ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा घरजग्गा कारोबारले गतिलिंदै

२०७७ पौष, ४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

पुष ४, चितवन । लामोसमयदेखि ठप्प भएको घरजग्गा कारोबारले पछिल्लोसमय गतिलिदैं गएको छ । कोरोना महामारीको प्रभाव कम भएसंँगै यस व्यवसायले बामे सर्दै गएको छ  । अन्य आर्थिक गतिविधि बढेसंँगै घरजग्गाको व्यापारमा पनि सुधार आएको हो  । 

लामोसमयदेखि घरमै बसेका व्यवसायी एवं जग्गा खरीदकर्ताको लामो लाईन र भीड चितवनका मालपोत कार्यालयहरुमा देखिन्छ । यसअघि जग्गा धितोको लागि मात्र काम बढी हुँदै आएकोमा हाल रजिष्ट्रेसन पास, तथा अंशवण्डा भर्पाइको काम बढेको मालपोत कार्यालयका कर्मचारी बताउँछन् ।

विगतका समयमा शहर केन्द्रीत गरी घरजग्गाको कारोबार भएपनि पछिल्लो समय  गाउंँकेन्द्रीत जग्गाहरुको कारोबार बढी हुने गरेको छ । बैंकको व्याज कम भएपछि र सहजतासंँगै घरजग्गाको कारोबारमा सुधार आएको हो । 

लामोसमयको लकडाउन र निषेधाज्ञाका कारण घरजग्गाको कारोबार अनिश्चित भएपनि कोरोनाको प्रभाव कम भएसंँगै दिनहुंँ सेवाग्राही बढ्दै गएको बताउँछन्, मालपोत कार्यालय, चनौलीका प्रमुख मुकुन्द पौडेल । ‘अहिले केही दिनभयो दिनहुंँ चाप बढेको छ’, पौडेलले भने, ‘गाउंँ क्षेत्र भएर होला अंशबण्डा,रजिष्ट्रेशन  र धितो भर्पाइका काम उत्तिकै छन ।’ चाप बढेसंँगै राजस्व संकलनमा समेत बृद्धि हुदै गईरहेको उनले बताए ।

 चितवनमा हाल ४ ओटा मालपोत कार्यालय छन् । यसमध्ये भरतपुर मालपोत कार्यालय र चनौली मालपोत कार्यालयमा सेवाग्राहीको चाप बढी हुन्छ । पौडेलका अनुसार चनौली मालपोत कार्यालयमा चालू आर्थिक ०७७, ०७८ को साउन महीनामा १ करोड २१ लाख ५१ हजार ६०० रुपैयाँ राजस्व संकलन भएको थियो । भदौ महीनामा २० लाख २८ हजार २सय ३७ रुपैयांँ, असोज महीनामा २ करोड २७ लाख ३० हजार ४०० रुपैयांँ संकलन भएको थियो । यस्तै कात्तिक महीनामा १ करोड ३० लाख १९ हजार ७८० रुपैयाँ र मंसीर महीनामा १ करोड ६२ लाख ८० हजार ९६० रुपैयाँ संकलन भएको छ ।  
कोरोनाको कारण गरिएको निषेधाज्ञाका कारण भदौमा कम राजस्व र कात्तिक महीनामा चाडबाड परेकोले कम राजश्व संकलन भएको उनले बताए । 

 यस्तै सबैभन्दा बढी भीड हुने मालपोत कार्यालय भरतपुरमा पनि सेवाग्राहीको चाप बढेको छ । भरतपुर मालपोत कार्यालयका सूचना अधिकारी हेमकुमार तिमिल्सिना  तिहार र छठपछि उल्लेखनीय रुपमा सेवाग्राहीको चाप बढेको बताउंँछन । ‘अन्य आर्थिक गतिविधि पनि बढ्यो उनले भने , मानिसमा कोरोनाको त्रास र प्रभाव कम भएकोले आत्मविश्वास बढ्यो । 

