ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय गाली प्रतियोगिता

२०७७ मंसिर, १२  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

देशमा भयंकर लोकतान्त्रिक व्यवस्था छ । यो व्यवस्था बचाउन भनेरै त हात–खुट्टा फालेर र मुखै छाडेर लागेका छन् नेताहरू । त्यसैले लोकतन्त्रले दिएको वाक्स्वतन्त्रता पूर्णरूपमा उपयोग गरिरहेका छन् । देशमा विभिन्न राजनीतिक, आर्थिक, सामाजिक दल र समूहहरू छन् । सत्तापक्ष र सत्तापक्षभित्रको विपक्ष छ । प्रतिपक्ष छ र प्रतिपक्षभित्रको पनि विपक्ष छँदै छ । उनीहरूबीच विभिन्न बैठक, छलफल, वार्ता आदि पनि चली नै रहेका छन् ।

यस क्रममा हरेक ठाउँमा आदर्श आचार संहिताको पनि पालना भई नै रहेको छ । खासगरी राजनीतिक नेताहरूले त एक अर्कालाई गाली–गलौज गरेर खुलेआम आचार संहिताको पालना गरिरहेका छन् । गालीबाट बैठक शुरू गरेर गालीमै सम्पन्न पनि हुने गरेको छ ।

सभा–समारोहहरूमा गालीको मात्रा अनुसार तालीको गड्गडाहट हुन्छ । विनागाली त ताली बज्दैन नि हाम्रो नेपालमा । त्यसैले अर्कालाई गालीको हिलो छ्याप्न सक्ने, अर्कालाई नीचा देखाएर बोल्न सक्ने नेताहरूलाई सम्मानित गर्न ढिला भइसकेको छ ।

प्रत्येक ठूला नेताले अर्को नेतालाई वा अर्को दललाई धोखेबाज, मूर्ख, गधा आदि भनेर सम्मान प्रकट गर्दछन् । प्रत्येक नेता वा तिनका चम्चा आ–आफ्नै ढंगले मौलिक पाराले गालीका गोली बनाएर झोलामै बोकेर हिँड्ने गर्दछन् । शब्दकोश पनि बोकेर हिँड्छन् कि जस्तो छ । किनकि बेलाबेलामा गालीका नयाँ नयाँ गोली फुत्त फुत्त निकालिरहन्छन् । अनि मौका पर्नासाथ स्वाट्ट ठोक्दिहाल्छन् र गालीको राष्ट्रिय कार्यक्रम विधिवत् रूपमा सञ्चालन गर्दछन् ।

कतिखेर कुन नेताले वा चम्चाले कसलाई गालीको गोली हान्छन्, कसैलाई थाहा पत्तो हुन्न । त्यसैले सबै प्रकारका दल र तिनका रंगी–बिरंगी नेताहरूका लागि सबै किसिमका माहौलमा विविध प्रकारका गालीहरूको आवश्यकता हुन्छ । चाहे कुनै दलको मिटिङ होस्, संसद्मा होस् वा चुनावी सभा, यी सबैमा प्रत्येक माइकको आवाजमा पनि गालीविना स्पष्टता आउन सक्तैन ।

गाली पनि एक कला हो । गालीको ओज अनुसार नै यसले नेता र दलको महत्ता प्रदान गर्दछ । अर्थात् जति धेरै गाली गर्न सक्ने हुन्छ, ऊ उति नै ठूलो नेतामा दरिन्छ । जति बढी गाली गर्‍यो, चुनावमा भोट पनि त्यति नै बढी आउँछ । भनिन्छ, गाली विशारद भएकै कारण कसै कसैले प्रधानमन्त्री पदसम्म पड्काएका छन् ।

सभा–समारोहहरूमा गालीको मात्रा अनुसार तालीको गड्गडाहट हुन्छ । विनागाली त ताली बज्दैन नि हाम्रो नेपालमा । त्यसैले अर्कालाई गालीको हिलो छ्याप्न सक्ने, अर्कालाई नीचा देखाएर बोल्न सक्ने नेताहरूलाई सम्मानित गर्न ढिला भइसकेको छ ।

