ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा नयाँ निर्देशिकाअनुसार मल वितरण सुरु

२०७७ मंसिर, २३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । जिल्लामा रहेका कृषि सामाग्री लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले मलखाद बिक्री निर्देशिका, २०७७ अनुसार युरिया, डीएपी तथा पोटास मल बिक्री वितरण सुरु गरेका छन् ।

विगतका वर्षमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मल बिक्री वितरण गर्दै आए पनि सरकारको नयाँ निर्देशिकाअनुसार स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा मल बिक्री वितरण गरिएको हो । स्थानीय तहका वडाहरूमा भएका सहकारीबाट वितरण गर्दा मलको सही सदुपयोग र व्यवस्थापन प्रभावकारी भएको सरोकारवाला निकायले बताएका छन् । हाल जिल्लामा किसानले धान थन्क्याएपछि गहुंँ, फापर र मकै खेती सुरु गरेका छन् । कृषि सामग्री केन्द्र चितवनका प्रमुख रवीन्द्र गौतमले स्थानीय तहबाट मल बिक्री वितरण गरिँदा प्रभावकारी भएको बताए । किसानले तोकिएको आफ्नो वडाबाहेक अन्य वडाबाट मल लिन पाउने छैनन  ।

‘नयाँँ प्रावधानअनुसार मल वितरण गर्दा तथ्यांक पनि स्पष्ट हुन्छ’, उनले भने, वडाको माग र आवश्यकतासमेत जानकारीमा हुन्छ ।’ नयाँ प्रावधानअनुसार मल खरिद गर्दा जिल्लाका सहकारीहरूले साल्ट टे«डिङ र कृषि सामग्रीमा गएर आवश्यक कागजातसहित दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ ।

जिल्लामा यसअघि १ सय ५० वटा सहकारी दर्ता भए पनि चालू आर्थिक वर्षबाट कार्यालयमा ७५ वटाले पुनः दर्ता स्वीकृति पाएको र कृषि सामग्रीमा मात्र  ६२ वटा सहकारीले मल वितरण सुरु गरेका हुन् । गौतमका अनुसार हाल ती सहकारीलाई ३ मेट्रिक टनको अनुपातमा युरिया, डीएपी मल बिक्री वितरण गरिनेछ । ‘पहिलो लटमा हामीले सिफारिस भएका सहकारीलाई युरिया वितरण गरिरहेका छौं’, उनले भने, बाँकी सहकारीलाई एक साताभित्र मल आपूर्ति गर्छौं ।’ साउनबाट जिल्लामा मल आउन सकेको थिएन । कृषि सामग्रीमा अन्य मल भए पनि युरिया नहुँदा आफूसँग रहेको केही मौज्दात भएको मल बिक्री भइरहेको साल्ट ट्रेडिङ चितवनले जानकारी दिएको छ । बर्खामा भन्दा हिउँदमा मल आपूर्ति केही सहज भए पनि नयाँ प्रावधानअनुसार बिक्री गरिँदा प्रभावकारी देखिएको कम्पनीका चितवन प्रमुख बुद्धिविनोद दाहालले बताए । ‘नयाँ प्रावधानअनुसार ३७ वटा सहकारीलाई मल वितरणका लागि दर्ता गरेका छौं’, उनले भने, ‘सोमबारबाट ४० बोराका दरले मल वितरण गर्दै छौं । अब पहिलेजस्तो अभाव पनि हुँदैन ।’

नयाँ प्रावधानअनुसार स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा तीन सदस्य स्थानीय मल वितरण व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत र सदस्य सचिवमा पालिकाको कृषि शाखा प्रमुख रहने व्यवस्था छ । रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दुवाडीले नयाँ प्रावधानअनुसार हरेक वडामा मल वितरण भइरहेको जानकारी दिइन् । ‘हामीले आवश्यकता र क्षमताको आधारमा सहकारीलाई सिफारिस गरेका छौं । अनुगमन र नियमन पनि गरेका छौं । कृषक पनि सन्तुष्ट छन्,’ दुवाडीले भनिन् । हाल किसानलाई व्यक्तिको आधारमा मल वितरण गर्दै आए पनि आगामी दिनमा खेतीको क्षेत्रफल र आवश्यकताको आधारमा मल वितरण गरिने दुवाडीले बताइन् । तोकिएको वडाका बासिन्दाले सोही वडामा मल लिनुपर्ने र एक वडाको सहकारीले अर्को वडामा बिक्री गर्न नपाउने वितरण प्रणाली चुस्त भए पनि सहकारी र बसोबासबाहेकको वडामा जग्गा भएका किसानलाई भने अप्ठेरो परेको छ । ‘मल वितरण प्रणाली सन्तुलन र प्रभावकारी त भयो तर अर्को वडाका शेयर सदस्य र यहाँ जग्गा भएका किसानलाई भने मर्का पर्छ,’ भरतपुर महानगरपालिका वडा नम्बर ६ मा रहेको सर्वोदय बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रेमराज कोइरालाले भने । हालका लागि झन्झट भए पनि दीर्घकालीन रूपमा वास्तविक किसानले मल अभाव खेप्नु नपर्ने उनको बुझाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)