ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजार नपाएपछि बारीमै कुहिँदै बेमौसमी तरबुजा

२०७७ कार्तिक, २५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

कात्तिक २५, चितवन । प्रायः गर्मी मौसममा उत्पादन र विक्री हुने तरबुजा खेती बेमौसममा समेत बजार नपाउँदा बारीमै कुहिन थालेको छ । कोरोना भाइरस संक्रमणको जोखिमले भएको लकडाउनका कारण तरबुजाको विक्री हुने समय ठप्पै हुँदा किसानले लाखौं लगानी नोक्सानी बेहोर्दै आएका छन् । उत्पादन भएको छोटो समयमै विक्री गर्नुपर्ने र यसका लागि शीतभण्डार समेत नहुँदा उनीहरूको उत्पादन खेर गएको हो । 

छोटो समयमै उत्पादन दिने र खेती गर्न सजिलो हुने भएकोले पछिल्लो समय चितवनका किसानले व्यावसायिक तरबुजा खेती गर्दै आएका थिए । भरतपुर महानगरपालिका वडा नम्बर २०, फलेनीमा ६ बिगाहा जमिनमा तरबुजाखेती गरेका कृष्णप्रसाद न्यौपाने उत्पादन राम्रो भए पनि बजार नपाउँदा नोक्सान बेहोरेको बताउँछन् । ‘उत्पादन भएर मात्र के गर्नु विक्री नभएपछि अहिले मेरो १३ लाख रुपैयाँ नोक्सान भएको छ,’ उनले भने । 

गर्मी मौसममा तरबुजाको माग र विक्री राम्रै भए पनि जाडो सिजन लागेसँगै बाँकी उत्पादन विक्री हुन नसकेको उनको भनाइ छ । उनका अनुसार ६ बिगाहा जमिनमा तरबुजाखेती गर्दा करिब १५ लाख रुपैयाँ लागत लागेको छ । तर विक्री भने जम्मा २ लाखको मात्र भएको छ । 

बेमौसममा उत्पादन भए पनि ठूला होटलमा सलाद र जुसको रुपमा तरबुजाको पनि प्रयोग हुने गर्छ । होटल सञ्चालन पनि सहज बन्न नसक्दा यसको बजार ठप्प भएको उनले बताए । ‘पहिले पहिले एकपटकमा तीन क्विन्टल तरबुजा लैजाने होटलले अहिले मुस्किलले ३० किलो लैजाने गरेका छन्,’ उनले भने । बारीमै कुहाउनुभन्दा लागत मूल्यमात्रै उठाउने सोचका साथ प्रतिकिलो २० रुपैयाँमा विक्री गर्दै छु । 

तरकारी तथा फलफूल व्यवसायी संघ चितवनका कार्यसमिति सदस्यसमेत रहेका अमृत फ्रुट सेन्टरका सञ्चालक रामप्रसाद घिमिरे होटल रेष्टुरेण्टले राम्रोसँग गति नलिँदा खरबुजाको विक्रीमा समेत ह्रास आएको बताउँछन् । ‘स्थानीय ग्राहकले मात्र खपत गरेर मात्र पुग्दैन,’ उनले भने, सबै क्षेत्रको आर्थिक गतिविधि र यातायातको पहुँच पनि पुग्नु पर्छ ।’ भारतीय उत्पादनलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई प्राथमिकता दिए पनि अपेक्षा अनुसार विक्री नहुुँदा किसानले घाटा बेहोर्नु परेको उनको भनाइ छ । उनका अनुसार बजारको ग्यारेण्टी र शीतभण्डारको अभाव हुँदा तरबुजा जस्ता फलफूल उत्पादन बारीमै खेर जाने गरेको उनले बताए । 

उनका अनुसार नेपाली उत्पादनले बजार नपाए पनि भारतीय तरबुजा भित्रिन छाडेको छैन । नेपाली उत्पादनको तुलनामा भारतीय उत्पादन सस्तो हुनुले पनि बजारमा प्रतिस्पर्धा गर्न नसकेको हो । सरकारले मल, बीउदेखि उत्पादनको हरेक क्षेत्रमा सहजीकरण सहुलियतको व्यवस्था गरिदिए भारतीय उत्पादनको भर पर्नु नपर्ने किसानको भनाइ छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)