ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३० करोड लगानीको रिसोर्ट नयाँ वर्षमा सञ्चालनमा आउने

२०७७ पौष, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी


पुस १३, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित भरतपुर विमानस्थलको आडैमा रहेको चितवन गार्डेन रिसोर्ट सञ्चालनमा आउने भएको छ । 

गत दशैंमा सञ्चालनमा आउने भनिए पनि कोभिडका कारण निर्माण सम्पन्न भइनसकेकोले अँग्रेजी नयाँ वर्षको अवसर पारेर रिसोर्ट सञ्चालनमा आउने भएको हो । आइतवार भरतपुरमा पत्रकार सम्मेलन गरी रिसोर्टको औपचारिक रुपमा खुल्ला गर्न लागिएको सञ्चालकहरुले बताएका हुन् । 

कार्यक्रममा रिसोर्टका प्रबन्ध निर्देशक तेजप्रसाद घिमिरेले कोरोना कहरबीच रिसोर्ट सञ्चालन गर्न सफल भएको बताए । ‘दशैंमा सञ्चालन गर्ने सोचमा थियौं,’ उनले भने, ‘रिसोर्ट निर्माणका सामानको अभावमा शुरू गर्न सकिएन ।’

रिसोर्टको सम्पूर्ण निर्माण सम्पन्न गर्न ३० करोड रुपैयाँ लगानी भइसकेको उनले जानकारी दिए । रिसोर्टमा स्थानीय बैंकर्स, निर्माण व्यवसायी, होटलियर्स गरी ५५ जनाको लगानी रहेको छ । भरतपुर लगायत आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको उनले बताए । विशेषगरी उद्योगी व्यवसायी, पेशागत कर्मचारी, डाक्टर, इञ्जिनियरलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको हो । 

साढे १७ कट्टा क्षेत्रफलमा अवस्थित यो रिसोर्टमा दुईवटा अलग रेष्टुरेण्ट एण्ड बार, एक हजार र दुई सय जना क्षमताका ब्यांक्वेट हल, पचास र चालिस जनासम्म अट्ने सेमिनार तथा सभाहल रहेका छन । २८ वटा लक्जरी बेडरुम भएको यो रिसोर्ट अध्याधुनिक प्रविधिको स्वीमिङ पुल, यथेष्ट पार्किङ सुविधा रहेको छ । 

रिसोर्टमा गुणस्तरीय, स्वस्थकर तथा सहुलियत दरमा विभिन्न खानाका परिकार उपलब्ध हुनेछन् । साथै रिसोर्टबाट विमानस्थल र पहाडको दृश्य देख्न सकिने प्रबन्धक घिमिरेले बताए । ‘सबै वर्ग, समूहका लागि लक्षित पूर्ण पारिवारिक वातावरणको रिसोर्ट बनेको छ,’ उनले भने । रूफटपको सुविधा समेत रहेको यस रिसोर्टमा झण्डै ४० जनाले रोजगारी पाएका छन् । एकैपटक ७० जनालाई सुविधा दिन सक्ने यस रिसोर्टमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिइएको उनले बताए । 

सो अवसरमा रिसोर्टका अध्यक्ष अशोक श्रेष्ठले चितवनका सबै व्यवसायीको प्रतिनिधित्व हुनेगरी रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको बताए । चितवन देशकै केन्द्र र हरेक क्षेत्रको सम्भावना रहेको कारण चितवनको पर्यटनमा प्रशस्त अवसर पनि भएको उनले बताए । कोभिडको कारण हाल पर्यटन क्षेत्र उकासिन केही समय लागे पनि आर्थिक गतिविधि गतिशील हुनेबित्तिकै पर्यटन क्षेत्रले पनि फड्को मार्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)