पुरूषको तुलनामा महिला बढी शोषित र पीडित हुने त हामी सबैलाई थाहै छ । यद्यपि, कार्यकक्षमा नै करीब एक तिहाइ महिला पत्रकार शोषण र उत्पीडनको शिकार हुने गरेको एक अध्ययनले देखाएको छ । मिडिया क्षेत्रमा काम गर्ने महिलामाथि हुने हिंसासम्बन्धी पहिलो विश्वव्यापी अध्ययनले यस्तो देखाएको हो । अमेरिकाको वाशिङटन डीसीस्थित अन्तरराष्ट्रिय महिला मिडिया फाउण्डेशन (आईडब्ल्यूएमएफ) र लण्डनस्थित अन्तरराष्ट्रिय ‘न्यूज सेफ्टी इन्ष्टिच्युट’ले मिडिया क्षेत्रमा काम गर्ने करीब ८ सय २२ जना महिला पत्रकारबीच गरिएको उक्त संयुक्त सर्वेक्षणमा यस्तो पाइएको हो । यो सर्वेक्षण अष्ट्रिया सरकारको आर्थिक सहयोग र यूनेस्कोको सहकार्यमा गरिएको हो ।
मिडिया क्षेत्रका महिलामाथि हुने अधिकांश शोषण उनीहरुको कार्यालयका पुरूष सहकर्मी वा हाकीमबाट हुने गरेको आईडब्ल्यूएमएफद्वारा सार्वजनिक प्रतिवेदनमा भनिएको छ । ‘सर्वेक्षणमा सहभागी ८ सय २२ जना महिला पत्रकारमध्ये लगभग दुई तिहाइ वा ६४ दशमलव ४८ प्रतिशतले कार्यालयमा कुनै न कुनै रुपमा शोषित हुनु परेको अभिव्यक्ति दिएका छन्,’ आईडब्ल्यूएमएफका कार्यकारी निर्देशक एलिसा लिस मुनोजले भनेकी छन् । त्यस्तै, अधिकांश पीडित महिलाले आफूले भोगेको पीडाबारे कतै गुनासो नगर्ने पनि सर्वेक्षणमा पाइएको छ । यद्यपि, सर्वेक्षणमा सहभागीमध्ये अधिकांशले यस्तो उत्पीडनले मानसिक तनाव दिने र आफ्नो काममा पनि नराम्रो असर पुर्याउनेबारे आफूलाई राम्रोसँग थाहा भएको अभिव्यक्ति दिएको प्रतिवेदनमा भनिएको छ ।
सर्वेक्षणमा सहभागी महिला सञ्चारकर्मीमध्ये ८२ प्रतिशत संवाददाता, ४९ प्रतिशत समाचारपत्रका कर्मचारी र २४ प्रतिशत सञ्चारगृहका थिए । त्यस्तै, २१ प्रतिशत टेलिभिजनमा काम गर्ने र १६ प्रतिशत भने रेडियोमा काम गर्ने महिला रहेको प्रतिवेदनमा बताइएको छ । कुल सहभागीमध्ये करीब २९ प्रतिशत एशिया तथा प्रशान्त क्षेत्रका, २१ प्रतिशतभन्दा बढी उत्तर अमेरिकाका र १९ प्रतिशत भने यूरोपका महिला थिए । यसै क्रममा सहभागीमध्ये १३ प्रतिशत अफ्रिका, ११ प्रतिशत ल्याटिन अमेरिका र ५ प्रतिशत भने अरेबियन मुलुकका महिला पत्रकार रहेको प्रतिवेदनमा बताइएको छ ।