नेता भनेको त्यो हो, जसले नेतृत्व गर्न सक्छ, समाजलाई सही दिशामा डोर्याउन सक्छ । यो पुरानो परिभाषा हो । अहिलेको हाम्रो परिभाषा भने नेता भनेको त्यो हो, जसले लाभका क्षेत्रका दह्रो पारेर आफ्नो मुठ्ठी उचाल्न सक्छ । जसले काम कुरो जेसुकै भए तापनि भाषणबाजी, अन्तरवार्तामा भने राष्ट्रवाद पढाएर जनतालाई जुरुक्क जुरुक्क उचाल्न सक्छ ।
आज स्थिति यो छ कि नेतालाई देख्नासाथ जनता आफ्ना जुत्ता समाउन पुग्छन् । किनकि उनीहरूलाई यो डर छ कि कतै नेताजीले उनीहरूको जुत्ताबाट पनि ‘ता’ नखोसुन् भनेर ।
वास्तवमा नेता जम्मा दुईटा अक्षरले त बनेको छ– ‘ने’ र ‘ता’ । यसमा एउटा अक्षर मात्र कम भयो भने पनि कोही नेता बन्न सक्क्तैन । तर हाम्रो देशमा भने बारम्बार अजीव दुर्घटनाहरू भइरहन्छन् । नेताहरू एकदमै भागदौड, नारा, जुलुस आदिमा कुदिरहन्छन् । दिन बालुवाटारमा, रात महाराजगञ्जमा । लञ्च दक्षिणका छिमेकीसँग, डिनर उत्तरकासँग । ब्रेकफास्टको त ठेगानै हुन्न को–कोसँग । कहिले ब्रिफकेसवालासँग त कहिले अर्थोकैवालासँग । समय, काम, ठामको ठेगानै नहुने । मतलब एकदमै व्यस्त मात्र हैन अस्तव्यस्त । आफ्नै लागि समय छैन । परिवारका लागि पनि समय छैन । कार्यकर्ता र जनताका लागि समय कहाँबाट ल्याउने ? यसरी अस्तव्यस्तताले गर्दा बेलाबेलामा नेताजीको ‘ता’ हराउने गरेको छ ।
‘ता’ माने तागत । ‘ता’ माने तार्किकता । ‘ता’ माने तालमेल (बोलाइ र गराइको) । ता माने सक्रियता । ता माने तत्परता । यति ठूला नेताहरूका ‘ता’ गायब भएपछि परेन फसाद ! बेलाबेलामा कार्यकर्ताहरूले नेताजीहरूलाई ‘तपाईंको ता खुस्केको छ है’ भनेर सम्झाउँदा पनि रहेछन् । तर के गर्नु ? अति व्यस्त भएपछि कि अस्तव्यस्त, कि त भाषणमै मस्त । ता कता गयो खोज्न नेतालाई फुर्सद छैन, यता उता लाग्नेखालका कार्यकर्तालाई त ता किन पो चाहियो र ? अनि ‘ने’बाट मात्र काम चलाउँदै हिँड्नुपर्ने बाध्यतामा छन् नेताहरू ।
बिचरा नेताहरू पनि हैरान छन् । अब ‘ता’सँग तागत गयो, केवल रह्यो ‘ने’ अर्थात् नेतृत्व । ‘ता’सँगै तालीहरू पनि बिलाए, जो ‘ता’कै कारण बज्ने गर्थे । विगतमा लगाइरहेको ताज पनि रहेन, ताजापन पनि रहेन । अनि हावाजस्तो जता पनि ढल्कने, जति पनि मिल्किने, जता पनि सल्कने नेता बन्नु परेको छ ।
एक ठूलै नेताजीलाई त पर्नु पीर परेको छ अहिले । किनकि उनलाई लागिरहेको छ कि उनको ‘ता’ हराउनुमा सबै हर्कत विदेशीसँग मिलेर आफ्नै दलभित्रका विरोधी खेमाले गरेको हो । उनी बारम्बार भनिरहेका छन् ‘यो मेरो देशभक्त छवि धुमिल्याउन गरिएको प्रपञ्च हो ।’
