ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनका पर्यटन व्यवसायीको चिन्ता : ‘सेल्फी’ पर्यटक आए, गुणस्तरीय आएनन् 

२०७७ मंसिर, २४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

मंसिर २४, चितवन । सिजन शुरु भएको ४ महिना बितिसक्दा पनि गुणस्तरीय र खर्च गर्ने पर्यटक नआएपछि चितवनका पर्यटक चिन्तित भएका छन् । कोभिडका कारण बाह्य पर्यटक आउन नसक्दा र गुणस्तरीय आन्तरिक पर्यटक आउन नसक्दा उनीहरू चिन्तित बनेका हुन् । 

चितवन पर्यटनको लागि यो राम्रो समय हो । अहिले यहांँ त्यति जाडो पनि छैन, गर्मी पनि छैन । विगतका वर्षहरूमा यहांँका पर्यटकीय गन्तव्य सौराहा, पटिहानी, मेघौली तथा चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको बाक्लै उपस्थिति देखिन्थ्यो । तर, अहिले दिनको समयमा घुम्ने र सेल्फी खिचेर फर्केने पर्यटक मात्र आउने गरेका देखिन्छन्  ।

चितवनका पर्यटकीय गन्तव्यमध्ये पटिहानी पर्यटकीय क्षेत्र पनि हो । यहांँ विदेशको पर्यटन अभ्यासअनुसार अम्ब्रेला स्ट्रीटको निर्माण गरिएको छ । लामो समयसम्म कोभिडका कारण यो बन्द भए पनि गत महिनाको दोस्रो सातादेखि खुल्ला गरिएको छ । पटिहानीमा झण्डै साना ठूला गरी एक दर्जन होटल तथा रेष्टुरेण्ट सञ्चालनमा छन् । यहाँ दैनिक करिब ४ हजार पर्यटन घुम्न आए पनि खर्च गर्ने र गुणस्तरीय पर्यटक नआएको व्यवसायीको गुनासो छ । 

सोही ठाउंँका राइनो जंगल क्याम्पका प्रबन्ध निर्देशक साजन महतो अम्ब्रेला स्ट्रीट नजिकै भए पनि यसले व्यवसायमा त्यति प्रभाव नपारेको बताउंँछन् ।  ‘दैनिकजसो यहाँ भिड त हुन्छ,’ उनले भने, ‘तर होटलमा खाने र बस्ने मान्छे नै छैनन् ।’ यहाँ आएर सेल्फी खिचेर, घुमेर नारायणगढ गएर खाने पर्यटक आउने गरेको महतोको भनाइ छ । 

आर्थिक गतिविधि चलायमान नहुंँदा विगतका वर्षमा जस्तो आन्तरिक पर्यटक आउन सकेका छैनन् । आवासको लागि आउने  पर्यटक पनि कम छन् । भिआइपी पर्यटकहरू कम हुंँदा आम्दानीमै फरक परेको व्यवसायीको भनाइ छ । मेघौली होटल बाराहीका प्रबन्धक चन्द्र महतो गत वर्षहरूमा यस सिजनमा सबै कोठा भरिए पनि अहिले तीनवटा कोठाबाहेक अन्य कोठा खाली भएको बताउंँछन् । 
‘हाम्रोमा ३५ वटा रुम छन् तर अहिले गेष्ट नै छैनन् ।’ उनले भने । दिउसो घुम्ने, खाजा खाने र फोटो खिच्ने पाहुना मात्र आउंँदा चालु खर्च नै व्यवस्थापन गर्न धौधौ परेको उनले जानकारी दिए । 

चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा पनि गुणस्तरीय पर्यटक आउन सकेका छैनन् । दिउँसोको समयमा जिल्ला र छिमेकी जिल्लाका आन्तरिक पर्यटक आए पनि सांँझ परेपछि भने सुनसान हुने गरेको छ । ‘दशैंपछि पर्यटक बढ्ला भन्दा भन्दै अहिलेसम्म पनि राम्रा पर्यटक आएका छैनन्,’ क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले भने, ‘उही दिउँसो बाइक र गाडीमा आउंँछन् । नदी किनारतिर फोटो खिच्छन्, जान्छन् ।’

कोभिडको प्रभाव कम भएसंँगै आन्तरिक नै भएपनि उल्लेखनीय पर्यटक आउने आशा थियो तर बसाइका लागि पर्यटक नभएको भट्टराईको भनाइ छ । 
सौराहामा विगतका वर्षहरुमा राम्रै पर्यटक आउने गरे पनि पछिल्लो समय गुणस्तरीय र खर्च गर्ने पर्यटक आउन छाडेका छन् । सौराहाको पहिचान र संस्कृति हराउंँदै गएको र ठमेलको जस्तो भीडभाड हुने गरेको छ । यहांँ पर्यटकले चाहेजस्तो खान, बस्न रमाउने जस्ता मनोरञ्जनात्मक गतिविधिमा नयांँपन छैन । 

पर्यटन विज्ञ डाक्टर विश्वराज सुवेदी चितवनका पर्यटन व्यवसायीले नयांँ कार्यक्रम ल्याउन नसकेको र यहांँको हस्पिटालिटी कमजोर हुंँदा एकपटक आएका पर्यटक पुनः आउन नसकेको बताउंँछन् । ‘यहांँ पर्यटकलाई होल्ड गर्ने कुनै नयांँ प्रडक्ट नै छैन,’ उनले भने, ‘प्रमुख पर्यटकीय गन्तव्य सौराहा पनि कंक्रीटको जंगलजस्तो भइसक्यो ।’ 

अधिकांश आन्तरिक पर्यटकमा यहाँका होटल तथा रेष्टुरेण्टमा मूल्य बढी हुन्छ भन्ने सोच भएका कारण पनि त्यस क्षेत्र घुमेर खान चाहिंँ बजार क्षेत्रमै जाने गरेको उनले बताए । सामाजिक सञ्जालबाट विभिन्न पर्यटकीय क्षेत्रहरूको निःशुल्क प्रचारप्रसार अवलोकनकर्ताले गरेपनि व्यवसायीले यसलाई अवसरका रूपमा लिन नसक्दा व्यवसायीको आम्दानीमा सुधार हुन नसकेको सुवेदीको भनाइ छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)