ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इञ्जिनियरिङ अध्ययनसँगै बट्टाईपालन

२०७७ मंसिर, ३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनका एक युवाले इञ्जिनियरिङ अध्ययनसँगै बट्टाईपालन सुरु गरेका छन् । भरतपुर महानगरपालिका वडा– २५ का सचिन सुनुवार गत वर्षदेखि व्यावसायिक रुपमा बट्टाई चरापालन सुरु गरेका हुन्  ।

भरतपुरको युटेक कलेजमा इञ्जिनियरिङ ब्याचलर सेकेन्ड सेमेस्टरमा अध्ययनरत सचिनको खोरमा हाल ३ सय ५० वटा बट्टाई चरा छन् ।

कुखुरापालनभन्दा पाल्न सजिलो र यसको अण्डा र माग बढी रहेकाले बट्टाईपालन सुरु गरेको उनी बताउँछन् । ‘कलेज जाँदा  आमाले हेरिदिनुहुन्छ’, उनले भने, ‘त्यसपछि मैल दानापानी, बिक्री व्यवस्थापन गर्छु ।’

अध्ययनसँगै फुर्सद समय त्यसै खेर फाल्नुभन्दा बट्टाईपालनबाट आम्दानी पनि गर्न सकिने हुँदा यो काम सुरु गरेको सुनुवार बताउँछन् ।

बजारमा यसको मासु र अण्डा माग बढी  रहेकाले व्यावसायिक रुपमा बट्टाईपालन गरेर आम्दानी लिइरहेको उनले जानकारी दिए । ‘देखे÷सुनेको र युट्युबमा हेरेको भरमा स्वदेशमै केही गरौं भनी बट्टाई पाल्न थालेको हुँ’, उनी भन्छन् । सचिनको खोरमा हाल ३ सय ५० वटा बट्टाई रहेका छन् ।

‘पाल्न पनि सजिलो छ, यसको अण्डा र मासु पौस्टिक छ’, उनले भने, ‘यसको माग पनि बढ्दै गएकाले राम्रै आम्दानी भइरहेको छ ।’

सानो क्षेत्रफलमा पनि गर्न सकिने, रोग प्रकोप त्यति देखा नपर्ने र तुलनात्मक रुपमा फाइदा बढी हुने भएकाले पढाइ अर्को विषय भए पनि बट्टाईपालन अगाडि बढाउने योजना रहेको उनी सुनाउँछन् । बजारको चिन्ता पनि नभएको र घरमै ग्राहक आउने हुँदा माग पु¥याउन नसकिएको उनले दाबी गरे ।

बट्टाईपालन आर्थिक तथा स्वास्थ्यका हिसाबले निकै उपयोगी मानिन्छ । यसमा रोगप्रतिरोधात्मक क्षमता धेरै हुने गर्छ ।  अन्य पक्षीपालनका लागि ७० प्रतिशत लगानी दानामा लागे पनि यसको दानाको लागत खर्च भने निकै कम रहेको उनले बताए ।

‘यसको मासु र अण्डामा क्याल्सियमको मात्रा प्रचुर हुने भएकाले मासु किन्ने बढिरहेका छन्’, उनले भने । बजारको माग र आवश्यकता हेरेर व्यवसाय बढाउने सोचमा रहेका उनले अहिले मासिक ६० हजार रुपैयाँ हाराहारी आम्दानी गर्छन्  ।

‘यो व्यवसायबाट  मासिक ६० हजार आम्दानी हुने गरेको छ’, उनले भने, ‘अब यसलाई थप विस्तार गर्दै छु । साथै,  थप २ सय वटा लोकल कुखुरा, ५० वटा टर्की र ३० वटा लौकाटपालन गरिरहेको छु’, उनले भने ।

२५ देखि ३५ डिग्री सेल्सियसबीचको तापक्रममा बाँच्ने बट्टाई पाँच सातामा मासु खानयोग्य हुन्छ भने चार साताबाट अण्डा पार्न थाल्छ । दुई वर्षसम्म बाँच्ने बट्टाईले एक वर्षमा करिब तीन सयसम्म अण्डा दिन्छ ।

भालेलाई पाँच सातादेखि नै मासुका रुपमा प्रयोग गरिए पनि पोथीलाई भने अण्डाका लागि ५–६ महिनासम्म पाल्ने गरिन्छ । यो २८ दिनदेखि बेच्न योग्य हुने र औसत तौल २ सय ५० ग्रामदेखि ३ सय ग्रामसम्मको हुन्छ । बट्टाईले एक महिना पुगेपछि नै अण्डा दिन थाल्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)