ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गधाको सम्मानमा र्‍याली

२०७७ माघ, २३  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

कुनै मान्छेलाई रिस उठ्दा अर्को मान्छेलाई नै ‘गधा’ भनेर सम्बोधन गर्ने गरेको सुनिन्छ । यो त गधाप्रति घोर अपमान हो । गधाको पनि त आफ्नो इज्जत हुन्छ, नाम हुन्छ, भावना हुन्छ, समाज हुन्छ । प्रत्येक ऐरे–गैरे–नत्थु खैरेको तुलना एक सुधो र सहनशील प्राणी गधासँग त गर्न मिल्दैन नि हो !

तपाईं गधामाथि कुनै पनि निर्णय थोपरिदिनोस्, उसले कहिल्यै कुनै प्रतिक्रिया जनाउँदैन । खान नदिनोस्, पानी नदिनोस्, बस्न नदिनोस्, औषधि नदिनोस् वा आधारभूत कुनै पनि कुराहरू नदिनोस्, आफ्नो आँसु भित्रभित्रै पिउँछ । तर नेता कार्यकर्ता जसरी विवाद खडा गरी हिँड्दैन । यसै पनि विवाद निकालेर चर्चामा आइरहने बानी गधाको कहिल्यै हुँदैन । यदि त्यसो हुँदो हो त गधाले पनि निर्वाचन आयोगले गरेको निर्णय ठीक भयो भनेर हाँ मा हाँ मिलाउँथ्यो होला अथवा अदालतमा विचाराधीन रहेको मुद्दाहरूमा समर्थन वा विरोधमा जुलुस निकाल्थ्यो होला । गधा साँच्चै गौ प्राणी पो हो त ।

हो, गधाले कहिलेकाहीँ लात्तीले हान्छ । तर कसैलाई गोली हान्दैन । बम पड्काई हिँड्दैन । भुस खान्छ, तर घुस खाँदैन । कर छल्दैन । घोटाला वा काण्डहरू गरिहिँड्दैन ।

गधा कुनै पनि कुरालाई प्रतिष्ठाको विषय बनाउँदैन । तपाईं उसलाई कुनै पनि बाटोतिर धकेलिदिनुस्, ऊ त्यतैतिर लाग्छ । राजतन्त्र भन्दिनोस्, त्यतै लाग्छ । हैन गणतन्त्र भन्दिनोस्, ऊ फेरि त्यता लाग्छ । हैन अब साम्यवादतिर है भन्दिनोस्, ऊ फेरि त्यतातिरै कुद्छ । किनकि उसको आफ्नो कुनै वाद छैन । उसले कहिल्यै भन्दैन कि ‘मलाई दक्षिणतर्फ नधकेल्नुस्, मलाई दक्षिणपन्थी मन पर्दैन वा उत्तरपन्थी मन पर्दैन ।’ गधालाई तपाईं कुनै पनि विचारधाराको तुल झुन्ड्याइदिनोस्, ऊ त्यै बोकेर मार्चपासमा दौडन थालिहाल्छ । अझ गधामाथि कसैलाई पनि बसाइदिनोस्, उसले कहिल्यै अपमान महसूस गर्दैन । गधा त्यै मस्ती पारामा हिँड्छ, जुन पारा उसलाई आफ्ना पुर्खाबाट उत्तराधिकारमा प्राप्त भएको हो । ऊ आफ्नो मालिकप्रति पूर्ण बफादार हुन्छ ।

गधाको अर्को खुबी यो पनि छ कि उसलाई दुनियाँको कुनै पनि विषयमा कुनै लिनुदिनु छैन । न ऊ कुनै कुरामा आफ्नो ‘हलो अड्काई’ हिँड्छ । ऊ न अमेरिकाजस्तो कुनै दुई देशबीचको झगडामा प्रवेश गर्छ, न कसैको ढाडमा थपथपाउँछ, न कसैलाई धम्क्याउँछ, न कसैको ढाडमा टेकेर टाउकामा हान्छ । उस्तै परे पछाडिका दुलत्तीले चाहिँ बजाइदिन्छ ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउँछन् कि पाउँदैनन् वा चुनाव हुन्छ कि हुन्न वा सर्वोच्चले संसद् ब्यूँत्यायो भने के हुन्छ, आदि इत्यादि कुनै पनि कुरामा गधाको कुनै सरोकार छैन । गधा त यो राय पनि व्यक्त गर्दैन कि देशमा संवैधानिक संकट आयो भने के गर्ने वा के नगर्ने ।

सडक प्रदर्शन, ¥याली, आमसभामा नेताका भाषण सुनेर गधा कुनै ताली पनि ठोक्दैन । विरोधी र्‍यालीमा नेताहरू कुर्लेको देखेर पनि गधा कुनै प्रतिक्रिया जनाउँदैन । गधा न ताली बजाउँछ, न ढुंगा बर्साउँछ, न नारा लगाउँछ, न लाठीमुंग्री गर्छ ।

