अहिले राजावादीहरू एकाएक देशको राष्ट्रिय झण्डा बोकेर सडकमा मार्च पास गरिरहेका छन् । नगरून् पनि किन ? कतिपयलाई राजतन्त्रको स्वर्णिम युगको यादले कत्ति सताउँदो हो । यो गञ्जागोलभन्दा त विगत राम्रो थियो भन्ने लाग्दो हो । सडकमा नाराबाजी गरेर नारायणहिटीमा राजाको बहाली हुन्छ भन्ने पनि लाग्दो हो । इतिहास कसलाई प्यारो लाग्दैन र ?
हुन पनि राजतन्त्रमा देशमा कत्ति सुख चैन थियो । उतिबेला प्रत्येक बाउआमामा छोरीको नाम नमिता र सुनीता राख्ने होडबाजी नै चल्थ्यो । राति राति मन्दिर संरक्षणका लागि टोलीहरू जान्थे । मन्दिर पूरै जोगिन्थ्यो, तर मूर्ति चाहिँ कहाँ पुग्थ्यो पुग्थ्यो, पुजारीले नि पत्तो पाउँदैनथ्यो । त्यो कतै स्वदेश वा विदेशतिर पूर्ण सुरक्षित रहन्थ्यो । कसैले कुनै नयाँ व्यवसाय गर्ने आइडिया ल्यायो भने दरबारबाटै संरक्षकत्व बक्सन्थ्यो, स्वामित्व नै ग्रहण हुन्थ्यो । त्यस्ता कम्पनीको अध्यक्षमा कुनै न कुनै श्री ५ नै विराजमान होइबक्सन्थ्यो ।
पुरानो राजतन्त्रमा जस्तो केवल एकजना मात्र राजा हुँदैन गणतन्त्रमा । गणतन्त्रमा त ७–८ सय राजा रजौटाहरू हुन्छन् । पुरानो राजतन्त्रमा जस्तै अहिले पनि संसद्, पार्टी र अदालतभन्दा माथि देशमा सरकार र प्रधानमन्त्री हुने चलन छ ।
अहिले यो टेलिफोन, सामाजिक सञ्जाल, इन्टरनेटले मानिसलाई कति बिजी बनाएको छ । मानिसहरू छुट्टी मनाउन जान पाए हुन्थ्यो भन्ने ठान्छन्, तर पाउँदैनन् । तर उबेला त राजसंस्थाले नै जनतालाई छुट्टी दिन महीनौं टेलिफोन र इन्टरनेट बन्द गरिदिन्थ्योे । मिडियाकर्मीलाई काम गर्न सजिलो पार्न मिडिया हाउसमै सेना खटिन्थे । कम्ता रमाइला थिए ती दिनहरू !
मान्छेहरू कसैले कसैलाई केही भन्दैनथे । रामराज्य थियो । किनकि भित्ताका पनि कान हुन्छ भन्थे । अहिलेजस्तो जथाभावी लेख्ने, बोल्ने र जुलुस गरेर हिँड्दैनथे । सबैतिर शान्ति थियो । त्यसैले त राजसंस्था फेरि चाहिएको त । हुन पनि यत्रा हिन्दू रैछन्, यत्रा मान्छेहरू राजतन्त्रको समर्थनमा रैछन्, उतिखेर चैं ती काहाँ गा थे कुन्नि ?
त्यसो भन्दैमा पहिलेको राजतन्त्र ठीक, अहिलेको चैं बेठीक भनेको होइन है । तन्त्र मात्र पहिले भन्दा फरक हो, मन्त्र त उही हो, आफ्ना वरिपरिकालाई बलियो बनाउने । हो, तन्त्र फरक भए पनि व्यवहारमा अहिलेका आधुनिक राजाहरू कम चैं छैनन् है । त्यसैले देशमा अमनचैन कायम गर्न अहिलेका राजाहरूले पनि अनेक उपाय खोजी नै रहेका छन् ।
यसरी नयाँ राजाहरूले काम गर्दागर्दै पनि पुराना राजावादीहरूले राष्ट्रिय झण्डा बोकेर मार्चपास गरिरहेको चैं अलि मिलेन है । गणतन्त्रमा यसरी राष्ट्रिय झण्डा जथाभावी बोकेर हिँड्न पाइन्छ र भन्या ? गणतन्त्रमा विभिन्न दलका आयातित झण्डा, जातीय, क्षेत्रीय वा आआफ्नो रंगका झण्डा बोक्न पो पाइन्छ त । लोकतन्त्र, गणतन्त्र छ भन्दैमा राष्ट्रिय झण्डा पनि जहिले मन लाग्यो तहिले, जसलाई मन लाग्यो, त्यसले कतै बोकेर हिँड्न पाइन्छ र ? पाइँदैन नि ।
त्यसैले त देशको झण्डा बोक्नेहरूलाई गणतन्त्रवादीहरूले गद्दार, प्रतिगामी या दलाल भनेका, सडकमा आएका सबैलाई विदेशी दलाल र प्रतिगमनकारी भनेका, २–४ लिटर पेट्रोलमा बिकेर आएका सडकछापहरू भनेका । किनकि लोकतन्त्र र गणतन्त्र भनिसकेपछि सबै विचारको सम्मान र बहुमत विचारको कदर भन्ने त हुँदैन नि । त्यस्तै काम पाइएन भन्दैमा जसले पनि जथाभावी पुल पुलेसा उद्घाटन गर्दै हिँड्न पाइन्न नि !
