अभिवृद्धि कर शीर्षकमा १० करोड ६ लाख ५३ हजार राजस्व असुलीको लक्ष्य रहेकोमा सो शीर्षकबाट १२ करोड ८७ लाख ८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी आयकरमा कार्यालयले १४ करोड ५८ लाख ७८ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य लिएकोमा १४ करोड ८२ लाख ८१ हजार रुपैयाँ संकलन गरेको छ । साथै ब्याजकरमा ५६ लाख ३७ हजार असुली गर्ने लक्ष्य रहेकोमा ७५ लाख ९६ हजार संकलन भएको छ ।

कार्यालयले बहालकरमा ३१ लाख ९८ हजार राजस्व असुली गर्ने लक्ष्य पाएकोमा २८ लाख ५८ हजार र स्वास्थ्य सेवा करमा १४ लाख ५१ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ११ लाख ८० हजार रुपैयाँ असुली गरेको छ ।

कार्यालयका सूचना अधिकारी कपिल नेपालले भदौ अगाडि भएको बन्दाबन्दी र भदौमा ३ हप्ताभन्दा बढी निषेधाज्ञाका कारण रहेको राजस्व बक्यौता सेवाग्राहीले असोजमा तिर्न आएकाले आयकर, ब्याजकर र मूल्य अभिवृद्धि कर शीर्षकमा लक्ष्यभन्दा बढी राजस्व असुली भएको जानकारी दिए । आर्थिक वर्ष २०७७÷७८ को लागि विभागले कार्यालयलाई १८ अर्ब ९० करोड ९० लाख ४ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)