दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका पशुपालक किसानहरूले पशुको कृत्रिम गर्भाधान सेवा घरदैलोमै उपलब्ध गराउन माग गरेका छन् । कृत्रिम गर्भाधानका लागि जिल्लामा रहेको पशु अस्पताल अथवा नगरपालिकाको पशु शाखामा बस्तुभाउ पु¥याउन कठिन हुने भएको भन्दै उनीहरूले घरदैलो सेवाको माग गरेका हुन् ।
गर्भाधानको समय भएका पशुलाई नियन्त्रण गरी पशु अस्पताल वा नगर पशु शाखामा पुर्याउन कठिन भएपछि महँगो शुल्क तिरी घरदैलोमा प्राविधिक बोलाएर कृत्रिम गर्भाधान गराउनु परेको भीमेश्वर नगरपालिका वडा नम्बर–८ आहालडाँडाका पशुपालक किसान कृष्ण श्रेष्ठले गुनासो गरे ।
भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र चरीकोटका प्राविधिकहरूले कार्यालय समयबाहेक अन्य बेला दूरी हेरेर घरदैलोमा पशु उपचार गर्न १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म कृत्रिम गर्भाधान सेवाशुल्क लिने गरेको स्थानीय पशुपालक बताउँछन् ।
नगरपालिकाले निःशुल्क कृत्रिम गर्भाधान गरिदिने भने पनि पशुलाई नगर पशु शाखासम्म पु¥याउन कठिन भएका कारण घरमै प्राविधिक बोलाएर पशुको कृत्रिम गर्भाधान गराउनु परेको भीमेश्वर नगरपालिका वडा नम्बर ६ की रमा न्यौपानेले बताइन् ।
स्थानीय तहले पशु प्राविधिकको दरबन्दी बढाएर भए पनि घरदैलोमै निःशुल्क कृत्रिम गर्भाधान सेवा नदिए किसानहरू महँगो शुल्क तिर्न बाध्य भइरहने भीमेश्वर नगरपालिका वडा नम्बर ४ का पशुपालक व्यवसायी रामहरि सुवेदीले बताए ।
कृत्रिम गर्भाधानका लागि ल्याइएका पशुलाई सिमेनको २५ र टिकटको दस रुपैयाँबाहेक कुनै शुल्क नलिइने दाबी भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र चरीकोटका निमित्त प्रमुख पलट चौधरीको भनाइ छ । उनले भने, ‘तर, कार्यालय समयबाहेक किसान र प्राविधिकको आपसी सहमतिमा लिइने शुल्कबारे कार्यालयलाई जानकारी हुँदैन ।’
नगरको पशु सेवा शाखाले सिमेनको २५ रुपैयाँ लिएर कार्यालय समय निःशुल्क कृत्रिम गर्भाधान सेवा दिँदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले दाबी गरे । हाल नगरमा ३ जना प्रशु प्राविधिक रहेकोमा एक जनालाई ३ वटा वडाको जिम्मेवारी दिइएको छ ।