संसारमा एउटा यस्तो अचम्मको देश छ, जहाँ पूर्ण स्वतन्त्रता छ । त्यहाँ सबै मानिसले पूर्णरूपमा सबै किसिमका स्वतन्त्रता उपभोग गर्न पाएका छन् । यहाँसम्म कि हरेक संस्था, संगठन, एकाइहरू पनि पूर्ण स्वतन्त्र छन् अर्थात् जसलाई जे मनमा आउँछ त्यै बक्न, त्यै गर्न पाउँछन् । जसलाई जहाँ, जुन रूपले बहकिन मन लाग्छ, बहकिन पाइन्छ । यस प्रकारले मानव भएर जन्म लिएपछि जसरी जुन रूपको स्वतन्त्रताको परिकल्पना पहिलेका ठूला विद्वान् र अझ ऋषिमुनिहरूले गरेका थिए, त्यो सबैका सबै त्यै देशमा देख्न र सुन्न पाइन्छ ।
एउटा विशिष्टता छ त्यस देशमा । कुनै कुरा भयो वा कुनै प्रसंग उठ्यो भने त्यहाँ तुरुन्त बैठक बस्छ, आयोग बन्छ, प्रतिवेदन बन्छन् र दराजमा थन्किन्छन् ।
हो, त्यो देशमा जसलाई मनमा जे लाग्छ, त्यो सबै थोक गर्न पाइन्छ । कसैलाई लुट्न मन लागे लुट्न पाइन्छ । कसैलाई कुट्न मन लागे कुट्न पाइन्छ । कसैलाई मार्न मन लागे मार्न पाइन्छ र सगौरव मैले यति मारेँ भनेर खुलामञ्चमा घोषणै गर्न पाइन्छ । संसद् जान मन नलागे संसदै विघटन गर्न पनि पाइन्छ । कुनै कुरामा विवाद बढ्यो भने अनिश्चितकालका लागि बैठकै स्थगित गर्न पनि पाइन्छ । यी सब कुरा व्यक्तिगत इच्छा र रुचिमा निर्भर छन् त्यहाँ । अर्को एउटा राम्रो कुरा त्यहाँ यो छ कि त्यहाँको समस्त शासकीय व्यवस्था पनि पूर्णरूपमा स्वतन्त्रताको भावनाले नै ओतप्रोत छ । अधिकारीहरू स्वतन्त्र । कर्मचारी स्वतन्त्र । हरेक हिसाबले स्वतन्त्र । इच्छा लाग्यो काम गर्यो, लागेन चुप लागेर घाम ताप्न, चिया पिउन हिँडे भो । इच्छा लागे फाइल राखे भो, नलागे उठाएर फ्याँकिदिए भो । त्यसैले एउटाले टालटुल गर्छ । एकैछिनमा अर्को आएर भत्काएर जान्छ । एउटालाई टाल्नमा फाइदा छ, अर्कोलाई भत्काउन । मन भयो भने देशका कुरा गर्यो । कुरै गर्ने त हो नि । विकास र निकासका पनि कुरा गर्यो । मन भएन भने विदेशका डिभी भर्यो ।
जे पनि गर्न पाइने भनेपछि नियम कानून नभएको वा नियम कानून लागू गराउने निकाय नभएको देश भन्नु होला । तर होइन, त्यहाँ नियम कानून पनि छन् । नियम कानून लागू गराउने निकाय पनि छन् । तर, ती कहिले लागू हुन्छन्, कहिले लागू हुँदैनन् । त्यो हाकिमहरूको मुडमा निर्भर गर्छ । किनभने लागू गराउने निकाय पनि आफ्नै इच्छामा स्वतन्त्र चल्छन् नि त । जस्तै, सडकमा थुक्न पाइन्न, गाडीबाट बाहिर फोहोर फाल्न पाइन्न । यी सबै नियम छन् । तर तपाईं ढुक्कले थुक्न सक्नुहुन्छ, फोहोर फाल्न सक्नुहुन्छ । सडक पार गर्न जेब्रा क्रसिङ छ, अकाशे पुल छ । तर यी सबै नियम कसैले पालना गर्नुपर्दैन । किनकि त्यहाँ सबै स्वतन्त्र जो छन् ।
