ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सौराहाका  पर्यटन व्यवसायीद्वारा सिटी सेन्टर निर्माण शुरू 

२०७७ माघ, २  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

माघ २, चितवन । रत्ननगर नगरपालिका वडा नम्बर १ स्थित टाँडी बजार नजिकै सुविधासम्पन्न सिटी सेन्टर निर्माण शुरू गरिएको छ । बिहीवार एक कार्यक्रमका बीच नगरपालिकाका प्रमुख नारायण वनले सिटी सेन्टरको शिलान्यास गरे । 

सौराहाका ४ जना पर्यटन व्यवसायीले  सौराहा भेञ्चर नामको कम्पनी दर्ता गरी सिटी सेन्टरको निर्माण थालनी गरेका हुन् । करीब सम्पूर्ण निर्माण सम्पन्न हुन २ वर्ष लाग्ने उक्त सिटी सेन्टर सम्पन्न हुन १५ करोड लगानी लाग्ने अनुमान गरिएको छ । साढे ९ कट्टा क्षेत्रफल रहेको उक्त सिटी सेन्टरमा  सुविधा सम्पन्न तीन तले सुपरमार्केटको मोडलको रूपमा विकास गरिनेछ । व्यवसायीका अनुसार पहिलो दोस्रो तल्लामा खाद्यान्न र दैनिक उपभोग्य वस्तु, दोस्रो तल्लामा कपडा तथा फेसन वेयर, दुईओटा थिएटरसहितको मल्टिप्लेक्स र तेस्रो तलामा रुफटप रेष्टुरेण्ट सहितका संरचना बन्नेछन् ।  

पर्यटन सिजनल व्यवसाय भएकाले र उत्तारचढाव आइरहेका कारण आफूहरूले अन्य क्षेत्रमा हात हाल्नुपरेको व्यवसायीको भनाइ छ । क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष एवं सिटी सेन्टरका लगानीकर्ता सुमन घिमिरे पर्यटन व्यवसायमा आएको अस्थिरताका कारण सिटी सेन्टरमा लगानी गर्न शुरू गरिएको बताउँछन् । ‘पर्यटन व्यवसाय सिजनेबल व्यवसाय पनि भयो,’ उनले भने, ‘व्यवसाय विस्तार गर्ने हेतुले पनि सिटी सेन्टरको अवधारणा आयो ।’ उनका अनुसार सौराहा नजिक यस प्रकारको व्यवसाय नभएकोले पनि सिटी सेन्टरको आवश्यकता महसुस गरिएको हो ।

स्थानीय तथा सौराहाका वयवसायीलाई पनि लक्षित गर्दै सबै सामान एकै ठाउँमा उपलब्ध होस् भन्ने उद्देश्यले सिटी सेण्टर निर्माण गर्न लागिएको घिमिरेले बताए । 
सौराहा भेन्चरमा क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे, पूर्व अध्यक्ष नारायण भट्टराई, रेस्टुरेस्ट एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेबान)का अध्यक्ष दीपेन्द्र खतिवडा र ज्ञानेन्द्रकुमार विष्ट लगानीकर्ता रहेका छन् । अन्य व्यवसायीलाई समेत यस व्यवसायमा जोड्दै लगिने घिमिरेको भनाइ छ । 

पर्यटन व्यवसाय खाद्यवस्तु तथा अन्य उपभोग्य वस्तुसँग सम्बन्ध राख्ने भएकाले पनि सिटी सेन्टर निर्माण गर्न लागिएको हो । व्यवसायलाई विस्तार र विविधीकरण गर्न र आफूलाई चाहिने सामान आफ्नै सिटी सेन्टरबाट खरीद गर्न सकियोस् भन्ने हेतुले यो अवधारणा ल्याइएको रेबानका अध्यक्ष एवं अर्का लगानीकर्ता दीपेन्द्र खतिवडाले बताए । खतिवडाका अनुसार आफ्नै सिटी सेन्टरबाट सामान खरीद गर्दा सस्तोमा पनि पाइने र खर्च पनि कम हुने भएकोले सिटी सेन्टरको आवश्यकता परेको हो ।

‘अब सिंगल बिजनेस भन्दा ग्रुप बिजनेश बढी फलदायी हुन्छ,’ उनले भने, ‘अबको समय उत्पादनकर्तादेखि विक्रीकर्तासम्म आफै हुनुपर्ने बेला हो ।’ सिटी सेन्टर निर्माणसंँगै शहरको स्वरुपमा परिवर्तन हुने, चहलपहल बढ्नुका साथै रोजगारीमा केही भए पनि वृद्धि हुन सक्ने अपेक्षा व्यवसायीको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)