गधा न धर्मान्ध छ, न साम्प्रदायिक । ऊ कुनै क्षेत्र, वर्ग वा धर्मको राग गाएर हिँड्दैन । उसका लागि सबै धराका घाँस बराबर अर्थात् उस्तै लाग्छन् । गधाको इच्छाको संसार नै धेरै सानो छ । न उसलाई मोबाइल, गाडी, टीभी, बंगला चाहिन्छ न त कुनै पद । न उसलाई साँझमा ‘पेग’ लगाउनुपर्छ । उसलाई त बिहान र बेलुकाको चार गाँसको जोहो भए चलेकै छ ।

हो, गधाले कहिलेकाहीँ लात्तीले हान्छ । तर कसैलाई गोली हान्दैन । बम पड्काई हिँड्दैन । भुस खान्छ, तर घुस खाँदैन । कर छल्दैन । घोटाला वा काण्डहरू गरिहिँड्दैन । ‘बुथ क्याप्चर’ गरी हिँड्दैन । आफ्ना, पराई, साला–साली, भतिजावाद भनेर पनि भन्दैन । उसलाई संवैधानिक निकायहरूमा असंवैधानिक तरिकाले घुस्नु वा घुसाउनु पनि छैन । गधा अँधेरोमा कुनै यस्तो उस्तो काम पनि गर्दैन ।

यति सर्वगुण सम्पन्न गधालाई फेरि किन प्रताडित गर्छन् मानिसहरू हँ ? योभन्दा अझै कति सद्गुण हुनुपर्ने हो गधाले इज्जत पाउन ?

यत्तिका वर्षदेखि गधाहरूलाई हेरेपछि म यो निष्कर्षमा पुगेको छु कि गधा वास्तवमै अनुकरणीय छ, आदरणीय छ र प्रातःस्मरणीय छ । गधाका पनि आफ्ना आदर्श छन्, नीति र सिद्धान्त छन्, मूल्यमान्यता छन्, परम्परा छन् । त्यसैले जब कसैले कुनै मानिसलाई रिसको आवेगमा गाली गर्दा ‘गधा’ भन्छन्, तब मलाई चित्त दुखेर आउँछ । मानौं कि ‘गधा’ गधा नभएर विश्वकै सबैभन्दा मूर्ख मानिस हो । तर, गधाको त समाजमा इज्जत छ । अहिले मान्छेको त के इज्जत बाँकी छ र ? अहिले गधालाई इज्जत दिन सक्यौं भने न भोलि हामी एउटा सभ्य समाजको परिकल्पनालाई साकार पार्न सक्छौं ।

म त भन्छु, गधालाई सम्मान गरौं । उसको अनुसरण र अनुकरण गरौं । उसको पदचिह्नमा चलौं । किनकि गधा आफ्नो बयान फेरी हिँड्दैन । ऊ आफ्ना अडानमा कायम रहन्छ । ऊ आफ्ना आस्थाहरू बदलेर हिँड्दैन । आज विरोध गरे भन्दैमा हिजोका आफ्नै सहयात्रीका विषयमा आफ्नै सुरुवाल फुस्किएको चाल नपाउनेगरी जथाभावी बदख्वाइँ गरी हिँड्दैन । संविधानले वाक् स्वतन्त्रता दिएको छ भन्दैमा जथाभावी वाक्वाक् गरी हिँड्दैन ।

गधा जसको साथमा खडा भयो, ऊ त्यसका लागि दिलोज्यान दिएर साथै हिँड्छ । धाँधली भयो, महँगी भयो, अन्याय, अत्याचार भयो भनेर गुनासो पोख्न, कतै उजुरबाजुर गर्न जाँदैन । तुइन, रेल, पानीजहाज वा कुनै झुठा आश्वासनहरू बाँडी हिँड्दैन । गधालाई न त चीनले गरेको अघोषित सीमा बन्दको समर्थनमा ताली ठोक्नु छ, न म्यान्मारको सैनिक ‘कु’को विरोधमा र्‍याली निकाल्नु छ ।

उसैमाथि सवार भएर कोही करायो भने पनि गधालाई कुनै प्रभाव पर्दैन । उसको सहनशक्ति बेजोड छ । के हामीमध्ये कसैमा पनि गधामा जति सहनशक्ति छ र ? छैन नि ! अहिलेको कलियुगे समाजमा सम्मान गर्न लायक कुनै प्राणी छ भने त्यो गधा मात्र देखिन्छ । त्यसैले आउनोस्, गधाको सम्मानमा बरु एउटा र्‍याली निकालौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)