ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रधानमन्त्रीसँग अन्तरवार्ता

२०७७ माघ, ३०  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

देश हिजोआज रणभूमिजस्तो देखिन थालेको छ, नारा, जुलुस, र्‍याली, चलिरहेको छ । एउटै दलका दूई समूहबीच एउटाले अर्कोलाई सकेसम्म नंग्याउने, होच्याउने, अचेट्ने, घचेट्ने, निमोठ्ने उपक्रम पनि चलिरहेको छ । यस्तो लाग्छ कि साँडेहरू जुधिरहेका छन् र दुवैतर्फका समर्थकहरू बारीका कान्लामाथि बसेर आफ्नो साँडे कुर्लिंदा ताली नत्र गालीमा व्यस्त छन् । कुनै गुटमा लागि नसकेकाहरू भने देशको हाल र नेताहरूको ताल देखेर निकै चिन्तित देखिन्छन् । यसरी त भएन बा ! सरकारले अब के गर्छ भनेर बुझ्न म पनि लागेँ प्रधानमन्त्री (प्रम)को अन्तरवार्ता लिन ।

प्रम आफ्नो निवासभित्र विष्णु भगवान्को जस्तो मस्ती मुद्रामा सोफामा विराजमान हुनुहुँदो रहेछ । भेट्नासाथ मैले पनि प्रश्न बर्साउन शुरू गरिहालेँ ।

प्रश्न : प्रमज्यू, देशको भविष्य कता जाँदै छ, तपाईंलाई देशको कुनै चिन्ता छैन ?

उत्तर : देशको चिन्ता नगर्नुस् । देश न कहीँबाट आएको हो, न अब कहीँ जान्छ । देश यहीँ थियो र यहीँ रहनेछ, नेपालमै । म छु नि । म भएपछि देशको चिन्ता गर्न छाड्नुस् ।

प्रश्न : तर सडकमा त नारा जुलुस लागिरहेको छ र मानिसहरू भनिरहेका छन् कि देश दिशाहीन भयो रे त ?

उत्तर : सरकारको अपार सफलताबाट अत्तालिएर केही विरोधीहरू चैं दिशाहीन बन्न पुगेका छन् । उनीहरू आफूलाई जनताका दुःखका तारणहार सावित गर्ने र सरकारलाई हार ख्वाउने असफल प्रयासमा थिए र छन् । तर उनीहरूको राजनीति अब सिद्दियो ।

प्रश्न : तपाईंलाई यो आरोप छ कि तपाईंले बिचौलियाहरूलाई अकुत सम्पत्ति कमाउन मौका दिइरहनुभएको छ रेन्त ?

उत्तर : भन्नेले त जे पनि भन्छन् । बिचौलियासँग मिलेर मैले नै अकुत सम्पत्ति कमाएँ पनि भन्छन् । यो सरासर झुठो आरोप हो । बिचौलियाहरू त स्वयं बाठा छन् । मौका देखे भने आफै कमाइहाल्छन् नि । मैले मौका दिनै पर्र्दैन । बरु यिनीहरूसँग मैले चाहिँ मौका लिने हो । अर्को कुरा, के मेरो नाम विश्वको अर्बपतिको सूचीमा कतै पढ्नुभएको छ र ? छैन नि । मसँग कति सम्पति छ, मलाई नै थाहा छैन । यदि कतै कुनै सम्पत्ति रहेछ भने ती त मलाई माया गर्ने कार्यकर्ताहरूको आशिर्वादको देन हुन सक्छ ।

प्रश्न : जनतालाई चैं आशिर्वाद कहिले दिनुहुन्छ त ?

उत्तर : (हाँस्दै) हामी त जनताका सेवक हौं । बरु जनताले हामीलाई आशिर्वाद दिइरहन्छन् र त्यसमध्ये केही अंश आपूmसँग राखेर बाँकी आशिर्वादको आपूर्ति आफ्नाहरूलाई गर्दिन्छौं । हामीले जनतालाई आशिर्वाद कहाँबाट ल्याएर दिने ?

प्रश्न : देशमा अहिले सबैभन्दा ठूलो समस्या के छ ?

उत्तर : सबैभन्दा ठूलो समस्या अहिले हाम्रा आफ्नै भनिनेहरूले हाम्रो खुट्टा तान्ने प्रयास गरिरहेका छन् । विरोधीहरूलाई बरु दुई–चार लाभका पदमा नियुक्ति दिएर चुप लगाउन सकिएको छ । तर आफ्नैलाई चैं तह लगाउन सकिएन बा !

