साओपाउलो । ब्राजिलको एउटा अदालतले विश्व प्रसिद्ध अमेरिकी फाष्टफुड सञ्जाल म्याक डोनाल्डका एकजना सेवा निवृत्त कर्मचारीलाई मोटाएबापत क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ ।
म्याकडोनाल्डले तयार गरेका खानेकुराको स्वाद र गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी पाएका ३२ वर्षीय ती युवकले देशका विभिन्न भागमा अवस्थित रेष्टुराँमा खाना चाख्दा ३० किलोग्राम तौल बढेको भन्दै क्षतिपूर्तिका लागि मुद्दा दायर गरेका थिए ।
पोर्र्टो अलिग्रीस्थित अदालतले ती युवकलाई १७ हजार ५ सय अमेरिकी डलर (करीब १३ लाख रुपैयाँ) क्षतिपूर्ति स्वरूप उपलब्ध गराउन म्याक डोनाल्डलाई पत्राचार गरिसकेको बताइएको छ ।
न्यायाधीश जाआओ घिसलेनी फिलाहोले आफ्नो निर्णय विरुद्ध म्याक डोनाल्डले माथिल्लो अदालतमा पुनरावेदन गर्न सक्ने बताएका छन् ।
नाम सार्वजनिक नगरिएका म्याक डोनाल्डका ती भूतपूर्व कर्मचारीले दायर गरेको अभियोग पत्रमा कम्पनीले आफूलाई विनापैसा दिउँसोको खानासमेत उपलब्ध गराएकाले आफ्नो वजन अनपेक्षित रूपमा बढेको उल्लेख गरेका थिए ।
अमेरिकी राज्य इलिनाइमा प्रधान कार्यालय रहेको म्याक डोनाल्डले सरसफाइ, सेवा तथा खानाको गुणस्तर परख गर्न गोप्यरूपमा खाद्य निरीक्षक परिचालन गर्दै आएको छ । एएफपी/रासस