ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनका पर्यटन व्यवसायीको चिन्ता : ‘सेल्फी’ पर्यटक आए, गुणस्तरीय आएनन्

२०७७ मंसिर, ३०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । सिजन शुरू भएको ४ महीना बितिसक्दा पनि गुणस्तरीय र खर्च गर्ने पर्यटक नआएपछि चितवनका पर्यटक चिन्तित भएका छन् । कोभिडका कारण बाह्य पर्यटक आउन नसक्दा र गुणस्तरीय आन्तरिक पर्यटक आउन नसक्दा उनीहरू चिन्तित बनेका हुन् ।

चितवनको पर्यटनका लागि यो राम्रो समय हो । अहिले यहाँ त्यति जाडो पनि छैन, गर्मी पनि छैन । विगतका वर्षहरूमा यहाँका पर्यटकीय गन्तव्य सौराहा, पटिहानी, मेघौली तथा चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको बाक्लै उपस्थिति देखिन्थ्यो । तर, अहिले दिनको समयमा घुम्ने र सेल्फी खिचेर फर्केने पर्यटक मात्र आउने गरेका देखिन्छन् ।

चितवनका पर्यटकीय गन्तव्यमध्ये पटिहानी पर्यटकीय क्षेत्र पनि हो । यहाँ विदेशको पर्यटन अभ्यासअनुसार अम्ब्रेला स्ट्रीटको निर्माण गरिएको छ । लामो समयसम्म कोभिडका कारण यो बन्द भए पनि गत महीनाको दोस्रो सातादेखि खुला गरिएको छ । पटिहानीमा साना ठूला गरी करीब एक दर्जन होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । यहाँ दैनिक औसत ४ हजार पर्यटन घुम्न आए पनि खर्च गर्ने र गुणस्तरीय पर्यटक नआएको व्यवसायीको गुनासो छ ।

सोही ठाउँका राइनो जंगल क्याम्पका प्रबन्ध निर्देशक साजन महतो अम्ब्रेला स्ट्रीट नजिकै भए पनि यसले व्यवसायमा त्यति प्रभाव नपारेको बताउँछन् । ‘दैनिकजसो यहाँ भीड त हुन्छ,’ उनले भने, ‘तर होटलमा खाने र बस्ने मान्छे नै छैनन् ।’

आर्थिक गतिविधि चलायमान नहुँदा विगतका वर्षमा जस्तो आन्तरिक पर्यटक आउन सकेका छैनन् । आवासका लागि आउने  पर्यटक पनि कम छन् । विशिष्ट पर्यटक कम हुँदा आम्दानीमै फरक परेको व्यवसायीको भनाइ छ । मेघौली होटल वाराहीका प्रबन्धक चन्द्र महतो गत वर्षहरूमा यस सिजनमा सबै कोठा भरिए पनि अहिले तीनओटा कोठाबाहेक अन्य कोठा खाली भएको बताउँछन् । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा पनि गुणस्तरीय पर्यटक आउन सकेका छैनन् । दिउँसोको समयमा जिल्ला र छिमेकी जिल्लाका आन्तरिक पर्यटक आए पनि साँझ परेपछि भने सुनसान हुने गरेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । ‘कोभिडको प्रभाव कम भएसँगै आन्तरिक नै भए पनि उल्लेख्य पर्यटक आउने आशा थियो,’ उनले भने, ‘तर वास बस्ने पर्यटक एकदमै कम छन् ।’ सौराहामा विगतका वर्षहरूमा राम्रै पर्यटक आउने गरे पनि पछिल्लो समय खर्च गर्ने पर्यटक आउन छाडेका छन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)