तर मानिसहरू प्रश्न गर्छन् कि जुन नेताका ‘ता’ खुस्केको छ, उनलाई कसले सुन्छ अब ? तर मान्नुस् या नमान्नुस्, ‘ता’ मात्र किन ? दिमागको तार नै खुस्के पनि त्यस्ता नेतालाई सुनिरहने जमात पनि अझै ठूलै छ देशमा । त्यो जमात अहिले पनि नेताजीको खुस्केको त्यो ‘ता’को खोजीमा दिनदिनै राष्ट्रिय झण्डा लिएर गल्लीगल्लीमा नारा जुलुस गर्दै हिँडिरहेको छ । तर अहिलेसम्म ‘ता’ भेटिएको खबर कतैबाट पनि आएको छैन । भेटियोस् पनि कसरी ? किनकि, नेताजीको ता बेचेर खाइसकेको हुन पनि बेर छैन ।
‘ता’ हराएको चोटमा नेताजी बेलाबेलामा झस्किरहन्छन् । नेताजीको ‘ता’ हराएकोमा विरोधीहरूले त जोक गरिनै रहेका छन् । अखवारहरूले पनि नेताजीको ‘ता’ हराएको सूचना छापेको छाप्यै छन् । अझ ‘ने’ पनि गयो भने त नेताजीसँगै देशमा के के अनिष्ट हुने हो भनेर जनता त्राहिमाम् बनेका छन् ।
नेताजीका आफ्नै कार्यकर्तालाई पनि ‘बादशाहको नयाँ लुगा’ कथाका जनतालाई जस्तै आपत् परेको छ । नेताजीको ‘ता’ त गयो, अब ‘ने’ पनि गयो भने कसरी साथ दिन सकिन्छ र भनौं भने नेताजीको कोपभाजनमा परिन्छ भन्ने डर, नभनौं समस्या बल्झिँदो छ । तर विशेष सूत्रबाट थाहा भए अनुसार नेताजीले एक जुक्ति निकालेछन् र आफ्नै जुत्ताको ‘ता’ निकालेर ‘ने’मा टाँसेर फेरि नेता बनेका छन् रे । यद्यपि उनको व्यक्तित्वबाट सबैले थाहा पाउनेगरी दुर्गन्ध आइरहेको छ ।
तर नेताजी अहिले खुशी नै छन् । किनकि कमसेकम उनको ‘ने’मा अहिले ‘ता’ पनि छ । छिमकीको आशीर्वाद छँदै नै छ । कार्यकर्ताहरूले पनि समर्थन गरिरहेका छन् । किनकि आफ्नो खण्डित पार्टीले जे भए पनि नेता त पाएको छ । अहिले नेता परिवर्तन गर्ने परिस्थिति पनि छैन । तर त्यो ‘सुपरग्लु’ले जोडेको ता कतिन्जेलसम्म नेसँग बस्ने हो, न नेताजीलाई थाहा छ न त्यो ग्लु जोड्नेलाई नै । ग्लु पनि कतै डेट एक्स्पायर वा नक्कली पो हो कि ?
तर समस्या अहिले योे भयो कि नेताको ओरिजिनल ता हराएको कुरा धेरै जनताले थाहा पाइइसकेका छन् । त्यसैले आज स्थिति यो छ कि नेतालाई देख्नासाथ जनता आफ्ना जुत्ता समाउन पुग्छन् । किनकि उनीहरूलाई यो डर छ कि कतै नेताजीले उनीहरूको जुत्ताबाट पनि ‘ता’ नखोसुन् भनेर ।
मलाई पक्का विश्वास यो छ कि जब कुनै पनि समय देशमा संकट आउँछ र नेताको ‘ता’ हराउँछ, तब जनताहरू आफ्नो जुत्ता हातहातमा लिएर लोकतन्त्र बचाउन आआफ्नो ठाउँबाट योगदान दिन पक्कै अघि बढ्नेछन् । जनताले ओरिजिनल ता खोजेको दिन नक्कली नेताको ने र ता दुवै एकैचोटि खुस्कनेछन् ।