ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आउनोस् खाल्टो खनौं

२०७७ पौष, ३  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary

नेपाल कृृषिप्रधान देश सबैले भन्ने गरेको । तर कृषि र कृषकको हालत हेर्दा कसरी कृषिप्रधान भन्नु र खै ? पर्यटनप्रधान हो भनौं भने पनि खासै त्यस्तो देखिन्न । जलस्रोतप्रधान भन्न पनि खानेपानी, सिँचाइ र बिजुलीको अवस्थाले त्यो पुष्टि गर्दैन । यसैले होला, धेरैले नेपाललाई भ्रष्टाचारप्रधान देश भनेको । ट्रान्सपरेन्सी इन्टरनेशनलले त पुरस्कारै दिइसक्यो क्यार हालसालै ।

तर मेरो विचारमा त नेपाल केवल खाल्टोप्रधान देश हो । किनकि देशभरि खाल्टै खाल्टा छन् । आर्थिक, भौतिक, नीतिगत, व्यावहारिक अनेक आकार प्रकारका खाडलै खाडलहरू देखिन्छ मुलुकभरि । राजधानी नै खाल्टोमा छ । अनि खाल्टोप्रधान नभनेर के भन्नु ?

बितेका तीन दशक चानचुनको यात्रामा मात्रै पनि देशमा थुप्रै नयाँ खाल्टाखुल्टीहरू बने । गलैंचा, सर्पको छाला, रासायनिक मल, सुडान मिशन काण्ड, अख्तियार आयुक्त काण्ड, मेडिकल कलेज काण्ड, बालुवाटार जग्गा प्रकरण, गोरे–काले सुन काण्ड जस्ता खाल्टाहरू त बाटोमा झन् कति भेटिए कति ।

त्यसैले देशमा विकास पनि सडकमा खाल्टाखुल्टी जसरी नै फैलँदै गइरहेका छन् । वास्तवमा यी साना ठूला खाल्टाखुल्टीहरू नेपाली आमाका घाउहरू हुन् । यी घाउहरू लोकतन्त्रको ३० वर्षे यात्रामा झन् झन् निको नहुने क्यान्सर जसरी फैलँदो छन् । बेला बेलामा कुनै न कुनै महापुरुष चुनाव जितेर देश हाँक्छु भनेर आउँछ र यी घाउहरू निको बनाउन लाग्नुको साटो यसलाई झन् बल्झाउँछ र अझ नून खुर्सानी छर्केर जान्छ । त्यसैले त भनेको, नेपाल एक खाल्टोप्रधान देश हो । यहाँ जताततै खाल्टो खन्नेहरू मात्र प्रशस्त पाइन्छन् । तर खाल्टो पुर्ने मानिसहरूको भने यहाँ दशकौंदेखि भयंकर अभाव छ ।

देशका नागरिकको हित भन्ने कुरा कुन चैं हो भूतले खाने गरेको छ । कोई ‘माईका लाल’ देशका यी घाउरूपी खाल्टाहरू भर्ने हिम्मत गर्दैनन् । देशका लागि मर्ने र मार्ने कुरा गर्नेहरू त धेरै देखिन्छन् । तर देशका लागि साँच्चै गर्नेहरू भने आजसम्म भेटिएका छैनन् । के हुन्छ कुन्नि सत्तारूपी स्वादको चास्नीमा डुब्न पाएपछि प्रत्येक जो कोहीको पनि आफ्नी माता (नेपाल आमा)प्रति मोहभंग हुन्छ । सत्ताले असल मानिसको पनि मानसिक सन्तुलन नै हल्लाएर राखिदिन्छ ।

बितेका तीन दशक चानचुनको यात्रामा मात्रै पनि देशमा थुप्रै नयाँ खाल्टाखुल्टीहरू बने । धमिजा, चेज एयर, लाउडा एयर, चाइना साउथ वेस्ट, एयरबस, वाइडबडी काण्ड जस्ता थुप्रै खाल्टाहरू यो यात्रामा भेटिएका हुन् । गलैंचा, सर्पको छाला, रासायनिक मल, सुडान मिशन काण्ड, अख्तियार आयुक्त काण्ड, मेडिकल कलेज काण्ड, बालुवाटार जग्गा प्रकरण, गोरे–काले सुन काण्ड जस्ता खाल्टाहरू त बाटोमा झन् कति भेटिए कति ।