कार्यालयका अनुसार चालू आर्थिक बर्षमा रजिष्ट्रेसन,लाभकर, आयकर लगायतका शिर्षक गरी साउन महीनामा ६ करोड ५२ लाख १२ हजार ८५१ रुपैयांँ संकलन गरेको थियो । भदौ महीनामा १ करोड २२ लाख ८० हजार ४३७, असोज महीनामा १० करोड ४४ लाख  ५८ हजार ४५१, कात्तिक महीनामा ९ करोड २३ लाख ७१ हजार ७१६ रुपैयांँ संकलन गरेको छ । 
 

व्यवसायी भन्छन् : गतिविधि बढ्यो, कारोबार बढेन 

चितवनका घरजग्गा व्यवसायीले घरजग्गा व्यवसायमा केही सुधार जस्तो देखिएपनि व्यवसायिक रुपमा  कारोबार भने नभएको बताएका छन् । जसका कारण चितवनमा साना रकमका आवास र आवश्यकताको लागि जग्गाको कारोबारमा मात्र केही सुधार आएको छ । बैंकको व्याज कम हुनु, बिदेशबाट रेमिट्यान्सको सदुपयोग गर्नु र सुरक्षित लगानीका लागि जग्गा कारोबार उपयुक्त रहेकोले आकर्षण बढेको व्यवसायीको भनाइ छ । 

त्यसो त कोरोनाका कारण देशमा भएका उद्योग व्यवसाय, पर्यटन, यातायात क्षेत्र तत्काल उकासिन नसक्ने भएकोले मानिसहरुले जग्गा कारोबारलाई विकल्पको रुपमा लिएका हुन् । 
चितवन गुरांँस इन्भेष्टमेण्ट एण्ड डेभलपर्स प्रालिका  प्रबन्ध निर्देशक दिनेशकुमार चुके सुस्ताएको घरजग्गा कारोबारमा केही चहलपहल भएपनि अघिल्ला वर्षहरुमा जस्तो कारोबारमा प्रगति नभएको बताउंँछन् ।

उनका अनुसार अझैपनि ठूला लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको कारण घरजग्गा कारोबारमा व्यवसायिक कारोबार उकासिन नसकेको हो । 
कतिपय लगानीकर्ता शेयर तथा अन्य उत्पादनशील क्षेत्रमा विस्थापित भएकोले पनि उल्लेखनीय प्रगति नभएको चुकेले बताए । 

कित्ताकाट फुकुवाको पर्खाइमा बसेका चितवनका अधिकांश घरजग्गा व्यवसायी पलायन हुने अवस्थामा छन् । घरजग्गामा आएको शिथिलिता, लकडाउनका कारण बैंकमा थुप्रिएको व्याजका कारण घरजग्गा व्यवसाय धराशायी बन्दै गएको प्रभु हाउजिङ्गका अध्यक्ष केशव कार्कीले बताए । 

विगतका वर्षहरुमा खरीद गरेर राखिएका जग्गाहरु बिक्री नभएपछि आफूले घाटा खाएर बैंकको व्याज तिर्नुपरेको  उनले बताए । सरकारले जग्गाको वर्गीकरण र भू–उपयोगनीति नअपनाएसम्म घरजग्गा कारोबार व्यवसायिक नहुने कार्कीको भनाइ छ । 
 

हुन त अहिले काठमाडौं लगायत अन्य जिल्लाबाट जग्गा खरीदविक्री गर्न सेवाग्राही आउने गरेका छन् । तुलनात्मक रुपमा चितवन देशकै केन्द्र र सुविधायुक्त जिल्ला भएकोले साना रकमका जग्गाको विक्री बढेको हो । 

काठमाडौंबाट चितवन जग्गा किन्न आएका  केशव श्रेष्ठ काठमाडामौं धेरै लगानी गर्दापनि उपयुक्त जग्गा नपाउँदा चितवननै रोजेको बताउँछन् । ‘काठमाडौंको कुनाकुनामा पनि एउटा सामान्य घरको लागि १ करोड रुपैयाँभन्दा घटीको जग्गा पाउँदैन, उनले भने, चितवनमा यति बजेटले बजार क्षेत्रवरिपरिनै पाईंदो  रहेछ । ’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)