ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुर आन्तरिक राजस्व कार्यालयको राजस्व असुली घट्यो

२०७७ फागुन, ६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चालू आर्थिक वर्ष ०७७/०७८ को पुसको तुलनामा माघ महिनामा आन्तरिक राजस्व कार्यालय भरतपुरको राजस्व असुलीमा कमी आएको छ ।

कार्यालयको तथ्यांकअनुसार पुसमा राजस्वको सबै शीर्षक गरी १ अर्ब ४९ करोड २४ लाख २६ हजार रुपैयाँ असुली भएको थियो भने माघमा यो अनुपात घटेर १ अर्ब १४ करोड ९९ लाख ३४ हजार मात्र असुली भएको छ ।

कार्यालयले सबैभन्दा बढी अन्तःशुल्कबाट राजस्व असुली गर्दै आएको छ । पुस महिनामा अन्तःशुल्क शीर्षकबाट कार्यालयले ८५ करोड ५९ लाख ७६ हजार राजस्व असुली गरेको थियो भने  माघमा ७३ करोड १८ लाख ३० हजार रुपैयाँ मात्र राजस्व असुली गरेको  छ ।

यस्तै, आयकर शीर्षकमा पुसमा भन्दा माघ महिनामा दुई गुणा कम राजस्व असुली भएको छ । जसअनुसार पुसमा योे शीर्षकमा ४३ करोड ५६ लाख ५७ हजार राजस्व असुली गरेको थियो भने माघ महिनामा यो अनुपात घटेर १९ करोड ७७ लाख ३ हजार रुपैयाँ असुली भएको छ ।

मूल्य अभिवृद्धि कर शीर्षकमा भने राजस्व असुली पुस महिनाको तुलनामा केही अनुपातमा वृद्धि भएको छ । पुसमा कार्यालयले यो शीर्षकमा १७ करोड २५ लाख ४५ हजार रुपैयाँ राजस्व असुली गरेको थियो भने माघमा १९ करोड ३८ लाख ३७ हजार रुपैयाँ असुली भएको छ ।

ब्याजकर शीर्षकमा पुसमा १ करोड ५५ लाख ४१ हजार असुली भएको थियो भने माघ महिनामा यो अनुपात बढेर २ करोड ५५ लाख ६९ हजार रुपैयाँ असुली भएको छ ।

बहालकर शीर्षकमा पनि पुसको तुलनामा  आधाभन्दा कम राजस्व असुली भएको छ । पुस महिनामा यो शीर्षकमा १ करोड २५ लाख ५० हजार रुपैयाँ संकलन गरेको कार्यालयले माघमा जम्मा ५९ लाख २४ हजार रुपैयाँ मात्र असुल गरेको छ ।

यस्तै, शिक्षा सेवा कर र स्वास्थ्य सेवा करमा पनि माघ महिनामा राजस्व असुली हुन सकेको छैन । जसअनुसार पुसमा शिक्षा सेवा शीर्षकमा १ लाख ४९ हजार रुपैयाँ असुली गरेको थियो भने माघ महिनामा जम्मा १ हजार रुपैयाँ मात्र असुली भएको छ ।

स्वास्थ्य सेवा शीर्षकमा पुसमा ८ हजार रुपैयाँ असुल भए पनि माघ महिनामा यो शीर्षकमा राजस्व असुली शून्यमा झरेको छ ।

कार्यालयका सूचना अधिकृत कपिल नेपालले  पुसमा कर दाताले बार्षिक अनुमानित आयकरको ४० प्रतिशत राजस्व तिनुपर्ने भएकाले यो महिनामा बढी राजस्व संकलन हुने गरेको बताए । ‘माघ महिनामा कुनै शीर्षकमा कर असुली बढेको छ, कुनै शीर्षकमा घटेको छ । यो कारोबारअनुसार भर पर्छ’, उनले भने, ‘कर असुली कम भए पनि लक्ष्य भने प्रायः सबै शीर्षकमा पूरा गरेका छौं ।’

उनका अनुसार माघ महिनामा विभागले सबै शीर्षकमा दिएको लक्ष्यअनुसार अन्तशुल्कबाहेक सबैमा लक्ष्यभन्दा बढी कर असुली गरेको छ । स्वास्थ्य सेवा तथा शिक्षा करमा भने हाल बाँकी बक्यौता मात्र असुली हुने नेपालले जानकारी दिए ।

विभागले चालू आर्थिक वर्षमा १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार रुपैयाँ राजस्व असुली लक्ष्य दिएमध्ये माघ महिनासम्म ८ अर्ब ६६ करोड १५ लाख ५२ हजार रुपैयाँ असुली भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)