ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुर विद्युत् वितरण केन्द्रमा बक्यौता रकम २३ करोड ७३ लाख

२०७७ पौष, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रमा हालसम्म बक्यौता रकम २३ करोड ७३ लाख रुपैयाँभन्दा बढी पुगेको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष (आव) २०७६/७७ को कात्तिक मसान्तसम्ममा बक्यौता १९ करोड ८३ लाख २६ हजार ६७ रुपैयाँ थियो ।

अघिल्ला आवहरूमा बक्यौता रकम घट्दै आएकोमा चालू आवमा बढेको कार्यालयका प्रमुख सुरेश महतोले बताए । ‘लकडाउनका कारण हामीले कुनै सेवाग्राहीको लाइन काटेनौं,’ उनले भने, ‘सेवाग्राहीको संख्या पनि वर्षेनि बढ्दै गएकाले सोही अनुपातमा बक्यौता बढ्छ ।’ लकडाउनमा लामो समयसम्म विद्युत् बक्यौता नतिर्ने सेवाग्राहीको लाइन मङ्सिरदेखि काट्न थालिएको उनले बताए ।

कार्यालयमा सबैभन्दा बढी बक्यौता रकम सडक बत्तीको छ । कार्यालयका अनुसार गत आवको कात्तिकसम्ममा यस्तो बक्यौता २ करोड ४० लाख ६७ हजार १५२ रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा ४ करोड ५९ लाख ८० हजार १४१ रुपैयाँ पुगेको छ । कार्यालय प्रमुख महतोले सडक बत्तीको शुल्क सरकारबाट प्राप्त हुने भएकाले बक्यौता रकम बढ्दै जाने र भुक्तानी पनि ढिला हुने बताए ।

‘सरकारले शोधभर्ना गरी प्रक्रिया अनुसार जाँदा रकम भुक्तानी गर्न ढिला हुन्छ,’ उनले भने । यसपछि भने घरमा लाइन जडान गर्ने ग्राहकको संख्या बढी भएकाले उनीहरूको बक्यौता रहने उनको भनाइ छ ।

महशुल असुली र कारबाही संख्या घट्यो
कार्यालयले गत आवभन्दा चालू आवमा महशुल असुली र कारबाही संख्या पनि घटेको जानकारी दिएको छ । गत मङ्सिर १५ गतेदेखि चनौली वितरण केन्द्र सञ्चालनमा आएसँगै असुली र कारबाही संख्या घटेको हो । गत आवमा भरतपुर वितरण केन्द्र अन्तर्गत ८८ हजार ३७ ग्राहक रहेकोमा चनौलीमा वितरण केन्द्र सञ्चालनमा आएपछि हाल सो संख्या घटेर ५८ हजार १९५ मा सीमित रहेको छ । यसअघि त्यो क्षेत्रका ग्राहकले भरतपुर वितरण केन्द्रमार्फत महशुल भुक्तानी गर्दै आएका थिए ।

कार्यालयका अनुसार गत आवको ४ महीनामा विद्युत् चुहावट गर्ने ६१ ग्राहकलाई कारबाही गरिएको थियो, जसबाट कार्यालयले ४ लाख ३३ हजार ६९१ रुपैयाँ असुली गरेको थियो । तर चालू आवको कात्तिक मसान्तसम्ममा ९ जना मात्र ग्राहक कारबाहीमा परेका छन् । यसबाट कार्यालयले २४ हजार ३१७ रुपैयाँ संकलन गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)