ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गणतन्त्रको यो कन्तबिजोग !

२०७७ पौष, १०  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

कति मीठो थियो गणतन्त्रको सपना । गणतन्त्र आयो कि देश यूरोप भो । विकास त किस्तीमै आइहाल्छ कि जस्तो थियो । तर गणतन्त्र आयो भनेको, अर्कै तन्त्र पो आएछ कि क्या हो ? जनतालाई उल्याउन सबैलाई चाहिने, जनताका लागि काम गर्न सबैलाई घाँडो लाग्ने । त्यही भएर त गणतन्त्र नामक सवारीको हरिबिजोग भो ! नहोस् पनि किन ? हेर्दा हेर्दै गणतन्त्रका सहयात्री आँखै अगाडि फुटे । जसरी नाटकीय रूपमा जुटे, त्यसैगरी फुटे । भागबन्डा मिल्दा जुटे, भागबण्डा नमिलेर फुटे । वा हठ र सत्ता लिप्साका कारण फुटे । खै किन जुटे फेरि किन फुटे ?

घोषणा थियो समृद्धिको । भनिएको थियो कि समाजवाद आइरहेको छ । तर अहिलेसम्म त आएको छैन । कहाँ अट्क्यो ? खुमलटारमा, बालुवाटारमा कि सिंहदरबारमा ?

अध्यादेश, विद्यादेश र सिध्यादेश भयो रे । हिजोको चोचोमोचो, गठबन्धन चैं ठीक, गुट उपगुट चैं संवैधानिक । आज छिर्केदाउ, घेराबन्दी र षड्यन्त्र भएपछि आएको चुनावी फिर्केदाउ चैं कसरी असंवैधानिक भयो भन्छन् ।

एक दशक गोलीसँग खेलेकालाई आज ओलीसँग खेल्न केको डर होला ? हिजोका अनेक अनैतिक काम सबै सदर । आज बैठकका प्रत्येक निर्णय बदर कसरी भयो होला ?

हिजो धुन्धुकारी, अत्याचारी, हत्याकारी, भ्रष्टाचारी सबै ठीक । आज चाहिँ अहंकारी, अटेरी, असहिष्णु, अभिमानी, अधिनायकवादी, अपारदर्शी, अनैतिक, अलोकतान्त्रिक, अराजनीतिक, अपरिपक्व, अक्षम भनेर भन्न मिल्छ र ?

बेलायतमा पनि संसद् भंग हुन्छ । देख्नुभएन इजरायलले नेपालबाट सिकेको ? नेपालमा कृषि सिकाउँछु भन्थ्यो, उल्टो यहाँबाट राजनीतिक सिकेर पो गएछ । भागबन्डा नमिलेपछि संसदै भंग । त्यहाँ हुने हाम्रोमा किन नहुने ? हामी त बेलायतका पनि गुरु, इजरायलको पनि गुरु ।

दुई जना मनोरोगीको सनक र प्रतिशोधमा संसद् विघटन गरिरहने भए फेरि चुनाव किन गरिरहनु पर्‍यो रे । चुनावै नगरेपछि जनता कसरी समृद्ध हुन्छन् त ? चुनाव भए पो घर घरमा हात हातमा पैसा पुग्छ र समृद्धि ल्याउन सकिन्छ । सरकारले सधैं पैसा बाँडे बेरुजु हुन्छ, अनि जनतामाझ पैसा पुर्‍याउन चुनाव चाहिएन ? बहुमतको सरकार भनेर पाँच वर्षसम्म टिकाए कार्यकर्ता मर्दैनन् ? बिचरा जनताले नेताको मुखै देख्न पाएका छैनन्, अब त मुखमात्र होइन, हात पनि देख्नेछन्, नमस्ते खान पाउँछन् ।

लौ ! महेन्द्रले, कोइरालाले, देउवाले प्रतिनिधिसभा विघटन गरेको चैं ठीक । अरूले गरे चैं बेठीक हो ? त्यसो भने के गरे चैं ठीक, के गरे चैं बेठीक हो ? चुनाव गर्नु बेठीक हो ? किन ? खर्च धेरै हुन्छ भनेर ? जाबो ४०/५० ओटा अर्ब रुपैयाँ त हो नि । पठाइहाल्छन् नि नेपाली युवाहरूले विदेशबाट कमाएर । अहिले नै यसै पनि राष्ट्र बैंकमा पैसा थुप्रिएर बसेको छ । चुनावी खर्चको के चिन्ता ?

