कोरोनाकोे कार्तिकनाच नसकिँदै सडकहरूमा राजावादीहरूकोे रमाइलो शुरू भैसकेको थियो । लगत्तै प्रतिनिधिसभा विसर्जन भयो र शुरू भयो ओली महाराज र ठूला टाउकेहरूको सडकमा नयाँ प्रहसन अर्थात् प्रदर्शन । तर, यो चिसोमा उनीहरूले कति दिनसम्म सडक तताइराख्लान् र खै ? जे भए पनि नेताजीहरूले जनतालाई भरपूर मनोरञ्जन प्रदान गरिरहन भने नछाड्ने भए बा ! त्यसै सुखी नेपालीको नारा ल्याएका रहेछन् र ?
राजावादी सडकमा नाचिरहँदा प्रधानमन्त्रीले अकस्मात् संसद् विघटन गर्नु संयोगमात्र त पक्कै नहोला । नत्र गणतन्त्रको १२ वर्षसम्म गुप्तवास बसेका पञ्चायतका प्रेत भनिनेहरूले अचानक कार्तिकनाच निकाल्ने ऊर्जा कहाँबाट पाए त ?
पहिले ‘प्रजावत्सल’ राजाहरूले प्रजातन्त्रप्रेमी भएकै कारण देश जोगाउन प्रजातन्त्रकै हत्या गरे । अहिले ओली महाराजले पनि लोकतन्त्र जोगाउन संवैधानिक कू गर्नुपरेको रे, अरिंगालहरूले भनेका । अब यो प्रतिनिधिसभा विसर्जनको प्रहसनको कानूनी छिनोफिनो कसरी होला, त्यो हेर्नु छ ।
कथित गणतन्त्रवादीहरू राजतन्त्र घाट पुगिसक्यो भनेर कुर्लेका कुल्र्यै छन् । तर हेर्दै जानुहोला, एक दिन राजतन्त्र घाटबाटै उठेर आउन के बेर ! यही पारा रहिरहे शिर नझुकाउने गणतन्त्रवादीहरूले नै बाध्य भएर राजतन्त्र बिउँताउन के बेर !
राजाहरूकोे योगदानको ब्याज नेपाली जनताले सधैं तिरिरहनु पर्छ रेन्त । त्यसैले गणतन्त्रका अनुयायीहरू जति उफ्रन मन लाग्छ, उफ्रिऊन् । तर ‘याद गर्नुस्, अरूले गर्दा होइन नेपाल अहिलेसम्म बाँचैकै राजाहरूकै कारणले हो रे । नेपाल बनाउने क्षमता अरूमा छैन, राजतन्त्रमा मात्रै छ भन्छन् राजतन्त्रवादीहरू । अनि राजतन्त्र नआउला त ? हुन पनि नेपालीहरू अझै भूतप्रेतमा विश्वास गर्छन् नै !
फेरि राजावादी सडकमा नाचिरहँदा प्रधानमन्त्रीले अकस्मात् संसद् विघटन गर्नु संयोगमात्र त पक्कै नहोला । नत्र गणतन्त्रको १२ वर्षसम्म गुप्तवास बसेका पञ्चायतका प्रेत भनिनेहरूले अचानक कार्तिकनाच निकाल्ने ऊर्जा कहाँबाट पाए त ?
आफ्नो अतीत सम्झेर रुने र हाँस्ने छूट गणतन्त्रमा मज्जाले पाइन्छ रे । निर्धक्कसँग नाचगान गर्न, नारा जुलुस गर्न पनि पाइन्छ रे । किनकि दुई–चार हजारको जुलुस निस्कँदैमा गणतन्त्र ढल्दैन रे । गणतन्त्र त महान् नेताहरूको कृपाले मात्रै ढल्छ रे । त्यसो भए त्यसैका लागि उनीहरूले प्रयास शुरू गरिसकेका हुन् त ? अब चैं क्यै होला जस्तो छ है !
सरकार असफल भयो भने जनताको अपेक्षा प्रतिपक्षसँग हुन्छ । तर प्रतिपक्ष नै टुहुरो भयो भने के हुन्छ ? हो, अहिले त्यै त भयो त । बिचरा प्रतिपक्षलाई नेतृत्व दिन सक्ने मान्छे नै पाएनछ देशले । त्यै भएर प्रतिपक्ष पनि जनताको दुःख–कष्टलाई उजागर गरी मलमपट्टी लगाउनतिर नलागी सत्तासँग भागबन्डामा रमाउन बाध्य भयो । वाइडबडीदेखि ओम्नीसम्मका भ्रष्टाचारमा उसले रमिते बनेर हेर्ने बाहेक के नै पो गर्न सक्यो र ? यी मुद्दा उठाएर जनतासमक्ष गए आफै समाप्त भइएला, अनि के गरोस् उसले पनि ?