त्यहाँ भ्रष्टाचार गर्ने अनि आफू सदाचारी भएको डम्फु बजाउन पनि पाइन्छ । आफूबाहेक अरू सबै भ्रष्टाचारी भनेर मजाले फलाक्न नि पाइन्छ । तर टन्न भ्रष्टाचार गर्नेलाई चैं चोखो करार गर्न पाइन्छ । एउटा अद्भूत अतुलनीय देश । उसको मूल नारा नै ‘सुखी जनता र समृद्ध देश’ भन्ने छ । त्यहाँ सबैलाई आफ्नो अधिकार राम्रोसँग थाहा छ । थाहा छैन त केवल आफ्ना कर्तव्य । त्यहाँ कुराको फसल ज्यादा फल्छ । त्यहाँ धान उमार्ने, सामानहरू उत्पादन गर्ने उद्योग भन्दा ज्यान मार्ने उद्योग बढी चल्छ ।
तर त्यस देशमा एउटा कुरा खास छ । त्यहाँ प्रत्येक व्यक्ति आफैमा त खुशी छ, तर बाँकी सबै सबैसँग बेखुशी । नेता कर्मचारीसँग, कर्मचारी आफूभन्दा तल्ला कर्मचारीसँग र तल्ला कर्मचारी जनतासँग, जनता नेतासँग, मिडिया यी सबैसँग र यी सबै फेरि मिडियासँग बेखुशी छन् । अर्को एउटा विशिष्टता छ त्यस देशमा । कुनै कुरा भयो वा कुनै प्रसंग उठ्यो भने त्यहाँ तुरुन्त बैठक बस्छ, आयोग बन्छ, प्रतिवेदन बन्छन् र दराजमा थन्किन्छन् । त्यहाँका जति विद्वान् जनता विश्वमा शायदै कुनै मुलुकमा पाइएलान् । हरेक विषयमा उनीहरूले विद्यावारिधि गरेको प्रतीत हुन्छ । राजनीति शास्त्रमा त उनीहरूको ज्ञानसागरको तुलना कुनै देशका जनतासँग पनि हुनै सक्तैन । प्रत्येक जनताको अर्थात् देशको धेरै ऊर्जा बहस, छलफल, संवाद, वादविवाद, राजनीतिक चर्चा परिचर्चामै सकिन्छ । चिया पसल, चौतारादेखि अफिस अफिसमा राजनीति र नेताका गुण अवगुण, गुट उपगुटका कुराका बहसले चौबीसै घण्टा देश गुञ्जायमान भइरहन्छ । अदालतमा हुने बहसको त यहाँ चर्चा गरिरहनै परेन ।
त्यहाँ सबै कुरा स्थिर छन् । अस्थिर भनेको नीति र राजनीति मात्र हो । त्यसैले नीति अस्थिर भए पनि कुर्सी स्थिर हुनै पर्यो । कुर्सी स्थिर बनाउनमै त्यहाँ सबै दिनरात मेहनत गरिरहन्छन् । साँच्चै मेहनती पो छन् त त्यस देशका मानिसहरू । गज्जबको देश बनाएका छन् उनीहरूले अद्वितीय, अनुपम । त्यहाँ सबै स्वतन्त्र । सबै थोक गर्न पाइने । नभएको वा नपाउने भनेको केवल काम गरी खान मात्र हो । किनकि त्यहाँ राजनीतिबाहेक गर्नुपर्ने खासै काम पनि छैन र काम गरिरहनुपर्ने आवश्यकता पनि कसैले देख्दैन । त्यहाँ कसैले कुनै कुराको अभाव महसूस पनि गरिरहेका छैनन् । अर्थात् त्यहाँ कुनै कुराको अभाव छैन । अभाव त्यहाँ छ त केवल विचारको र आधारभूत कुराहरूको मात्र । बिजुली, पानी, स्वास्थ्य, राम्रो शिक्षा, मूल्य मान्यता, संस्कार, पूर्वाधार आदि । कहिल्यै नथाकेका, नहारेका, सुकिला–मुकिला, हँसिला छन् त्यहाँका जनता ।
ल भन्नुस् त त्यो कुन देश हो ?