तर नेताहरूको हल्लाखल्लामा जनता भने रनभुल्ल छन् । किनकि कोही भनिरहेका छन्, यहाँ चीन फेल खायो । कोही भन्छन् भारत फेल खायो । अनि नेपालले चाहिँ के खायो त ? जनताले के पायो त ? सबै असफल भए सफल चैं को भयो त ? जनता जनार्दनले अहिले विरोधमा जुलुस गर्ने कि चुनावका लागि जय जयकार ? उल्ले उल्लाई देखाउँछ । बिगारेको चैं कल्ले त ? तर बिग्रेको चैं पक्का भयो नि त ।

घोषणा थियो समृद्धिको । भनिएको थियो कि समाजवाद आइरहेको छ । तर अहिलेसम्म त आएको छैन । कहाँ अट्क्यो ? खुमलटारमा, बालुवाटारमा कि सिंहदरबारमा ? लगभग सबै दल र सबै नेता, कार्यकर्ता समाजवादको बाटोमा लैजाने भनेर दशकौंदेखि भनिरहेका छन् । तर त्यो बाटोमा चैं कहिले पुगिन्छ ? जनता त समाजवादलाई स्वागत गर्न दशकौंदेखि बाटोमै उभिइरहेका छन् अबिर, फूलमाला लिएर । खै त ? कुन चैं बाटो आउँछ समाजवाद ? चुनावको बाटो कि प्रतिनिधिसभाको बाटो ?

समाजवाद पहिले आउँछ कि पूँजीवाद ? समृद्धि चैं कैले र कसले ल्याउने हो ? नेकपाले ? कुन चैं नेकपाले ? पुरानो एमालेले ? क्रान्तिकारीले ? कांग्रेसले ? समाजवादीले ? राप्रपाले ? साझाले ? कि कल्ले ? बिचरा समाजवाद पनि हैरान होला कसको पछाडि चैं लागेर जाऊँ भनेर !

यता बिलखबन्दमा छ प्रतिपक्ष पनि । सरकारी पार्टीको पपुलारिटी रसातलमा गिरेको बेला चुनावमा जान पाइने भा छ । स्वागत गरौं अगणतान्त्रिक देखिने । नगरौं पछि भागमै पर्न लागेको सत्ताको भोग छ । चुनावै नगरी सत्ता हात पार्ने जोग छ । तर कार्यकर्ता ‘खबरदार ! सत्तामा जाने होइन’ भनिरहेका छन् ।

तर चुनाव भए पनि नभए पनि सरकारमा यो दल गए पनि ऊ दल गए पनि जनता भने जिल्लाराम र ठण्डाराम मात्र हुनेछन् । कमसेकम अहिलेसम्मका शासकहरूको चालामालाले त्यै प्रमाणित गर्छ । धेरै नै लोभी पापीहरू पार्टीभित्र र बाहिर भएपछि ३० वर्षसम्म नसुध्रिएको राजनीति अब किन र कसरी सुध्रेला र खै ?

के सरकार, के प्रतिपक्ष, पार्टीभित्रको गुट, उपगुट र फुटले गरिरहेको भनेको गणतन्त्रलाई गाईको गोठमा परिणत गर्ने कसरत मात्र देखिन्छ । हेर्नुस् त गणतन्त्रको यो कन्तबिजोग ! तपाईं के भन्नुहुन्छ ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)