ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन प्रवर्द्धन र संस्कृतिको संरक्षण गर्न माडीमा बोटे सामुदायिक होमस्टे 

२०७७ माघ, २७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

माघ २७, चितवन । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको माडी नगरपालिका वडा नम्बर १, बनकट्टाको बोटे टोलमा बोटे सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । पर्यटन प्रवर्द्धन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ माडी नगरपालिका, पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समिति र तराई भू–परिधि कार्यक्रम (ताल)को सहयोगमा १० ओटा घरवास सञ्चालनमा ल्याइएको हो । 

मंसिर महीनादेखि शुरु गरिएको अन्य दुई घरवास निर्माणको चरणमा छन् । हाल होमस्टेमा ४० जना पाहुनाहरुलाई एकैसाथ राख्न सकिने क्षमता रहेको छ । आवश्यकताअनुसार क्षमता बढाउँदै लगिने होमस्टेका अध्यक्ष सन्तोषप्रसाद बोटेले बताए । 

होमस्टेमा आउने पाहुनाहरुलाई मनोरञ्जन प्रदान गर्न माडी नगरपालिका र स्वीस प्रोजेक्टको सहयोगमा बोटे सामुदायिक सांस्कृतिक भवन निर्माण भइरहेको छ । ‘थारु लगायत विभिन्न जातजातिका संस्कृति देखाएर पर्यटकहरुलाई मनारेञ्जन दिने र हराउँदै गएको संस्कृतिलाई संरक्षण गर्ने हाम्रो उद्देश्य हो ।’ अध्यक्ष बोटेले भने । 

धार्मिक , ऐतिहासिक र पर्यापर्यटनको हिसाबले यस क्षेत्रलाई चिनाउनु र पर्यटन प्रवर्द्धन गर्न होमस्टे सञ्चालनमा ल्याईएको उनको भनाइ छ ।  ‘पाहुनालाई गाडामै राखेर गोद्धक घुमाउन लैजाने योजना छ’, उनले भने, ‘मौलिक नाच, स्थानीय परिकार पस्किनेछ । प्रत्येक होमस्टेको छानामा जस्ता र खरले छाएर कलात्मक संरचना बनाईएको छ  ।

पर्यटक प्रवर्द्धन, जैविक विविधता र संस्कृतिको संरक्षण गर्ने भएकोले होमस्टेमार्फत बोटेको मात्र नभएर अन्य विभिन्न जातजातिको संस्कृतिलाई पनि संरक्षण गर्ने योजनाका साथ होमस्टे सञ्चालन गरिएको होमस्टे सञ्चालक विष्णुमाया बोटेले जानकारी दिइन् । होमस्टेले बोटे समुदायलाई जीविकोपार्जनका लागि सहज पुग्ने उनको भनाइ छ ।

शान्त वातावरणमा सञ्चालित घरवासमा बसेर रमणीय दृश्यावलोकन गर्नुका साथै नदीकिनारमा आएका जंगली जनावर पनि देख्न सकिने भएकाले पर्यटकका लागि बोटे घरवास आकर्षणको केन्द्र बन्ने अर्का होमस्टे सञ्चालक सुकबहादुर बोटे बताउँछन् । ‘यहाँबाट जंगल र जंगली जनावर पनि सजिलै देख्न सकिन्छ उनले भने,  पाहुनाहरु आउने क्रम बढेका छन् । हामी पनि उत्साहित छौं ।’ 

मुख्य सडकबाट भित्र, हरियाली र शान्त वातावरणमा सञ्चालित होमस्टेमा बसेर रमणीय दृश्यावलोकन गर्नुका साथै नदीकिनारमा आएका जंगली जनावरहरु पनि देख्न सकिने भएकोले होमस्टेमा पर्यटकको आगमन बढ्दै गएको उनले बताए । 

होमस्टेमा बसेका पाहुनाहरुलाई होमस्टेको विशेष परिकारका साथै उनीहरुको रूचिअनुसारको खाना खुवाएर राष्ट्रिय निकुञ्जलगायत माडीका विभिन्न स्थानमा जिप सफारी, माडीका सोमेश्वर कालिका, वैकुण्ठधाम, शनि मन्दिर, बुलबुले ताल, रेवा त्रिवेणी, वैराठ धुनी, सीताराम गुफालगायतका स्थानको अवलोकन गर्ने वातावरण मिलाइएको उनले जानकारी दिए  ।

संस्कृति नै लोप हुने खतरामा भएकोले होमस्टे सञ्चालनमा आएपछि जगेर्ना हुन्छ भन्ने विश्वास व्यवसायीले लिएका छन् । बनकट्टा र पाण्डवनगरमा गरी २२ ओटा बोटे समुदायमा होमस्टे निर्माण गर्न सम्भाव्यता अध्ययन भएको अध्यक्ष बोटेले जानकारी दिए  ।

धार्मिक तथा पर्यटकीय क्षेत्र गोद्धकधाम बोटे टोलबाट करीब १ किमी पश्चिममा पर्छ । गोद्धकमा पाँचपाण्डव गुप्तवास बसेको, परशुरामले मातृहत्याबाट दोषमुक्त हुन स्नान गरेको कुण्ड, भीम इनार, भीम मन्दिर, अष्टभुजाको शिवलिंग, कुकुरनाथ, बिरालोनाथ लगायतका धार्मिक धरोहर  छन् ।

रामनवमी, शिवरात्रि, साउने मेलामा गोद्धकमा दर्शनार्थी बढी आउँछन् । बनकट्टा, पाण्डवनगरमा करीब २०० घरधुरी बोटे जातिको बसोबास रहेको छ  ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)