ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाउँमा नयाँ मानिस देख्दा पनि तर्सन्छन् भीरकोटका माझी समुदाय

२०७७ माघ, २०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

माघ २०, दोलखा । तामाकोशी गाउँपालिका वडा नम्बर १ भीरकोटको माझी बस्ती अहिले त्रासमा परेको छ । अपरिचित व्यक्तिबाट २०७२ सालको भूकम्पपछि राहत दिने नाममा विभिन्न काजगमा सही गराइएकामध्ये लक्षुमन माझीको नाममा ५ करोड ५४ लाखको राजस्व छली मुद्दाको तामेली पत्र आएपछि भीरकोटको माझी बस्ती त्रासमा परेको हो ।

अक्षरसम्म राम्रोसँग नचिन्ने तथा कम्पनीको बारेमा जानकारी नै नभएका तथा माछा मारेर जीवन गुजार गर्ने लक्षुमन माझीको नाममा पीआरके ट्रेड इन्टरनेशनलको नामबाट दर्ता भएको स्थायी लेखा नं. ६०५४२८२७२ बाट उक्त रकम राजस्व छली गरेको अभियोग छ ।

२०७३ सालमा माछामारी हातमुख जोरीरहेका लक्षुमन माझी र उनका छोरालाई भूकम्पको बेला सहयोग गर्ने मानिस छ भन्दै गाउँमा लुगा व्यापार गर्ने महेन्द्र यादव नामका एक व्यापारीले  नरेश राय र धीरेन्द्रलाई चीनाए । पछि नरेश र धिरेन्द्र ले  लक्षुमनलाई राहत दिन भन्दै छोरा सहित काठमाडौं पु¥याए । काठमाडौं पु¥याएपछि लक्षुमनका बाबु छोरालाई उनीहरूले एक अपरिच व्यक्तिको जिम्मा लगाए । सधैं मास्क लगाएर हिँड्ने उक्त व्यक्तिले लछुमनलार्ई विभिन्न कागजातमा राहत बुझ्न भन्दै हस्ताक्षर गराए । पहिलो पटक ८ हजार दोस्रो पटक २१ हजार पाँच सय तथा तेस्रो पटक  ५ हजार दिए । त्यसपछि उक्त मानिससँग आफ्नो सम्पर्क नभएको उच्च अदालत ललितपुरमा राजस्व छलीको मुद्दा दायर गरिएका लक्षुमन माझीले बताए ।

काठमाडौं लगिएकै बखत लक्षुमनलाई कम्पनी रजिष्ट्रार कार्यालय, राजस्व कार्यालय तथा बैंकमा खाता खोल्न लगाएको उनको कुराकानीको आधारमा बुझिन्छ ।

लक्षुमनपछि उनका छोरा लगायत पाँचजनालाई कसैलाई जनकपुर तथा कसैलाई विरगंज लगी  चार–पाँच दिन विभिन्न कार्यालयमा डुलाई विभिन्न कागजातमा सही गराई ५ देखि १५ हजारसम्म भूकम्प पीडितलाई राहत दिएको भन्दै पठाएको अर्का पीडित सपन माझीले बताए । 

आफ्नै घरबास सहित नभएका अर्काको जग्गामा टहरा बनाई बसेका सोझा माझीहरूलाई राहतका नाममा कम्पनी दर्ता गरी सातिर ढंगले फसाएको देखिएकोले यसमा ठूलै गिरोहको हात हुन सक्ने तामाकोशी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष महेश्वर काफ्लेको भनाइ छ । 

सो गिरोहलाई समात्न राज्यले पहल नगरेमा हातमुख जोर्न समेत समस्या भएका माझीहरुको बिचल्ली हुने उनले बताए ।

बस्ती नै उठीवास लाग्ने देखिएपछि पीडित माझीहरूले आफूलाई फसाउनेहरूलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रशासन कार्यालय दोलखामा निवेदन दिएका छन् । जिल्ला प्रशाशसन कार्यालयले उनीहरूलाई खोज्न विभिन्न संयन्त्र प्रयोग गर्ने आफूहरूलाई आश्वासन दिएको पीडित दिनेश माझीले बताए ।

अक्षरसम्म राम्रोसँग नचिनेका सोझा माझीलाई राहतको लोभ देखाएर उनीहरूका नाममा अवैध कम्पनी खोली राजस्व ठगी गरी जेल पठाउने प्रपञ्च गर्ने गिरोहलाई जसरी भए पनि राज्यले समातेर कारबाहीको दायरामा ल्याउनु पर्ने भीरकोटका स्थानीय समाजसेवी सुरेश उप्रतीको माग छ । 

राहत दिने नाममा विभिन्न ठाउँमा लगी कम्पनी रजिष्ट्रार, राजस्व कार्यालय तथा बैंक खाता खोली चेक बुक लगायतमा  सही गराइएकाहरूमा लक्षुमन माझी, दिनेश माझी, देवेन्द्र माझी, नारायण माझी, सपन माझी लगायत छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)