भलै सौभाग्यको कुरा यो छ कि हाम्रो राष्ट्र अब गालीका गोली निर्यात गर्न सक्ने हैसियतमा पुगिसकेको छ । त्यही आयात गर्न भनेर कुरा मिलाउन अहिले विश्वका ठूला जनसंख्या भएका दुई देश भारत र चीनका मन्त्री, सचिव लगायत ठूला अधिकारीहरूको नेपाल भ्रमण बाक्लिँदो छ । ट्रम्पले पनि सुटुक्क नेपाल आएर यसको तालीम लिएर गएको जस्तो छ ।

गाली निर्यात सँगसँगै अब राष्ट्रिय गाली प्रतियोगिता चाँडै नै शुरू गरिहाल्नुपर्ने परिस्थिति पनि बनिसकेको छ । देशका कतिपय प्रदेशहरू यस्तो प्रतियोगिता गर्न पहिलेदेखि नै आत्मनिर्भर भइसकेका छन् । उनीहरूले विभिन्न प्रकारका कुर्सीफोड ¥याली र प्रदेशस्तरीय अन्तरपार्टी गाली–गलौज प्रतियोगिता पनि सुसम्पन्न गरिसकेका छन् । अब सबैभन्दा पहिलो ‘आक–थु र्‍याली’ र ‘घम्साघम्सी प्रदर्शन’को आयोजना गरेर प्रतियोगिता शुरुआत गर्नु उचित देखिन्छ ।

त्यसपछि धिक्कार र्‍याली, पर्दाफास र्‍याली, छुमन्तर र्‍याली आदि शुरू गर्नु उत्तम हुनेछ । आँखा खोल र्‍याली, थुक्क थुक्क र्‍याली, गधा–कुकुर दौड प्रतियोगिता, तँ तँ म म प्रतियोगिता, धक्का–मुक्का प्रतियोगिता, आरोप–प्रत्यारोप प्रतियोगिता भने दोस्रो चरणमा शुरू गर्न सकिन्छ ।

जसरी ससुरालीमा सालीको धेरै महत्त्व हुन्छ, राजनीतिमा गाली,र्‍याली र तालीको त्यत्तिकै महत्त्व हुन्छ । त्यसैले कुनै पनि दलको बैठकमा गालीमय ताली र भोटर फसाउनलाई जालीको पनि त्यत्तिकै महत्त्व हुन्छ । अझ राजनीतिमा चक्किनलाई त गालीपूर्ण भाषणले महत्त्वपूर्ण भूमिका खेल्छ । तर राजनीतिमा चम्किने नाममा बम्किने मात्र गर्दा भने सन्तुलन बिग्रेर बास्कोटा जस्तै राजनीतिक खेलको रिङ बाहिर हुत्तिन पनि सक्छ ।

अहिले राजनीतिलाई अझ रमाइलो र रसपूर्ण बनाउन एउटा बृहत् राष्ट्रिय गाली शब्दकोष बनाउन पनि टड्कारो आवश्यक भइसकेको छ । सो प्रकाशित गरेर एक एक कपी प्रत्येक छोटे–बडे नेताका हातमा थमाउन सके देशमा गाली संस्कृतिको राम्रो विकास हुनेछ । अनि सबै दलहरूलाई राष्ट्रिय गाली संहिताको आचरण अनुकूल गालीहरू समर्पित गर्ने बानी पर्दै जानेछ ।

गाली संस्कृतिको विकासका लागि कतिपय नेपाली गाली शिरोमणि लेखक, साहित्यकारले पनि ठूलै योगदान गरिरहेका छन् । पछिल्ला केही वर्षयता भने गाली संस्कृतिलाई थप उचाइमा पुर्‍याउन नेपाली उद्यमी व्यवसायीहरू पनि लागेका छन् । उनीहरूले अब त प्रविधिको प्रयोग गरेरै, सामाजिक सञ्जाल र केही मिडिया समेत प्रयोग गरेर गालीको विकासमा थप इँटाहरू बर्साउने काम गरिरहेका छन् । पछिल्लो उदाहरण नेउवा महासंघको चुनाव अगाडि अहिले हामी सबैले देखिरहेकै छौं ।

यस परिप्रेक्ष्यमा नेपालमा विधिवत् रूपमै राष्ट्रिय गाली–गलौज प्रतियोगिता शुरू गर्न ढिला भएर र भन्या ? विश्वमै अनौठो प्रतियोगिता आयोजना गरेर गिनिज बुकमा नेपालको नाम लेखाइहाल्ने पो होे कि !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)