ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा तोरी उत्पादन बढ्दै

२०७७ मंसिर, १७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । करीब २ दशक अघिसम्म तोरीको जिल्लाको रूपमा परिचित चितवनमा पछिल्लो समय तोरी उत्पादन बढ्दै गएको छ । केही वर्षदेखि तोरीखेतीको क्षेत्रफलसँगै उत्पादनमा समेत वृद्धि हुँदै गएको कृषि ज्ञानकेन्द्रले बताएको छ । पूर्वी चितवनका  अधिकांश किसानले यस वर्ष तरकारीको सट्टा तोरी लगाएकाले उत्पादन बढेको हो ।

ज्ञान केन्द्रका अनुसार गतवर्ष १२ हजार २५४ हेक्टर क्षेत्रफलमा तोरी लगाइएको थियो । हाल यो क्षेत्रफल बढेर १४ हजार ५०० हेक्टर भएको अनुमान छ ।

पछिल्लो वर्षहरूमा तोरीको तेलको माग बढ्दै गएको र तुलनात्मक रूपमा यस बालीमा खर्च कम र आम्दानी बढी हुने भएकाले किसानहरूको तोरी खेतीमा आकर्षण छ । पूर्वी चितवनका खैरहनी, कालिका, रत्ननगर नगरपालिका र पश्चिम चितवनका शिवनगर, पार्वतीपुर शुक्रनगर मेघौली लगायत क्षेत्रमा तोरीखेती गर्ने किसानको संख्या बढेको छ ।
अधिकांश किसानहरूले धान थन्क्याएपछि तोरी लगाउने गरेका छन् । खैरहनी नगरपालिका–६ का कुमरोजका किसान तेजप्रसाद बड्तौला चितवनमा तोरीको उत्पादन राम्रो हुने भएकाले आफूले तोरीखेतीलाई निरन्तरता दिँदै आएको बताउँछन् । ‘मैले हरेक वर्ष तोरीखेती गर्दै आएको छु,’ उनले भने, ‘यस वर्ष मौसम अनुकूल भएकाले उत्पादन बढ्ने देखिएको छ ।’ उनका अनुसार तोरीखेतीमा खर्च तथा रोग कम देखिने र फाइदा बढी हुने भएकाले किसानको आकर्षण बढेको छ ।

चितवनमा कात्तिकमा तोरीखेती लगाएर फागुनमा थन्क्याइने गरेको छ । विगतमा तोरीमात्र लगाउने जग्गामा पानीको सहजतासँगै धानखेतीपछि सोही जग्गामा तोरीखेती पनि लगाइने गरेको हो ।

रत्ननगर नगरपालिका–६ का किसान गोपी लम्सालले पानी नपरे उत्पादन बढ्ने बताए । ‘अहिले तोरी पहेँलपुर भएर फुलेको छ,’ उनले भने, ‘यो महीना मात्र बादल लागेन भने पोहोरको भन्दा बढ्छ ।’ उनले वर्षेनि डेढ बिगाहामा तोरीखेती गर्दै आएका छन् । गतवर्ष १५ क्वीन्टल तोरी उत्पादन भएको र यो वर्ष १८ क्वीन्टल तोरी उत्पादन हुने अपेक्षा रहेको उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एवं बाली विकास अधिकृत माधव पौडेलले पछिल्लो समय तोरीखेतीमा चितवनका कृषकको आकर्षण बढ्दै गएको बताए । ‘मौसम यस्तै अनुकुल भए यस वर्ष तोरी उत्पादन बढ्छ,’ उनले भने ।

ज्ञानकेन्द्रका प्रमुख राजन ढकाल क्षेत्रफल विस्तारसँगै यस वर्ष तोरी उत्पादन बढ्ने बताए । उनका अनुसार पूर्वी चितवनका करीब ३० प्रतिशत किसानले तरकारीको सट्टा तोरी लगाएका छन् ।’ बाँझो रहेका ठाउँमा अन्य किसानले पनि यसपटक तोरीखेती गरेकोले उत्पादन बढ्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)