ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा नयाँ होटल खुल्ने क्रम बढ्दै

२०७७ पौष, २४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनमा अंग्रेजी नयाँ वर्षसँगै नयाँँ होटल खुल्ने क्रम बढ्दै गएको छ । कोरोना प्रभाव कम हुँदै जानु र आन्तरिक पर्यटकको गतिविधि सुरु भएसंँगै होटल, रिसोर्ट, रेस्टुराँ सञ्चालनमा ल्याइएका हुन् ।

नयाँ वर्ष अवसर पारेर भरतपुर, सौराहा, पटिहानीलगायतका क्षेत्रमा नयाँ होटल सञ्चालनमा आएका हुन् । कतिपय पर्यटन व्यवसायीले नयाँ व्यवस्थापन र पूर्वाधार निर्माण गरेर पनि सेवा  सुरु गरेका छन् ।

भरतपुर गार्डेन रिसोर्टका प्रबन्ध निर्देशक तेजप्रसाद घिमिरे नयाँ वर्षमै निर्माणको काम सकिएको र आन्तरिक पर्यटन एवं अन्य कार्यक्रमका गतिविधि सुरु भएकाले नयाँ वर्षबाट होटल सञ्चालनमा ल्याइएको बताउँछन् ।

‘होटल रेस्टुराँको फिनिसिङ पनि हालै भयो’, उनले भने, ‘विभिन्न संस्थाका कार्यक्रम, सेमिनारको बुकिङ पनि बढेको छ ।’ विस्तारै पर्यटन व्यवसायमा नयाँ आशा र उत्साह बढेकाले यसलाई चलायमान बनाउने अवसर नयाँ वर्ष नै भएको उनले बताए । यो रिसोर्ट गत दसैंमा सञ्चालनमा ल्याउने तयारी भए पनि निर्माण सामग्री  र जनशक्ति अभावमा रोकिएको थियो ।

यस्तै, भरतपुरमै रहेको भरतपुर टाउन रेजिडेन्सी होटल पनि यही अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आएको छ । ‘यो होटल  खोल्ने लक्ष्य गत नेपाली नयाँ वर्षअघिकै हो । प्राविधिक तथा आर्थिक कारणले अंग्रेजी नयाँ वर्षमा जुट्यो,’ होटलका अध्यक्ष भोजबहादुर खड्काले भने ।

बन्दाबन्दीका कारण होटल निर्माण सम्पन्न गर्न नसकिएकाले अहिलेबाट सुरु गर्नु परेको उनले बताए । भरतपुरमा मात्रै नयाँ वर्ष अवसर पारेर साना–ठूला गरी झन्डै आधा दर्जन होटल तथा रेस्टुराँ सञ्चालनमा ल्याइएका छन् ।

सौराहामा पनि नयाँ वर्षमा नयांँ होटल रेस्टुराँ खुल्ने र पुनर्निर्माण गरेर सञ्चालन गर्नेको संख्या बढ्दै गएको छ । कतिले आफ्नो व्यवसायको शाखासमेत विस्तार गरेका छन् ।
सन् २०१९ संसारकै लागि कष्ट वर्ष भए पनि २०२० सुरु भएसँगै उत्साहसहित नयाँँ व्यवसाय सञ्चालनमा ल्याइएको कतिपय व्यवसायीको भनाइ छ । अनुषाज रेस्ट्रोका सञ्चालिका तथा वुमेन चेम्बर, चितवनकी अध्यक्ष अनुषा पाठक नयाँ वर्षमा नयाँँ सोच र नयाँ व्यवस्थापनसहित शाखा विस्तार गरेको बताउँछिन् ।

‘बन्दाबन्दीअघि नै भरतपुर टेकअवे सिस्टमको, नवलपरासी शाश्वतधामको रेस्टुराँ एकै पटक सञ्चालन गर्ने योजना थियो । अब अहिले बल्ल सबै कुरा जुरेको छ’, उनले भनिन् । हाल पाठकले सौराहामा नयाँ वर्ष सुरुसँगै आफ्नो रेस्टुरेन्टको शाखा  सञ्चालनमा ल्याएकी छन् ।

सौराहामै रहेको अर्को होटल सफारी वाइल्ड लाइफ पनि नयाँ व्यवस्थापन र पुनर्संरचना निर्माण गरी नयाँ वर्षबाटै सञ्चालनमा आएको छ । ‘बन्दाबन्दीले गर्दा घुम्ने अनि खाने वातावरण नभएपछि  त्यो समय व्यवस्थापन र होटलको सेवा–सुविधालाई विस्तार गरेर उपयोग गरिएको हो’, होटलका प्रबन्ध निर्देशक विश्वेता क्षेत्री भन्छिन्, ‘जे काम सुरु गर्दा पनि नयाँ वर्ष नै रोजिन्छ । अहिले पर्यटक सिजन पनि हो ।’

नयाँ वर्षमा होटल, रिसोर्ट र रेस्टुराँ खोल्नु नयाँ विषय नभए पनि भ्रमण वर्ष २०२० लाई लक्षित गरी सञ्चालनमा आउन लागेका होटलहरू कोरोना प्रभाव कम भएपछि नयाँ वर्ष अवसरमा सञ्चालनमा ल्याइएका हुन् ।

पर्यटनविज्ञ डा. विश्व सुवेदी नयाँ वर्षमा आन्तरिक पर्यटकको चहलपहल बढ्ने भएकाले पनि नयाँँ होटल तथा पुराना होटल सञ्चालनमा आएको बताउँछन् । ‘यो बेला नयाँ वर्षमा घुमौं, खाऔं । रमाइलो गरौं भन्ने सबैको इच्छा हुन्छ । नयाँ वर्षबाट सञ्चालनमा ल्याउँदा व्यवसायीलाई सकारात्मक सोच पनि उत्पन्न गराउँछ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)