ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लोकतन्त्रमाथि मुसाबाट खतरा

२०७७ कार्तिक, २१  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

बालुवाटारको साँढे र खुमलटारको साँढेले, एकआपसमा जुधेर सबै फाँडे रे !

हो, देशमा साँढेहरू जुधिरहेका छन् । साँढेको जुधाइमा बाच्छाहरूको मिचाइ भइरहेको छ । अनि सबैतिरका बालीनाली सखाप भैरहेका छन् । साँढेहरू निरन्तर जुधिरहेका कारण नागरिकहरूको जीवन मात्र होइन, समग्रमा लोकतन्त्र नै जोखिममा परेको छ । तर अहिले साँढेभन्दा मुसाहरूबाट चैं बढी खतरा छ । किनकि, मुसाहरूले यी साँढेहरूलाई समेत घुमाइरहेका छन् । कसरी ?

जब मुसाहरू यसरी दिन दुईगुणा रात चौगुणा वृद्धि गर्दै जान्छन् भने देशमा भोकमरी त बढ्छ नि, हैन ? अनि टुँडिखेलमा भात खान लाइन नलागे महानगर कार्यालयभित्र लाग्ने कि बालुवाटारभित्र ? कि मेयरसाबको घरमा जाने ?

२०४७ सालतिर हामीले एकदलीय व्यवस्थाबाट मुक्ति पायौं । तर बगाल छुट्याउन नजान्दा हामीलाई मुसा–प्रथा पनि उत्तराधिकारकै रूपमा सँगसँगै मिल्यो । कसै कसैले यी मुसालाई अरिंगालको नामले पनि बोलाउँछन् । नेपाली लोकतन्त्रले जसरी विकास गर्दै गयो, मुसाहरूका खानदान पनि बढ्दै गए । परिस्थिति यस्तो हुँदै गयो कि मुसा मस्त र जनता त्रस्त हुँदै गए । यसलाई यसरी बुझौं कि कामै नगरी खान पल्केका यी मुसाहरू लोकतन्त्र र लुटतन्त्रको फरकमै भ्रम पार्न सफल भए ।

कहिल्यै पनि नक्कली बाबा र यी मुसाहरूको हातमा धन पर्न नहुने रहेछ । किनकि धन यिनका हातमा पार्नासाथ यिनीहरूले चमत्कार गर्न शुरू गरिहाल्दा रहेछन् । लोकतन्त्रका अमर नायकहरूको सपनाको धज्जी उडाउन यी मुसाहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् । जब मुसाहरू यसरी दिन दुईगुणा रात चौगुणा वृद्धि गर्दै जान्छन् भने देशमा भोकमरी त बढ्छ नि, हैन ? अनि टुँडिखेलमा भात खान लाइन नलागे महानगर कार्यालयभित्र लाग्ने कि बालुवाटारभित्र ? कि मेयरसाबको घरमा जाने ?

तर खुलेआम गरीबी देखाउन त पाइँदैन नि त लोकतन्त्रमा । त्यसैले त टुँडिखेलमा खाना ख्वाउँदा काठमाडौंकै बेइज्जत भो भनेर स्वयं महानगरका पिताले मुखै खोल्न पर्‍यो । मान्छेले खान पाए पनि नपाए पनि, कसैको इज्जत रहे पनि नरहे पनि काठमाडौंको इज्जत त जोगाउनु पर्‍यो नि ! कसो ?

यी पत्रकारहरू पनि कुरोको चुरोभित्र नपसी त्यसै खाद्य संस्थानले गरीबलाई चामल नबाँडी सडाएर राखेकाले भोकमरीको ग्राफ बढ्दै गएको हो भनेर बक्छन् । साँचो कारण त यो हो कि जति खाद्यान्न सडेका कारणले नष्ट हुन सकेका छैनन्, त्योभन्दा कता हो कता बढी चामल त यी मुसाहरूले निलिरहेका छन् । वास्तवमा यी मुसाहरूले सिंहदरबारदेखि गरीबको घरबारको जगसम्म पसेर प्वालै प्वाल पारिसकेका छन् । तर अचम्म ! मुसाहरू जति हसुरे पनि यिनीहरूले अझै डकारिसकेका छैनन्, अझै यिनलाई खान पुगेको छैन । आधुनिक अगस्त्य ऋषि परेछन् कि क्या हो हँ ?

जति टोक्ने क्षमता नेपाली मुसाहरूमा देखिएको छ, उति त विश्वका कुनै देशका मुसामा पनि शायद छैन होला । यी मुसा नेपाली लोकतन्त्र वा गणतन्त्रको बगैंचामा पछिल्लो ३० वर्षदेखि बिन्दास घुमिरहेका छन् । यिनलाई पिँजडामा बन्द गर्ने हिम्मत कसैमा पनि देखिएको छैन । यी मुसाहरूको संख्या पनि यति धेरै भैसक्यो कि यिनलाई थुन्न संसारभरिकै पिँजडा पनि कम हुन्छ । यी मुसा प्रत्येक दल, मन्त्रालय, विभाग, हरेक कार्यालयमा कटिबद्ध भएर तैनाथ छन् । अब तपाईं नै कल्पना गर्न सक्नुहुन्छ कि यी मुसाहरू रहेसम्म देशमा भोकमरी कसरी हट्न सक्छ र ? गरीबी कसरी घट्न सक्छ र ?

देशको विकास यसरी भैरहेको छ कि मुसाहरूको पेट पो बढ्दै गैरहेको छ । र, गरीबहरूको पेट झन् खुम्चँदै गैरहेका छन् । किनकि सबै तर यी मुसाहरूले नै मारिरहेका छन् । मुसाहरूकै बीच देशमा दुई चार सिंह पनि थिए, जसले गरीबी हटाउने भन्ने नारा गर्जिएका थिए । तर भयो यस्तो कि समयक्रममा सिंह त हराएर गए र दरबार मात्र बाँकी रह्यो । गरीबहरू भने जस्ताको तस्तै रहे ।

गरीबी हटाउने र मुसाहरू भगाउने भनेर देशमा थुप्रै आन्दोलन सान्दोलन पनि गरिए । तर भयो यस्तो कि अन्त्यमा सबैतिर यिनै मुसाहरूले पो भरिए । मुसा समात्न भनेरै अयोग पनि बने । तर आयोगको कथा पनि वियोगमै टुंगियो । केवल दुई–चार सानातिना मुसालाई मात्र ठुँगियो । भलै देशबाट मुसा हटाउने मुद्दा आज पनि जारी छ र भोलि पनि जारी रहनेछ । तर मुसा साँच्चै उन्मूलन गर्न भने निकै भारी छ । यी मुसाहरूले देश र लोकतन्त्रको जग खोतलखातल पारिसके । यी मुसा साँढे जुधाउने कलामा समेत पोख्त भइसके । पुच्छरले कुकुर हल्लाएजस्तो यिनले नेता र पद्धति हल्लाउने हैसियत बनाइसके । साँढेहरू यसरी नै एक आपसमा जुधिरहेसम्म त अरूबाट भन्दा पनि यी मुसाहरूबाट चैं लोकतन्त्र नै खतरामा छ है !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)