नेपाल सम्भावनै सम्भावनाले भरिएको मुलुक हो रे । त्यै भन्छन् सबै जान्नेसुन्नेहरू । तर धेरै सम्भावनाहरू भएकाले कुन चैं सम्भावनालाई वास्तविकतामा बदलेमा देश उँभो लाग्छ भन्नेमा चैं दुविधा भा छ रे । कृषि, जलविद्युत्, पर्यटन आदिमा सम्भावना देखेको र लेखेको त धेरै भयो । तर खै ! त्यसक्षेत्रबाट अहिलेसम्म खासै क्यै भएन । अहिले त कोही भन्छन्् प्रतिनिधिसभाको बाटो गए गन्तव्यमा पुगिन्छ रे । अर्काथरी भन्छन् चुनावी बाटो गए त ठ्याक्कै ठाउँमै पुगिन्छ रे ।
अब स्वाभाविक प्रश्न उठ्छ कि नयाँ सम्भावना कल्ले चैं लिएर आउँछ त ? कुन कम्पनीलाई सरकारले नयाँ सम्भावनाहरू लिएर आउने परमिट दिएको छ ? र उक्त कम्पनी कुन नेताको नातामा पर्छ ? उसले जुन सम्भावना लिएर आउँछ, त्यसको क्वालिटी कुन स्तरको हुन्छ ? सम्भावनाहरू स्वदेशी हुन्छन् कि विदेशी ?
बजेट बनाउँदा समेत विदेशीले सहयोग गर्ने सम्भावना देखेर योजनाहरू बनाइन्छन् । अझ अहिले त सम्भावनाहरू कहाँ कहाँ छन् भनेर खोज्न सरकार देशैभरि भ्यूटावर निर्माण गर्दै हिँडिरहेको छ ।
वास्तवमा जुन कुराका साथमा भावनाहरू जोडिएका हुन्छन् र ती भावनाका खातिर मानिस जे पनि गर्न तयार हुन्छ भने त्यसलाई सम्भावना भनिन्छ । सम्भावना थुप्रै प्रकारका हुन्छन् र यसको दुनियाँ अनन्त छ । सम्भावना कहिलै खत्तम हुँदैन ।
अहिले कोभिडका कारण थुप्रै व्यवसायमा आर्थिक समस्या परेको छ । यसले धेरैको नीद हरेको छ । तर चिन्ता लिनु पर्दैन । जस्तै, डकैती, फिरौतीका धन्दामा मन्दी आएको छ भने कुनै सत्ताधारी नेतासमक्ष आत्मसमर्पण गरेर राजनीतिमा घुसे हुन्छ । चोरी डकैतीमा जति नाम कमाएको हुन्छ, राजनीतिमा चम्किने सम्भावना उति नै धेरै हुन्छ ।
त्यस्तै, चलचित्र बनेन वा बनेको पनि चलेन भनेर पनि रोइकराइ गर्नु जरुरी छैन । किनकि, चलचित्रमा कौशल देखाइसकेपछि राजनीतिमा चमत्कार देखाउने सम्भावना झनै प्रबल हुन्छ । उता पनि अभिनय गर्नुपर्छ, यता पनि अभिनय नै गर्नुपर्छ । जो व्यक्ति अभिनय गर्न माहिर हुन्छ, उसका लागि सम्भावनै सम्भावना हुन्छ ।
त्यस्तै प्रकारले कसैलाई सीधै झुठो बोल्ने, टालटुल पार्ने, झुठा आश्वासन दिने, आफ्नो स्वार्थ सिद्धि गर्न जे पनि गर्ने योग्यता छ भने त उसमा पनि ठूलै राजनीतिक खेलाडी बन्ने अपार सम्भावना लुकेको हुन्छ ।
प्रायःजसो मन्त्रालय हेरफेरमा पर्ने गरेका एक सदाबहार मन्त्रीलाई मैले सोधेँ, ‘तपाईं यति छिटो छिटो मन्त्रालय किन बदल्न खोज्नु हुन्छ ? के कर्मचारीतन्त्रले तपाईंलाई घाँस हाल्न छाडे वा अन्य समस्या पर्यो ?’
