ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनले रोकिएको तीन जिल्लाको औद्योगिक गणना पुनः शुरू

२०७७ मंसिर, २४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

मंसिर २४, चितवन । लकडाउनका कारण रोकिएको चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीको औद्योगिक गणना पुनः शुरू गरिएको छ । केन्द्रीय तथ्यांक विभाग अन्तर्गत रहेको जिल्ला तथ्यांक कार्यालय भरतपुरद्धारा मंसिर ११ गतेदेखि तथ्यांक संकलन शुरू गरिएको कार्यालयले जानकारी दिएको छ । 

कार्यालयले तीन जिल्लामध्ये चितवनका ५१७, पूर्वी नवलपरासीका २४८ र पश्चिम नवलपरासीका १९८ औद्योगिक प्रतिष्ठानको गणना तथा सर्वेक्षण गर्नुपर्नेमा लकडाउनअघि २१८ ओटा प्रतिष्ठानको गणना सकिएको र हाल बांँकी ७४५ प्रतिष्ठानको गणना गरिरहेको छ । 

तथ्यांक कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीले १० महीनादेखि कोरोना महामारीका कारण जारी गरिएको लकडाउनले स्थगित रहेको सर्वेक्षण कार्य सुरक्षा मापदण्ड अपनाउँदै पुनः शुरू गरिएको जानकारी दिए । उनका अनुसार लकडाउन अघिको प्रश्नावलीलाई परिमार्जन गरी मूल प्रश्नावलीका साथै कोभिड १९ ले उद्योग क्षेत्रमा पारेको असरबारेका थप प्रश्नावली तयार पारी तथ्यांक संकलन गरिएको छ । 

राष्ट्रिय अर्थतन्त्रमा औद्यौगिक क्षेत्रको योगदान, सम्भावना, चुनौती, समस्या, रोजगारीको अवस्थालगायतका विविध पक्ष समेटेर सर्वेक्षण सञ्चालन गरिएको उनले बताए । पुनः गणनामा कोभिड १९ का कारण औद्योगिक प्रतिष्ठानको उत्पादन तथा विक्रीको  अवस्था, हालको स्थिति रोजगारी वृद्धि, कटौती लगायतका विवरण समेत संकलन गरिएको छ । यस्तै लकडाउन अवधिमा उद्योगको सञ्चालनको सम्बन्धी पूर्ण,आंशिक, बन्दका कारण लगायतका प्रश्नावली समेत राखिएका छन् । प्रतिष्ठानमा कार्यरत कोभिड संक्रमित कर्मचारी, मृत्यु भएकाको संख्या समेत प्रश्नमा उल्लेख गरिएको तथ्यांक अधिकृत भण्डारीले जानकारी दिए । 

केन्द्रीय तथ्यांक विभागको स्वीकृत कार्यक्रम अन्तर्गत गत फागुन १२ गतेदखि शुरू हुनुपर्ने सो कार्य कोरोना महामारीका कारण चैत ११ देखि स्थगित गरिएको थियो । केन्द्रीय तथ्यांक विभागबाट प्राप्त सूचीमा ठूला उद्योगहरूको सूची अद्यावधिक गर्नुपर्ने भएमा थप उद्योगको समेत सर्वेक्षण गरिने भण्डारीले बताए । विभागले कार्यालयलाई पुनः गणनाका लागि थप साढे २ महीना समयावधि थप गरेको छ । 

गणनाका लागि कार्यालयका ७ जना र करारका गरी ९ जना स्थलगत तथ्यांकको लागि खटिएका छन् । दश वर्षको अन्तरालमा हुने सर्वेक्षण यसअघि २०६६ सालमा भएको थियो । दश जना कामदार भएको प्रतिष्ठानलाई मात्र सो सर्वेक्षणमा समावेश गरिन्छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)