यहाँसम्म कि देशका भक्तहरूले सुन, डिजेल, पेट्रोल, युरिया मल आदि खाएर पनि आफ्ना खाल्टाखुल्टी भर्ने भरमग्दुर प्रयास गरेका छन् । जब सबै आ–आफ्नै खाल्टा भर्नतिर लागे, तब देशमा खाल्टाहरूको गहिराइ दिन दुई गुणा रात चौगुणा गहिरो हुँदै जाने नै भयो । हाम्रा यिनै खाडलहरूको स्वर्णिम इतिहास बखान गर्ने देशैभरिका सडकहरू नै यसका पक्का प्रमाण हुन् ।

देशका नामी दामी ठेकेदारहरूले यस्ता ठूल्ठूला वातानुकूल गाडीहरू आयात गरेर ठूलाबडाहरूलाई उपहार चढाउन थाले कि ती गाडीभित्र बस्नेलाई यी खाल्टाखुल्टीबाट किञ्चित् पनि अप्ठेरो परेन । त्यसैले देशका संरक्षकहरूले खाल्टाहरूका विषयमा कहिल्यै पनि गम्भीरतापूर्वक ध्यान दिएनन् । अब त देशका शासकहरूबाट यी खाल्टाहरू पुरिने आश गर्नु पनि आफैलाई धोखा दिनु हो । किनकि यिनीहरूको आँखामा न लाज छ, न शर्मरूपी पानी नै । यहाँ जताततै रावण भेटिन्छन्, तर कुरा हुन्छ रामराज्यको । यो कस्तो बेकाइदा हो ?

विगतमा त केवल दुई चार जनाले मात्र देशमा खाल्टो खन्ने काम गर्थे । अहिले त जताततै खाल्टो खन्नेहरूकै लामो लाइन छ । सबैलाई सत्ता नामक कोदालोले खाल्टो खनेर लखपति, करोडपति बनिहाल्ने व्याकुलता छ । जति खाडल सडकमा बन्छन्, त्यति नै मृगतृष्णाको खाल्टो यी मानिसहरूका दिमागमा भरिन्छन् । युवालाई विदेश जागीरमा ठेलेर, खोला नाला बेचेर, धर्म बेचेर, इमान–जमान जे जे बाँकी छ, सबै सबै बेचेर आफ्ना खाल्टाहरू भरिरहेका छन् ।

यिनीहरूले खाल्टाहरू खनेर नै आफ्ना आलिशान झुपडी ठड्याएका छन् । झुपडी पनि यस्ता कि पाँचतारे होटल पनि यिनका कुटीभन्दा कम लाग्न सक्छन् । हिजोआज त सानादेखि ठूलासम्म सबै प्राणी कुकुरले जस्तो खाल्टा खन्न लागिपरेका छन् । कुकुर त बिचरा आफू बस्नका लागि मात्र सानो खाल्टो कोर्छ । तर यो मानिस भन्ने जीव किन यति धेरै र गहिरो खाल्टा खन्न लालायित छ कुन्नि ? जब कि यिनलाई थाहा छ कि एक दिन यिनै खाल्टामा सदाका लागि निदाउनुपर्नेछ । यिनीहरू मृत्युपछिका लागि बन्दोबस्त गरिरहेका त छैनन् कतै ?

लोकतन्त्रकै अवधिमा नदीहरूमा कति पानी बगेर महासागरमा मिसियो, कति शरद् र वसन्त ऋतुहरू आए र गए । मानव विकास सूचकांकमा नेपालको सुधार भएको भनेर जसले भने पनि भुइँमान्छेहरूको जीवनमा कुनै परिवर्तन आउन सकेको छैन । अहिले लोकतन्त्रका नाममा एउटा भद्दा मजाक मात्र भैरहेको छ । शायद रामहरू अझै वनवासमै छन्, शासन त रावणहरूकै छ ।

हे भगवान् ! भुइँमान्छेहरूको गरीबीको खाडल भर्ने शक्ति देऊ । साथै ठूला मान्छेहरूलाई केवल आफ्नो खाल्टो मात्र नभर, अनि अरूलाई पुर्न खनिएको खाल्टोमा आफू पनि परिन्छ भन्ने सद्बुद्धि देऊ । त्यसैले, अरूलाई खाल्टामा हाल्न उचालिनेहरू हो, होशियार ! अब त अति भो । यो अतिले अब देशले शहीदहरू मात्र उत्पादन गर्दै जाला है !

त्यसैले हे धर्तीपुत्रहरू हो ! आउनुहोस्, अरूका लागि खाल्टो खन्नेहरूका लागि भनेर बरु एउटा छुट्टै खाल्टो खनौं । अरू प्रधान देश त बनाउन सकेनौं, सबै मिलेर खाल्टोप्रधान देश भने पनि बनाऔं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)