ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लोकतन्त्रको बलियो आधार भ्रष्टाचार

२०७७ मंसिर, १९  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

दुनियाँभरिको भ्रष्टाचारीमाथि आँखा लगाएर बस्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार भ्रष्टाचारमा नेपालको स्थान प्रत्येक वर्ष बढ्दै गइरहेको छ । यसको मतलब अब देशमा भ्रष्टाचार भन्ने रोगबाट कोही अछुतो नरहने भए । भ्रष्टाचारको रकम पनि हजारबाट लाख, लाखबाट करोड र अहिले अर्बौं पुगिसक्यो । यसलाई यसरी पनि बुझौं कि भ्रष्टाचार बढ्यो भन्नुको मतलब हाम्रो विकासको गति पनि आकाशिँदै छ ।

तर, प्रश्न यो छ कि के भएर भ्रष्टाचार हुने हो ? शहर गाउँका सडकमा धूलो उड्यो भने भ्रष्टाचार हुने हो ? मेलम्ची नआएर भ्रष्टाचार भएको हो कि, सरकारले सवारीमा २०० प्रतिशत कर लिएकाले भ्रष्टाचार भयो भनिएको हो ?

वास्तवमा भ्रष्टाचार त लक्ष्मीको वाहन हो । त्यही चढेर त लक्ष्मी घरघर आउँछिन्, आइरहेकी छिन् । यसैको सहारामा त पखेटाविहीन देशको लोकतन्त्र आकाशमा उडिरहेको छ ।

सडकमा फोहोर नउठेर भ्रष्टाचार भएको पो हो कि ? किसानले मल नपाएकाले भ्रष्टाचार भएको हो ? तरकारी आयात गरेर खाएकोले भ्रष्टाचार भएको हो कि महँगी बढेकाले ?

यो पंक्तिकारको विचारमा यी सब बेकारका कुरा हुन् । यो त सरकारलाई बदनाम गर्ने कुरा मात्र हुन् । र मानिसले कुरै नबुझी गरेका कुरा हुन् । त्यसैले त यो ट्रान्सपरेन्सी हो कि भ्रमपरेन्सी हो, त्यसको प्रतिवेदन नै सरकारले खारेज गर्दियो । लौजा !

केही उपबुज्रुकहरू कुरै नबुझी भन्छन् कि देशको आर्थिक स्थिति सुधार्ने हो भने भ्रष्टाचारमा अंकुश लगाउनुपर्छ रे । भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ रे । साक्षरता बढाउनुपर्छ रे । यो त सीधै हाम्रो देशको लोकतन्त्र सिध्याउने कुरा हो । यो झेल हो । यो पक्कै कुनै विदेशी शक्तिको खेल हो ।

वास्तवमा भ्रष्टाचार त लक्ष्मीको वाहन हो । त्यही चढेर त लक्ष्मी घरघर आउँछिन्, आइरहेकी छिन् । यसैको सहारामा त पखेटाविहीन देशको लोकतन्त्र आकाशमा उडिरहेको छ । भ्रष्टाचार समाप्त गर्ने सुझाव दिनेहरू किन यो बिचरा लोकतन्त्रलाई धराशयी पार्न लागिपरेका होलान् कुन्नि ?

यो नसोध्नुहोस् कि भ्रष्टाचारको लोकतन्त्रसँग के सम्बन्ध छ र भनेर ? छ नि, गहिरो सम्बन्ध छ । भ्रष्टाचार समाप्त भयो भने चुनावका लागि पैसा कहाँबाट आउँछ ? सुको पैसा भएन भने चुनाव कसरी लडिन्छ ? जब चुनाव गराउनकै लागि खल्ती खाली हुन्छ अनि लोकतन्त्र जीवित चैं रहन्छ कसरी ?

भ्रष्टाचारमाथि अंकुश लगाएपछि देशको आर्थिक स्थिति स्वाट्टै खस्किन्न र ? खस्किहाल्छ नि । अनि आफै टाट पल्टेका टकनटाट नेताहरूले देश र जनताका बारेमा कसरी सोच्न पाउँछन् ? जनताले त ल जसोतसो गरीबी झेल्लान् । तर तिनका नेता सुकुमबासी नै रहिरहे भने उनीहरू त्यो कसरी सहन सक्छन् र ? वास्तवमा नेताहरूको सुखमै त जनताको पनि भविष्य सुखी रहन्छ । नेता सुखी भए पो देश पनि समृद्ध हुन्छ त !

