ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राजस्व असुली लक्ष्यभन्दा १५ प्रतिशत बढी

२०७७ माघ, १५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । आर्थिक वर्ष ०७७/७८ को पुस महिनामा आन्तरिक राजस्व कार्यालय भरतपुरको राजस्व असुली लक्ष्यभन्दा १५ प्रतिशत बढी असुली भएको छ । कार्यालयका अनुसार विभागले दिएको लक्ष्यभन्दा १४ दशमलव ८५ प्रतिशत बढी कर असुली भएको हो ।

विभागले पुस महिनाका लागि सबै शीर्षक गरी ८५ करोड ३ लाख ११ हजार लक्ष्य दिएकामा १ अर्ब ४९ करोड २४ लाख २६ हजार रुपैयाँँ असुली गरेको थियो ।

कार्यालयका अनुसार सबैभन्दा बढी अन्तशुल्क शीर्षकमा ८५ करोड ५९ लाख ७६ हजार रुपैयांँ असुली गरेको छ भने सबैभन्दा कम स्वास्थ्य सेवा शीर्षकबाट ८ हजार रुपैयाँ कर असुली भएको छ ।

यसैगरी कार्यालयलाई आयकर शीर्षकमा ४३ करोड ४८ लाख ६१ हजार लक्ष्य दिइएकामा ४३ करोड ५६ लाख ५७ हजार कर असुली गरेको छ । मूल्य अभिवृद्धि करमा १२ करोड ९६ लाख ४ हजार लक्ष्य दिइएकामा १७ करोड २५ लाख ४५ हजार रुपैयाँ र ब्याज करमा ३६ लाख ५३ हजार लक्ष्य दिइएकामा १ करोड ५५ लाख ४१ हजार रुपैयाँ असुली गरेको छ ।

उल्लिखित शीर्षकमा लक्ष्यअनुसार कर असुली बढी भए पनि अन्य बाँकी शीर्षकमा लक्ष्यअनुसार कर असुली हुन सकेको छैन ।

कार्यालयका सूचना अधिकृत कपलिराज नेपालका अनुसार अन्य शीर्षकमा लक्ष्यभन्दा बढी कर असुल गरिए पनि बहाल कर, शिक्षा सेवा र स्वास्थ्य सेवा करमा लक्ष्यअनुसार कर असुली भएन ।

उनका अनुसार बहाल कर शीर्षकमा १ करोड ६६ लाख १३ हजार रुपैयाँ लक्ष्य दिएकामा कार्यालयले १ करोड २५ लाख ५० हजार रुपैयाँ असुली गरेको छ । यस्तै, शिक्षा सेवा शीर्षकमा २ लाख ८८ हजार लक्ष्य दिएकामा १ लाख ४९ हजार रुपैयाँ र स्वास्थ्य सेवामा १४ लाख ५१ हजार रुपैयाँ लक्ष्य दिइएकामा ८ हजार रुपैयाँ मात्र कर असुली भएको छ ।

आन्तरिक राजस्व कार्यालयमा संस्थागत बहाल कर मात्र असुली हुने र अन्य व्यक्तिगत बहाल कर स्थानीय सरकारले लिने भएकाले लक्ष्यअनुसार कर संकलन नभएको नेपालले  बताए ।

यस्तै, गत आवबाट शिक्षा सेवा र स्वास्थ्य सेवा कर शीर्षक कार्यालयको मातहतबाट हटाइएका कारण अघिल्ला वर्षको बक्यौता कर मात्र संकलन भएको हो ।

‘वार्षिक कर असुली लक्ष्य  भेट्याउन सकिन्छ’
कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा झन्डै ८८ प्रतिशत कर असुल्न सकिएकाले आव अन्तिम महिनासम्म लक्ष्यअनुसारको कर असुल्न सकिने बताएको छ ।

हालसम्म कार्यालयले सबै शीर्षकमा गरी ८७ दशमलव ८३ प्रतिशत कर असुल्न सफल भएको छ । पुस, चैत र असारमा तुलनात्मक रूपमा अन्य महिनाको भन्दा बढी कर असुली हुने भएकाले लक्ष्यअनुसार संकलन हुने नेपालको भनाइ छ ।

‘पुस महिनामा आय करको ४० प्रतिशत अनुमानित कर असुली गरिन्छ । चैत र असारमा  ३०÷३० प्रतिशतले आयकर संकलन हुन्छ,’ उनले भने ।

कोरोनाका कारण विगत महिनामा कर संकलन सन्तोषजनक नदेखिए पनि आगामी महिनामा कर असुली लक्ष्यअनुसार संकलन हुने उनले बताए । विभागले यस वर्ष कार्यालयलाई १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार रुपैयाँ लक्ष्य दिएको छ भने पुस मसान्तसम्म ७ अर्ब ५० करोड ९९ लाख ९ हजार रुपैयाँ संकलन भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)