ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुधारिँदै चितवनमा घरजग्गा व्यवसाय

२०७७ पौष, १०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनमा लामो समयदेखि ठप्प भएको घरजग्गा व्यवसाय पछिल्लो समय केही मात्रामा सुधारिएको छ । बन्दाबन्दी तथा निषेधाज्ञापछि अन्य आर्थिक गतिविधि बढेसँगै घरजग्गा कारोबारमा पनि सुधार आएको हो । बैंकहरूको ब्याजदर घटेकाले पनि घरजग्गा कारोबारमा टेवा पुगेको छ ।

लामो समयदेखि घरमै बसेका व्यवसायी एवं जग्गा खरिदकर्ताको लामो लाइन चितवनका मालपोत कार्यालयहरूमा देखिन्छ । यसअघि जग्गा धितोका लागि मात्र काम बढी हुँदै आएकामा हाल रजिस्टे«सन पास तथा अंशबन्डा भर्पाइको काम बढेको मालपोत कार्यालयका कर्मचारी बताउँछन् ।

विगतमा सहरकेन्द्रित घरजग्गा कारोबार भए पनि पछिल्लो समय गाउँकेन्द्रित जग्गा कारोबार बढी हुने गरेको छ ।

लामो समयको बन्दाबन्दी र निषेधाज्ञाका कारण घरजग्गाको कारोबार अनिश्चित भए पनि पछिल्ला दिनमा यससम्बन्धी सेवाग्राही बढ्दै गएको मालपोत कार्यालय, चनौलीका प्रमुख मुकुन्द पौडेल बताउँछन् । सेवाग्राहीको चाप बढेसँगै राजस्व संकलनमा समेत वृद्धि भएको उनले जानकारी दिए ।

चितवनमा हाल चार वटा मालपोत कार्यालय छन् । यसमध्ये भरतपुर मालपोत र चनौली मालपोत कार्यालयमा सेवाग्राहीको चाप बढी हुने गरेको छ ।

पौडेलका अनुसार चनौली मालपोत कार्यालयमा घरजग्गा कारोबार सेवाशुल्क चालू आर्थिक वर्षकोे साउनमा १ करोड २१ लाख ५१ हजार, भदौमा २० लाख २८ हजार, असोजमा २ करोड २७ लाख ३० हजार, कात्तिकमा १ करोड ३० लाख १९ हजार र मंसिरमा १ करोड ६२ लाख ८० हजार रुपैयाँ संकलन भएको छ ।

यस्तै, मालपोत कार्यालय भरतपुरमा पनि सेवाग्राहीको चाप बढेको छ । कार्यालयका सूचना अधिकारी हेमकुमार तिमिल्सिनाले तिहार र छठपछि सेवाग्रही उल्लेख्य बढेको बताए । कार्यालयका अनुसार रजिस्ट्रेसन, लाभकर, आयकरलगायत शीर्षकमा साउनमा ६ करोड ५२ लाख १२ हजार, भदौमा १ करोड २२ लाख ८० हजार, असोजमा १० करोड ४४ लाख ५८ हजार र कात्तिकमा ९ करोड २३ लाख ७१ हजार रुपैयाँ संकलन भएको छ ।

व्यवसायी भन्छन् : गतिविधि बढ्यो तर कारोबार बढेन
चितवनका घरजग्गा व्यवसायीले भने व्यवसायमा केही सुधारजस्तो देखिए पनि लय लिइनसकेको बताउँछन् । उनीहरूका अनुसार जिल्लामा साना आवास र जग्गा कारोबारमा मात्र केही सुधार आएको छ ।

यद्यपि बैंकको ब्याज कम हुनु, रेमिट्यान्समा वृद्धि, सुरक्षित लगानीलगायत कारण जगा कारोबारमा आकर्षण बढेको व्यवसायीको भनाइ छ । यस्तै, कोरोनाका कारण देशमा भएका उद्योग व्यवसाय, पर्यटन, यातायातजस्ता क्षेत्र तत्काल उकासिन नसक्ने भएकाले मानिसले जग्गा कारोबारलाई विकल्पको रूपमा समेत लिएका छन् ।

चितवन गुराँस इन्भेष्टमेन्ट एन्ड डेभलपर्स प्रालिका प्रबन्ध निर्देशक दिनेशकुमार चुके सुस्ताएको घरजग्गा कारोबारमा केही चहलपहल भए पनि अघिल्ला वर्षमा जस्तो कारोबार नभएको बताउँछन् । ‘आवास प्रयोजनका साना टुक्रे जग्गाको कारोबार बढेको छ,’ उनले भने, ‘ठूला व्यवसाय, उद्योगधन्दा, व्यापारिक प्रतिष्ठानलगायत प्रयोजनका जग्गा कारोबार भने कम छ ।’

अझै पनि ठूला लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहेकाले घरजग्गा कारोबारले उचाइ लिन नसकेको बुझाइ उनको छ ।

कित्ताकाट फुकुवाको पर्खाइमा बसेका चितवनका कतिपय घरजग्गा व्यवसायी पलायन हुने अवस्थामा छन् । घरजग्गामा आएको शिथिलिता र बैंकको ऋणले घरजग्गा व्यवसायी मर्कामा परेको प्रभु हाउजिङका अध्यक्ष केशव कार्कीले बताए ।

‘सानातिना खरिद बिक्रीलाई के कारोबार भन्ने’, उनले भने, ‘सरकारलाई राजस्व संकलनबाट फाइदा भए पनि छैन ।’

विगतका वर्षमा खरिद गरेर राखिएका जग्गा बिक्री नभएपछि  घाटा खाएर बेच्नु परेको उनले बताए । सरकारले जग्गाको वर्गीकरण र भू–उपयोग नीति नअपनाएसम्म घरजग्गा कारोबार उकासिन नसक्ने उनको दाबी छ ।

यति हुँदाहुँदै पनि अहिले काठमाडौंलगायत अन्य जिल्लाबाट जग्गा खरिदका लागि चितवन आउनेहरू बढिरहेका छन् । देशकै केन्द्र भागमा रहेको र पूर्वाधार सुविधासम्पन्न भएकाले पनि चितवनमा आवासीय प्रयोजनका घरघडेरीको कारोबार बढेको हो ।

काठमाडौंबाट चितवन जग्गा किन्न आएका केशव श्रेष्ठ राजधानीमा धेरै लगानी गर्दा पनि उपयुक्त जग्गा नपाएकाले  चितवन नै रोजेको बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)