ल एक छिनलाई नेताहरूलाई भाडमै जान दिम् । तर सोचौं कि भ्रष्टाचार भएन भने सरकारी हाकिमहरूको के हालत हुन्छ होला ? किनकि देशको गाडा त यिनीहरूले नै हाँकिरहेका छन् । अनि गाडी गाडा चलाउनेहरूका पेटमा नै मुसाहरूले कीर्तन गर्न थाले भने सरकारको गाडी हाँक्ने कष्ट चैं कसले उठाउँछ फेरि ? एकछिन सोच्नुस् त !  गाडावाला चैं भोको रह्यो भने र गोरु नै बाटोमा बस्यो भने लोकतन्त्रको गाडा कसको सहारामा हिँड्ला ?

मानिसहरू नेताहरूलाई भ्रष्टाचार गरेको त्यसै आरोप लगाउँछन् । त्यो पैसा त चुनावमा जनतालाई बाँड्ने गरकै छ नि ! जनतालाई पैसा घुमाएर बाँड्नुभन्दा चुनावको मौकामा सीधै बाँडेको त हो नी । संसारमा यस्तो राजनीति कतै देख्नुभएको छ ? त्यही भएर त विश्वमा हराउँदै गएको समाजवाद र साम्यवाद सबै नेपालमा जोगिएको छ ।

ए हजुर, भ्रष्टाचार त हात्ती हो हात्ती । राष्ट्र बैंकले निकाल्ने नोटमा भएको हात्ती । उसैको खुट्टामुनि त सबैका खुट्टी छन् । उसकै खुट्टामै यो देशको सम्पूर्ण अर्थतन्त्र अडेको छ । यो त त्यो हात्ती हो, जसमाथि बसेर नै यो देशका नेता तीर्थयात्रामा निस्कन्छन् र फर्कन्छन् पनि उसकै पिठ्युँमा बसेर । त्यसैले देशका कर्णधारहरूलाई पैदल नहिँडाऔं ।

लोकतन्त्रलाई जीवितै राखिरहने हो भने भ्रष्टाचारको यो हात्तीलाई बरु निरंकुश नै रहन दिऊँ । दुई चार कुकुर भुक्दै गर्छन्, त्यसले हात्तीलाई के नै फरक पार्छ र ?

हेर्नुस्, सरस्वती र लक्ष्मीबीच जन्मौंजन्मदेखि नै वैरता छ । जहाँ सरस्वती हुन्छिन्, त्यहाँ लक्ष्मी गायव हुन्छिन् । तर देशको आर्थिक स्थिति सुधार्नका लागि सरस्वती होइन, लक्ष्मीकै आवश्यकता हुन्छ । त्यसैले त महीनौं पठनपाठन बन्द भए पनि त्यसलाई अघि बढाउन सरकारले चासो नदिएको !

सरस्वती नभएपछि लक्ष्मी त आफै आइहाल्छिन् नि । जसै अफिस अफिसमा हरियो नोटको गर्मी बढ्न थाल्छ, तसै तसै कामको गति पनि तेज कुद्न थाल्दछ । नोटका गर्मीको प्रकोपबाट मै हुँ भन्नेहरूको पनि इमान जमान पग्लिन थाल्छ र आर्थिक प्रगति माथि माथि उक्लिन थाल्छ । त्यसैले सबैलाई साक्षर बनाउने वा चेतनशील बनाउने कुरा नै पूर्णरूपमा राष्ट्रविरोधी हो, समृद्धिको शत्रु हो  ।

लक्ष्मीलाई पाउने हो भने उनको वाहनलाई पनि हेरचाह गर्नैपर्छ । लक्ष्मीको वाहन को हो, सबै नेपालीलाई थाहै छ । यो देशमा सबै पढे लेखेर जान्ने बुझ्ने विद्वान् भए, धनी भए भने घरघर माथि छाना कसले उठाउँछ ? निरक्षरहरूले नै त लोकतन्त्रको छानालाई थामिरहेका छन् ।

त्यसैले, देशका हे बुद्धिजीवीहरू ! हे अर्थशास्त्रीहरू हो ! ल है, अहिले भ्रष्टाचार र भ्रष्टाचारीका विषयमा चिन्ता गर्ने समय हैन, अहिले त जसरी भए’नि देशको लोकतन्त्र चैं जीवित राख्नैपर्छ है ! त्यसैले भ्रष्टाचार फाल्ने होइन, यसलाई पाल्नैपर्छ । भ्रष्टाचार जोगाएरै लोकतन्त्रलाई बलियो बनाउनेतिरको महान् यात्रामा सबै दल अझै जुट्नुपर्छ है !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)