ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करनीति र प्रणाली सुधार गर्नुपर्ने व्यवसायीको सुझाव 

२०७७ फागुन, २  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

फागुन २, चितवन । चितवन र नवलपरासीका उद्योगी तथा व्यवसायीले सरकारलाई करनीति र प्रणाली सुधार गर्नुपर्ने सुझाव दिएका छन् । आइतवार भरतपुरमा आन्तरिक राजस्व कार्यालय, भरतपुर र कावसोतीको संयुक्त आयोजना भएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले कर प्रणाली र नीति व्यवसायीको पक्षमा नरहेको भन्दै गुनासो गरेका हुन् । 

‘कर प्रणालीमा भएका सुधार एवम् आर्थिक ऐन २०७७ ले प्रदान गरेको कर छूट तथा सुविधा सम्बन्धी’ कार्यक्रममा उनीहरुले अझैपनि सजाय, जरिवाना, दोहोरो करप्रणाली जस्ता झन्झट भोग्दै आएको बताएका थिए । 

शिक्षण व्यवसायी टीकाराम चापागाईले बन्दाबन्दी र निषेधाज्ञा र बन्दाबन्दीको समयमा कर छूट नगरी अनुमानित आयकरमा समेत जरिवाना गरेकोमा गुनासो गरे । सरकारले व्यवसायीलाई तेस्रो दर्जाको रुपमा हेर्ने गरेको र व्यवसायीप्रति हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने धारणा राखे । 

अर्का मुद्रण व्यवसायी गोपाल प्रसाद गैरेले कतिपय व्यवसायीले हुण्डीबाट रकम पठाएर सामान तथा कच्चा पदार्थ खरीद गरेका कारण साना व्यवसायीले प्रतिस्पर्धा गर्न नसकेको बताए । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यवसायीहरुले लामोसमयसम्म समस्याको रुपमा रहेको अन्डरविलिङ र ओभर विलिङले गर्दा व्यवसायीले स्वतन्त्र रुपमा व्यवसाय गर्न नपाएको गुनासो राखेका थिए । ‘भन्सारबाट नै  अण्डरविलिङ र ओभरविलिङको समस्या छ देवचुली उवासंघका अध्यक्ष रेशमलाल सापकोटाले भने, मुहानमा समस्या छ, दोष हामीले बोक्नुपर्छ ।’

मध्यविन्दु उवासंघका अध्यक्ष केदारनाथ पराजुलीले बाहिरका सामानहरु निर्वाध रुपमा भित्रिएको कारण नेपाली उत्पादनले बजार र मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेको बताए । 

करदातालाई आकर्षण गर्न व्यवसायीले उत्पादन, कर तथा रोजगारीमा दिएको योगदानका आधारमा प्रोत्साहित र सम्मान गर्नुपर्ने बताए । ‘करदाताले देशको अर्थतन्त्र, उत्पादन र रोजगारी को तथ्यांक राखी सही काम गर्नेलाई सम्मान र गलत गर्नेलाई दण्ड दिनुपर्छ’ उनले भने । 

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले अब व्यवसायीहरुले व्यापार मात्रै नगरेर उद्योगी बन्नुपर्ने बताए । ‘अब ट्रेडमात्रै गर्ने होइन, उद्योग स्थापना गर्न सरकारले प्रोत्साहित गर्नुपर्छ । आफूपनि प्रोत्साहित हुनुपर्छ ।’ उनले भने । 

कतिपय व्यवसायी करसम्बन्धी नियम कानूनमा अन्यौल रहेकोले कर कार्यालयमा करदाता शिक्षा दिन कार्यालयमा अलग्गै परामर्शदता र सहयोगी हुनुपर्ने उनको भनाइ छ । सो अवसरमा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले व्यवसायी तथा सरकारले कर दिँदा या लिदा उपभोक्ताको न्याय र अधिकारलाई समेत प्राथमिकता दिनुपर्ने बताए । 

सो अवसरमा प्रस्तुतीकरण दिँदै आन्तरिक राजस्व कार्यालय, भरतपुरका प्रमुख घनश्याम पन्थीले फेकविल दर्ता गर्ने, अण्डरविलिङ, ओभरविलिङ, कर विवरण पेश नगर्ने करछली जस्ता समस्या रहेको बताउंँदै व्यवसायीलाई कर छूट, सेवा सुविधाको बारेमा अभिमुखिकरण गरिएको बताए । 

विभागका उपनिर्देशक मुक्ति पाण्डेले चितवन र नवलपरासीको असुली भएको कुल करमध्ये ९० प्रतिशतसम्म अन्तशुल्क शीर्षकबाट मात्रै संकलन भएकोले यो कार्यक्रम अन्य व्यवसायीसँग लक्षित रहेको बताए । ‘यहांँ ९० प्रतिशत सम्म कर अन्त शुल्कबाट मात्रै उठ्दै गएको छ, उनले भने, अन्य करदाताको योगदान कसरी बढ्छ भन्ने हाम्रो चासो र चिन्ता हो ।’ 

पछिल्लो समय करप्रणाली चुस्त, दुरुस्त र प्रविधि मैत्री बन्दै भएको भन्दै उनले उद्योगी व्यवसायीको सुझावले सरकारलाई करनीति र प्रणाली सुधार गर्न सहयोग पुग्ने बताए । आर्थिक बर्ष २०७७ ले प्रदान गरेका कर छूट र सुविधासम्बन्धी व्यवस्थालाई फागुन मसान्त सम्मको अवधिलाई लाभ लिन उनले आग्रह गरे । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)