दुनियाँमा सबैभन्दा ठूलो कुनै सुख छ भने त्यो हो मूर्खजस्तो बनिरहनु । तपाईं मान्नुस् या नमान्नुस् मूर्ख काम गर्नु र मूर्ख देखिनुुमा जुन अद्भूत सुख छ, त्यो संसारको कुनै पनि कुरामा छैन । मूर्ख बन्नु होइन तर मूर्ख जस्तो देखिइरहन सक्नुमा हजारौं फाइदा छन् । लौ हेर्नुस् उदाहरण ।
देशमा चरम महँगी छ, भ्रष्टाचार छ, जताततै अस्तव्यस्त छ । तर सरकार मूर्खजस्तो बनेर बसिरहेको छ । ऊ मूर्खजस्तो देखिएको मात्र हो । भित्रभित्रै त ऊ धेरै बाठो छ, कागभन्दा पनि चंख । त्यसैले सरकारले त महँगी, भ्रष्टाचार, अपराध सबै नियन्त्रणमा छन् भन्छ । तर भित्रभित्रै ऊ तिनैलाई आमन्त्रण गरिरहेको हुन्छ । किनकि यी कुराहरू हुँदा मात्र सरकारमा बस्नेहरूलाई फाइदा हुन्छ ।
देशभित्र नहुनुपर्ने थुप्रै काम कुरा भैरहेका छन् । तर सरकारी अधिकारीहरूलाई यी कसरी र किन भैरहेका छन् थाहा छैन र यी कसरी जान्छन् भन्ने पनि थाहा छैन । जस्तै : दक्षिणी छिमेकीले सीमा मिचेको मिच्यै छ, महाकाली लगायत नदीमा नेपालीलाई असर पर्नेगरी तटबन्ध बाँधेको बाँध्यै छ । तर सरकार थाहा छैन जस्तो गर्छ । के सरकारलाई यी सबै कुरा थाहा छैन र ? पक्कै थाहा छ । तर उसले थाहा पाएजस्तो गर्दैन । किनकि थाहा पाएको छु भन्यो भने त त्यसलाई रोक्नुपर्यो । प्रत्येक अन्याय, अत्याचार, भ्रष्टाचारबारे जवाफ दिनुपर्यो, हरेक बेथितिका बारेमा हिसाब किताब दिनुपर्यो । त्यसैले थाहा नपाएजस्तो गरेर मूर्ख बनिरहनुमै कल्याण छ ।
देशमा चरम महँगी छ, भ्रष्टाचार छ, जताततै अस्तव्यस्त छ । तर सरकार मूर्खजस्तो बनेर बसिरहेको छ । ऊ मूर्खजस्तो देखिएको मात्र हो । भित्रभित्रै त ऊ धेरै बाठो छ, कागभन्दा पनि चंख ।
सार्वजनिक संस्थानहरू लथालिंग छन् । त्यहाँभित्र दलका कार्यकर्ताहरू भर्ना गरेर संस्थानको जग्गा बेच्दै तलब खाने गरिएको छ । थुप्रै नियमनकारी संस्थाहरूलाई पंगु बनाइएको छ । यसले भ्रष्टाचारको अनवरत सिलसिला चलिरहेको छ । सरकारी निकायहरू अन्तरराष्ट्रिय दातृ निकायका शाखा कार्यालयजस्ता बनेका छन् । औषधि उपचार नपाएर, दुई छाक खान नपाएर छट्पटाउनेहरू, मर्नेहरू थुप्रै भइसके ।
मातहत मन्त्रालयहरूका हैसियत, डेलिभरी क्षमता, संस्थागत परिचालन भन्ने के हो सरकार मुकदर्शक छ । एकाधिकार पाएका निजी संस्था र कम्पनीहरूले जनता लुटिरहेका छन् । तर सरकार आँखा चिम्लिएर मजासँग सुतिरहेको छ । किनकि प्राप्त लाभांशमा भागीदारी हुन सक्छ । सम्बन्धितहरू यो सबै अनदेखा–अनसुना गरिरहेका छन् । किनकि थाहा नपाएजस्तो गर्नुमै आनन्द छ नि त ।
आज सबैलाई थाहा छ देश यतिबेला दानदातव्य र आन्तरिक तथा बाह्य ऋण लिएर चलिरहेको छ । एक प्रकारले देश आर्थिक रूपमा टाट पल्टेको घोषणा गर्नुपर्ने स्थितिमा पुगिसकेको छ । अब कुनै पनि बेला आम भोकमरी र अकालले व्यापकता नपाउला भन्न सकिन्न । तर हाम्रा शासक जनतालाई जोक सुनाउँदै हिँडिरहेका छन् । किनकि समस्याहरू थाहा नभएजस्तो गर्नुको मजा बेग्लै हुन्छ, जसरी पीर व्यथाबाट केही समय भए पनि भाग्न मानिसहरू मदिरा पिएर आनन्द लिन खोज्छन् ।
प्रतिनिधिसभा भंग गरियो । त्यसले गर्दा विकास निर्माण सम्बन्धी दर्जनौं विधेयक रोकिए । एकजना मन्त्रीलाई मैले सोधेँ, ‘समय छँदै किन पास भएनन् विकासका यति धेरै विधेयक ?’