उनले मन्द मुस्कानका साथ ‘अफ द रेकर्ड है’ भनेर सुनाए, ‘ब्युरोक्रेसी त मैसँग सँगै छ । तर कुरो के छ भने त्यो मन्त्रालयमा जति सम्भावनाहरू थिए, ती सबै सम्भावनाको मैले दोहन गरिसकेँ । अब त्यो मन्त्रालय मेरा लागि जुस निकालिएको उखुको रसविहीन लाँक्राजस्तो मात्र रहेको छ । त्यसैले नयाँ सम्भावनाहरूको खोजीका लागि नयाँ मन्त्रालयमा जान चाहन्छु । त्यसका लागि हाईकमाण्डहरूको दैलोमा दिनभरि चक्कर लगाइराख्छु, त्यहाँ लम्पसार साष्टांग दण्डवत् मुद्रामा आसन जमाइरहन्छु । कसो काम नबन्ला त !’
वास्तवमा सम्भावना भन्ने चीज यस्तो हो कि यसले मानिसलाई केही नयाँ गर्ने प्रेरणा प्रदान गर्छ र यिनै प्रेरणाले वशीभूत भएर नै नेताहरू आफ्ना द्विपक्षीय सम्बन्ध बलियो पार्ने एजेण्डा लिएर विदेश जान्छन् । उता पुगेर दाल, भात, तेलदेखि अरू कत्ति प्रकारका सम्झौतामा आफ्ना टाँकहरू फिट गरेर आउँछन् । यसले द्विपक्षीय सम्बन्ध बलियो हुन्छ र सम्भावनाको दोहन पनि हुन्छ ।
स्वदेशमा त सम्भावनाहरूको दोहन गर्न रामायण र महाभारतको नाटक मञ्चन गरिरहन्छन् । केही नपाए आफै समस्या खडा गरेरै भए पनि समाधानको सम्भावना खोज्नतिर लागिरहन्छन् ।
नेपालीहरू सम्भावनाको खोजी गर्न असाध्यै माहिर पो छन्् त । उनीहरू हरेक समस्यामा सम्भावना देख्छन् । सरकार पनि सम्भावना बाहेक केही देख्दैन । विश्वभरि कोरोनाका कारण अर्थतन्त्र सुस्ताउँदा पनि बजेट भाषणमा अर्थमन्त्रीले आर्थिक छलाङ मार्ने सम्भावना ठोकुवा गरेका थिए । सरकारले बनाउने पूरै बजेट नै सम्भावनाको सूची जस्तो त देखिन्छ नि । बजेट बनाउँदा समेत विदेशीले सहयोग गर्ने सम्भावना देखेर योजनाहरू बनाइन्छन् । अझ अहिले त सम्भावनाहरू कहाँ कहाँ छन् भनेर खोज्न सरकार देशैभरि भ्यूटावर निर्माण गर्दै हिँडिरहेको छ ।
यसरी कर बढाएर होस् वा विदेशीको भर बढाएर, आफ्ना सम्भावनाका ढोका खुलै राखिरहन्छन् । हरेक प्रकारका जोखिम मोल्नु र स्वीस बैंकमा खाता खोल्नु पनि सम्भावनालाई जीवितै राखिरहनकै लागि हो । भैंसी पूजा गर्नु वा क्षमा पूजा, ती पनि नयाँ सम्भावनाका लागि आमन्त्रण नै हुन् । त्यसैले नयाँ सम्भावना पकाउन वा जनतालाई फकाउन नयाँ विषय हावामा उछाल्दै जानोस् र विरोधीहरूको सातो पुत्लो उडाउन नयाँ नयाँ षड्यन्त्र बुन्दै जानोस् । अनि त नयाँ सम्भावना आफै खुल्दै गइहाल्छन् नि । कसो ?
छन पनि नयाँ सम्भावनाको स्कोप कहाँ छैन र ? अहिले आर्थिक जीवन तँग्रिन त समय लाग्ला । तर पारिवारिक र सामाजिक जिन्दगीमा पनि धेरै नै सम्भावनाका पुतलीहरूले पखेटा फिँजाइरहेकै हुन्छन् । तर राजनीतिमा जस्तो सम्भावना अन्त शायद कमै होला । तिनै सम्भावनाहरूको खोजीमा होला अहिले एकथरी मानिसहरू संसद् भवनतिर कुदिरहेका छन्, अर्काथरी प्रधानमन्त्री क्वार्टरतिर कुदिरहेका छन् । कोही सर्वोच्चतिर नजर लगाइरहेका छन् त कोही सडक तताउन थालेका छन् ।
तपाईं भने कुन चैं सम्भावनाको खेतिमा लागिरहनु भएको छ कुन्नि ?