ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उत्पादन नभएपछि बजारमा महको अभाव

२०७७ मंसिर, ३०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । केही वर्ष अघिसम्म महको उत्पादन बढी भएर विक्री गर्न नसकेका चितवनका किसानले यस वर्ष महको उत्पादन नभएको बताएका छन् । महको उत्पादन घटेको तर माग भने अत्यधिक बढेसँगै मूल्यमा वृद्धि भएको छ ।

यस वर्ष मौसम अनुकुल नहुनु, चिउरी र तोरीमा फूल नफुल्नु र फूलमा प्रशस्त मात्रामा रस नभएकाले उत्पादन हुन नसकेको कृषहरूको भनाइ छ । २ वर्ष अघिसम्म प्रतिकेजी औसत रू. ३०० मा विक्री हुने गरेको मह अहिले प्रतिकेजी रू. ६०० पुगेको छ ।

भरतपुर महानगरपालिका–९ का किसान विष्णु भुसालले यस वर्ष मह उत्पादनमा ८० प्रतिशतसम्म ह्रास आएको बताए । ‘हामीले विगतका वर्षहरूमा जस्तै यस वर्ष दाङमा मौरी लगेर चरायौं, तर यसपालि चिउरी र तोरीमा रस नै रहेनछ,’ उनले भने ।

दाङका सामुदायिक वनले लिने शुल्क, स्थानीय संघसंस्थाले लिने शुल्क र ढुवानी खर्चका कारण दाङमा उत्पादित महमा नोक्सान भएको भुसालको भनाइ छ । चितवन मौरीको जोन भए पनि तोरी र चिउरीको उत्पादनका कारण मौरीका लागि दाङ उत्कृष्ट चरन क्षेत्र मानिन्छ । तर पछिल्लो समय दाङमा समेत मह उत्पादनमा निरन्तर ह्रास हुँदै गएको छ । घोराही उपमहानगरपालिका–४ का किसान गोपीचन्द्र न्यौपाने यस वर्ष मह उत्पादन न्यून मात्रामा भएको बताउँछन् ।

‘चितवन र अन्य जिल्लाका किसानले यही मौरी चराउन ल्याउँछन्,’ उनले भने, ‘मौरीको गोला बढी भयो, चरनक्षेत्रको अभाव भयो ।’ किसानहरूको आपसी समझदारी हुन नसक्दा र मौरीको सही व्यवस्थापन गर्दा मह उत्पादनमा कमी आएको उनको भनाइ छ ।

मौरीविज्ञ डाक्टर खेमराज न्यौपाने मौसम परिवर्तनलाई नै मह उत्पादन घट्नुको प्रमुख कारण मान्छन् । ‘मह घट्नुका थुप्रै कारण छन्,’ उनले भने, ‘मुख्य रूपमा जलवायु परिवर्तनको असरले मह उत्पादन घटेको हो ।’ उनका अनुसार फूल समयमै नफुल्नु, फुले पनि रस नहुनु जस्ता अन्य कारण उत्पादन ठूलो ह्रास आएको हो । ‘अहिले उत्पादन नै छैन, आपूर्ति छैन । माग बढी छ । माग बढी भएपछि मूल्य बढ्छ नै ।’

नेपालमा विगत ३ वर्षदेखि नै महको उत्पादनमा निरन्तर ह्रास आएको छ । नेपाल मौरीपालक महासंघका अनुसार आर्थिक वर्ष २०७६/७७ मा देशभर ३ हजार ५०० मेट्रिक टनसम्म पुगेको महको उत्पादन २०७६/७७ मा घटेर १ हजार ६०० मेट्रिक टनमा सीमित भएको थियो । चितवनमा व्यावसायिक किसान ३०० जना छन् भने अन्य किसान २०० को हाराहारीमा छन् । ५० ओटा घार भएका किसानलाई व्यावसायिक किसान मानिन्छ । चितवनमा आव २०७५/७६ मा ८०० मेट्रिक टन मह उत्पादन भएको थियो ।

यस्तै जिल्लामा आव २०७६/७७ मा ४०० मेट्रिक टन मह उत्पादन भएकोमा चालू आवमा ५०० मेट्रिक टन मह उत्पादन हुने अनुमान छ । चालू आवमा देशभर २ हजार मेट्रिक टन मह उत्पादन हुने अनुमान गरिएको छ । हाल मुलुकभर करीब ८ हजार मौरीपालक किसान छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)