मन्त्रीजीले भने, ‘खै मलाई त थाहा भएन ।’ ...लौ मस्त रहनुस्...।
उपप्रधानमन्त्री समेत रहेका अर्को पावरफुल नेतालाई सोधेँ, ‘प्रतिनिधिसभा विघटन भएपछिको अवस्थामा भएको सरकार काम चलाउ सरकार मात्र भयो हैन र ? काम चलाउ सरकारले गर्न नहुने कामहरू किन गरिरहेको ?’
उनले भने, ‘खै थाहा छैन ।’ ...लौ बनिरहनुस् मूर्ख !
जथाभावी बोलेको आरोपमा प्रहरीले बेलाबेलामा कतिजनालाई गिरफ्तार गरेर थुन्ने गरेको छ । प्रहरीका एक उच्च अधिकृतलाई सोधेँ, ‘...तर अरूलाई होच्याउने, आफ्नै सहयात्रीहरूलाई जथाभावी गाली गर्ने, प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने, अनि आफूलाई अझै देशको शक्तिशाली सर्वेसर्वा अर्थात् प्रमुख कार्यकारी भन्दै हिँड्नेलाई चैं पक्राउ गर्नु पर्दैन ?’
उनले भने, ‘खै थाहा छैन, माथिबाट आदेश पनि छैन ।’
‘देशभित्र खासगरी शहरमा वातावरण प्रदूषण अति नै धेरै भैसक्यो । विश्वमै सबैभन्दा खराब प्रदूषण भयो, यो कम गर्न के योजना छ ?’ वातावरण मन्त्रीलाई मैले सोधेँ ।
मन्त्रीजीले भने, ‘म भर्खर आएको छु । यसबारे मलाई क्यै थाहा छैन ।’ वाह ! क्या जागीर र क्या उत्तर !
प्रतिनिधिसभा विघटनको समर्थन र विरोधमा जुलुसमा हिँडेकाहरूलाई सोधेँ ? के हुनुपर्थ्यो त ? उनीहरूले भने, ‘थाहा छैन ।’ थाहा नभए किन सडकमा उफ्रिहिँडेको त ? उनीहरूले भने, ‘त्यो पनि थाहा छैन । नेताहरूले हिँड भने अनि हिँडियो’ रे । लौ हेर्नुस् त, साँच्चै मूर्ख बन्नुको मजा !
वास्तवमा मूर्खतामै असली आनन्द छ क्या ! संसारका सबै दुःख र समस्याबाट मुक्ति पाउन सबैभन्दा सजिलो तरीका नै यै हो । ‘मूर्ख बनिरहु, प्रत्येक प्रश्नका एउटै जवाफ देऊ कि ‘मलाई थाहा छैन ।’ थुप्रै अपराधीहरूले यही वाक्य सयौंपल्ट दोहोर्याएर दोषी प्रमाणित हुने सम्भावनाबाट छुटकारा पाउने गर्छन् । तपाईंलाई लाग्ला यो त सबैभन्दा मूर्खतापूर्ण जवाफ हो भनेर । तर प्रायः अवसरमा योजस्तो बुद्धिमानीपूर्ण जवाफ अरू हुनै सक्तैन । र तपाईंलाई आउन सक्ने थुप्रै समस्याबाट यो उत्तरले नै बचाउँछ ।
त्यसैले जब जीवनमा तपाईं कुनै अप्ठ्यारोमा पर्नुहुन्छ, तब जे जे भंग गर्नुपर्छ गर्नुस्, जे जे बिगार्नुपर्छ बिगार्नुस् र चुपचाप मूर्ख बन्नुस् र सर्वबाधाहारी यो सुनौलो मन्त्र दोहोर्याउनुस् ‘मलाई थाहा छैन ।’ त्यसपछि तपाईंलाई कसैले केही गर्न सक्तैन । तपाईं सधैं सुखी भइरहन सक्नुहुन्छ । त्यसैले यो मूर्ख बन्ने मुलुककै महाअभियानमा सहभागी बनौं, देखावटी भए पनि मूर्ख बनौं र सुखी बनौं ।