ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यातायात व्यवस्था सेवा कार्यालय चितवनको राजस्वमा साढे २७ प्रतिशत वृद्धि

२०७७ माघ, १०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

माघ १०, चितवन । यातायात व्यवस्था सेवा कार्यालय, चितवनको राजस्व संकलनमा साढे २७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पुष महिनासम्मको तुलनामा चालु आर्थिक वर्ष सोही अवधिमा कार्यालयको राजस्व २७ दशमलव ४७ प्रतिशतले बढेको हो । 

कार्यालयका अनुसार गत वर्षको पुष मसान्तमा कार्यालयले २६ करोड ७२ लाख ११ हजार ७ सय ६९ रुपैयाँ राजस्व संकलन गरेको थियो भने चालू आर्थिक वर्षको पुष मसान्तसम्म ३४ करोड ६ लाख २७ हजार ४सय ३६ रुपैयाँ राजस्व संकलन भएको छ । 

कार्यालयका प्रमुख सुवास उप्रेतीले सवारीको संख्या र राजस्वको दर केही मात्रमा बढेकोले पनि राजस्व गतवर्षको तुलनामा वृद्धि भएको बताए । ‘वर्षेनि सवारीको संख्या पनि पनि बढेको छ,’ उनले भने, ‘वाग्मती सरकारले सवारी साधनले राजस्व दरमा  केही वृद्धि पनि गरेको छ ।’

कतिपय सवारीसाधन धनीले समयमै राजस्व नबुझाएका कारण जरीवाना बाट पनि राजस्व संकलनमा वृद्धि हुने उनको भनाइ छ ।

सबैभन्दा बढी राजस्व संकलन असोजमा 

चालू आर्थिक वर्षको पुष मसान्तसम्ममा कार्यालयले सबैभन्दा बढी राजस्व असोजमा (७ करोड १३ लाख ३९ हजार ४ सय ९२ रुपैयाँ) संकलन गरेको छ । यस्तै भदौमा सबैभन्दा कम २ करोड २४ लाख ४ हजार ७७ रुपैयाँ संकलन गरेको छ । कोभिडका कारण गरिएको निषेधाज्ञाका कारण भदौमा सबैभन्दा कम र असोजबाट बन्दाबन्दी खुकुलो हुँदै गएपछि कम र बढी राजस्व संकलन भएको उप्रेतीले बताए । 

यसैगरी कार्यालयले साउनमा ६ करोड १७ लाख २४ हजार ७१६, कात्तिकमा ५ करोड ९८ लाख ३३ हजार ५९३, मंसिरमा ६ करोड ३१ लाख २० हजार ८९० र पुसमा ६ करोड २२ लाख ४ हजार ६६८ राजस्व संकलन गरेको छ । गत आवको असार मसान्तसम्म कार्यालयले ४६ करोड ५३ लाख ६९ हजार २०६ रुपैयांँ राजस्व संकलन गरेको थियो । 

कार्यालयले चालू आर्थिक वर्षमा ५५ करोड रुपैयाँ राजस्व संकलन हुने प्रक्षेपण गरेको छ । कार्यालयमा यातायात क्षेत्रको आम्दानी, सवारीसाधन कर, सवारी दस्तुर र प्रशासनिक दण्ड जरीवानाबाट राजस्व संकलन हुने गर्दछ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)