प्रश्न : महँगीसँग जुध्न तपाईंसँग के कस्ता कार्ययोजना छन् त ?

उत्तर : आफ्नै घरभित्रका विभीषणसँग लड्न सकिएको छैन, अब अरू को कोसँग जुध्न जानु ? जब देशले समृद्धि हासिल गर्दै जान्छ, महँगी त स्वतः बढ्छ नि । महँगीले यो कुराको संकेत गर्छ कि हामी नेपालीहरू कति पराक्रमी छौं । महँगो महँगो चीज पनि खान्छौं र पचाइदिन्छौं । अरू देशकाले हामीसँग के खाएर सक्छन् !

प्रश्न : देश आत्मनिर्भर चैं कहिले बन्छ त ?

उत्तर : जब ‘हामी’ आत्मनिर्भर हुन्छौं । अनि न त कसैसँग चन्दा, दान, अनुदान मागिहिँड्नुपर्छ, न कुनै घोटाला, काण्डहरू गर्न ।

प्रश्न : तपाईं अहिले सबैभन्दा बढी कुन कुरामा ध्यान दिइरहनुभएको छ ?

उत्तर : घोटाला, काण्ड, समस्या आदि अनुत्पादक कुराहरूमा जनताको ध्यान अनावश्यक रूपमा गइरहेको छ । हामी उनीहरूको ध्यान उत्पादक कामतिर मोड्न प्रयासरत छौं ।

प्रश्न : यसमा तपाईंले सफलता पाउने सम्भावना कत्तिको देख्नुहुन्छ ?

बजनताको स्मृति एकदम कमजोर छ । जसै नयाँ समस्या सृजना हुन्छ, मानिसको ध्यान पुराना समस्याबाट हटिहाल्छ । विगत ३० वर्षको हाम्रो अनुभवले यसै भन्छ ।

प्रश्न : सरकारले बनाउनुपर्ने खेलकुद रंगशाला कमेडियनहरूले पोे बनाए त । तर सरकार चैं जनतालाई जोक सुनाई हिँडिरहेको छ । सरकारले गर्नुपर्ने काम कमेडियनहरूले र कमेडियनहरूले गर्ने काम सरकारले गर्न थालेको हो ? अनि खेलकुदको विकासका लागि सरकारले चैं के गर्दै छ त ?

उत्तर : हेर्नुस्, देशको काम त जसले गरे पनि भो नि । सरकारले खेलकुदको विकासका लागि प्रत्येक खेल संघसंस्थामा केवल पार्टीका कार्यकर्ता नै नियुक्त गर्ने गरेको छ । किनकि राजनीतिक मान्छेहरू सधैं जुझारु हुन्छन्, जसबाट खेलाडीहरूलाई उत्प्रेरणा प्राप्त भइरहन्छ । खेलकुदको विकासका लागि योभन्दा बढी के नै गर्नुपर्छ र भन्या ?

प्रश्न : तपाईंलाई चैं कुन खेलमा रुचि छ ?

उत्तर : कुस्ती र निशानबाजीमा । हामी विरोधीलाई सधैं निशानामा राखिरहन्छौं । मौका पाउनासाथ निशाना लगाउन चुक्दैनौं ।

प्रश्न : तपाईंका कतिपय नजिकका नेता, कार्यकर्ता तपाईंको गुट छाडेर अर्कोमा गएछन् त,  किन होला ?

उत्तर : यसमा देशी विदेशीहरूको हात छ भन्ने लाग्छ ।

अन्तिम प्रश्न : यही वैशाखमा चुनाव पक्का हुन्छ त ?

उत्तर : यही र त्यही किन ढिपी ? कुनै न कुनै वैशाखमा चुनाव त पक्का हुन्छ नि ।

झल्याँस्स ब्यूँझिएँ, सपना पो रहेछ । विपनामा पनि प्रमको अन्तरवार्ता लिन पर्‍यो भनेर प्रमको पीएलाई समय मिलाउन फोन थिच्दै थिएँ । फेरि सोचेँ, प्रश्न तिनै हुन् र उत्तर पनि शायद तिनै हुनेछन् । त्यसैले भैगो भनेर फोन बन्द गरेँ ।

मैले ठीकै गरेँ, हैन्त ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)