गणतन्त्रमा त स्वदेशी दलाल पो बन्न सक्नुपर्छ, विदशी होइन । विदेशी झण्डा बोक्ने कुरा बेग्लै हो । अहिलेको गणतन्त्रात्मक राजतन्त्रमा पनि दल र व्यक्तिभन्दा माथि उठेका र जनतासँग हरपल भिजेका, दिनरात देश बनाउने चिन्तनमा बैठक बसिरहेका, व्यक्तिगत तुष छोडेर राष्ट्रिय मुद्दामा खबरदारी र आन्दोलन गरिरहेका, जनमतको उच्च सम्मान गर्ने राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्ष पनि छन् नि त । नाम सुन्दै श्रद्धाले शिर निहुरिने उदाहरणीय व्यक्तित्वहरू कति छन् कति यहाँ । अझ स्वच्छ, शिक्षित, योग्य र इमानदार दोस्रो पुस्ताका नेताको त लामो लाइन नै छ सिंहदरबार, बालुवाटार, खुमलटार वरिपरि । देख्नुभा छैन ?
अझ जनताका लागि त विश्व नै छक्क पर्ने खालको समृद्धि आएको छ । हो, बालुवाटार, खुमलटार या कोटेश्वरसम्म भने त्यो समृद्धि अझै पुगेको छैन । अब सबै लागेर पुर्याउनु पर्छ । किनकि नयाँ, आधुनिक र क्रान्तिकारी यो राजतन्त्रलाई सुदृढ गर्नु आजको आवश्यकता हो ।
अर्को कुरा, पुरानो राजतन्त्रमा जस्तो केवल एकजना मात्र राजा हुँदैन गणतन्त्रमा । गणतन्त्रमा त ७–८ सय राजा रजौटाहरू हुन्छन् । मुख्य कार्यकारी प्रधानमन्त्री हुन्छन् ।
प्रधानमन्त्री मात्र किन ? व्यवहारमा राष्ट्रपति पनि कार्यकारीकै भूमिकामा हुन्छन् । यसरी एउटा मात्र होइन, दुई कार्यकारी राजाहरू हुन्छन् ।
पुरानो राजतन्त्रमा जस्तै अहिले पनि संसद्, पार्टी र अदालतभन्दा माथि देशमा सरकार र प्रधानमन्त्री हुने चलन छ । फ्रान्सेली राजा लुई १४औं ले ‘म नै राज्य हुँ’ भन्थे रे । त्यसैले हाम्रा ४१औं नवराजा अर्थात् प्रधानमन्त्रीले पनि लुईले भनेजस्तै आफ्नो अगाडि बाँकी सबै व्यक्ति वा निकाय खेलौना मात्र भएको व्यवहार देखाउने गरेका । वाह ! वाह ! क्रान्तिकारी राजाबाट कस्तो युग सुहाँउदो भूमिका निर्वाह गरिबक्सेको छ ।
त्यसैले अहिलेका आधुनिक राजाहरू पनि गज्जपै छन् त हो । पुरानाभन्दा कति दूरदर्शी छन् छन् । तर हामीलाई त जो भए पनि राजा चाहिएको न हो । त्यसैले आउनुहोस्, पुरानो भए पनि नयाँ भए पनि राजतन्त्रका नाममा एउटा नारा लगाइहालौं, राजतन्त्र जिन्दावाद !