संसद्मा प्रतिपक्षका एक दुईबाहेक अरूको बोली सुन्न पनि पाएनन् जनताले । नियन्त्रण र सन्तुलनको सिद्धान्तअनुसार काम गर्न बनाइएको संवैधानिक परिषद्मा जब प्रतिपक्षी नेता र संसद्को औचित्य नरहने अध्यादेश आयो, तबमात्र प्रतिपक्षको होश खुल्यो होला । हिजो ‘भाग शान्ति जय नेपाल’ भन्दै किनारामा मौन तमासे बने, अहिले होश खुलेर के गर्नु ?
अनि बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद्को पूर्ण कार्यकालअगाडि विघटनको अधिकार वर्तमान संविधानले दिएको छैन भनेर हुन्छ ? नयाँ जंगेले गरेपछि गर्यो गर्यो । अब यो उल्टाउने कस्को हैसियत छ, हेरौं त !
त्यै भएर त लोकतन्त्रको विकल्प लोकतन्त्र हुँदै होइन भनेको । हाम्रोमा संघीयता नै फाप्दैन क्या ! विकल्पमा राजतन्त्र वा कुनै अधिनायक खोज्नमा हामी नेपाली सधैं उत्सुक छँदै छौं । त्यै क्रममा त उनीहरू एउटाले अर्कालाई नांगै बनाउँदै हिँड्नुपर्ने बाध्यतामा परेका । तर के गर्नु ? जनताका अगाडि त सबै नांगै छन् । तैपनि यिनलाई लाज छैन ।
मुसा प्रवृत्तिका कतिपय नेता–कार्यकर्ताको दलीय छलाङ अझ कति चाखलाग्दोे छ । नीति, सिद्धान्त, पद्धति अनि विचार आदि कता गयो कता । हुन पनि जोगी बन्न राजनीति गरेको हो र ? अहिलेको युग भनेको पद, अवसर अनि निजी प्राप्तिका लागि हो । त्यसका लागि पर्यो भने निर्लज्जताका साथ रछ्यानमा लडीबुडी गर्न लामबद्ध थुप्रै छन् । त्यसैले भनेका रहेछन् राजनीति भनेकै लाजनीति हो भनेर ।
नेताहरूको यो प्रहसनमा जसले जिते पनि देशले हार्ने त निश्चितै छ । उनीहरूले इतिहासमा आफ्नो नाम खलपात्रमा सुरक्षित गरिसकेका छन् रे । यो के भनेको हो ? भ्रष्ट, सामन्ती संस्कार बोकेका अशिक्षित जनताका कारण सृजित दोषको भागीदार निर्दोष नेताहरूलाई बनाउन त मिल्दैन नि हो ।
अझ, मान्छेका प्रश्न पनि कस्ता कस्ता । निर्मला पन्तका हत्यारा को रे । तेत्तीस किलो सुनका अवैध कारोबारी अभियुक्त कता गए रे । सनम शाक्यको ज्यान कसले लियो रे ? यती समूहलाई यति धेरै विशेष अधिकार किन दिइयो रे । ओम्नी समूहको कारोबारको पारदर्शिता खोइ रे ? सेक्युरिटी प्रेस खरीदसम्बन्धी चलखेलमा ढाकछोप किन रे । ललिता निवास काण्डमा संलग्नहरूलाई पार्टी संरक्षण किन रे ? यस्ता यस्ता हावा प्रश्नहरू गर्छन् मान्छेहरू पनि । उत्तरै नआउने पनि कुनै प्रश्न हुन्छ ?
अरू जे जे भए पनि अहिलेलाई चैं तपाईंलाई शुभकामना छ है ‘ह्याप्पी न्यू इयर २०२१’ !
यी कुर्सिलिप्सा-ग्रस्त जोकरहरुको प्रहसनलाई 'राजनीति' नाम दिएर राजनीतिको बदनाम नगर्नुपर्ने हो । डकैती र भ्रष्टाचारको नाङ्गो नाच गर्व साथ प्रदर्शन गरिरहेका यी नौटङ्कीको हुलमा लाजनीति पनि त शुन्य रहेछ । बरु छलनीति र ढांटनीति भने यिनीहरुमा ठुसिठुसी भरिएको प्रष्ट देखियो - अहिलेसम्मको हाम्रो अनुभवमा ।