ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न अभिमुखीकरण कार्यक्रम

२०७७ फागुन, १६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी


फागुन १६, चितवन । मुलुकमा आयात हुने वस्तुहरुको प्रतिस्थापन गर्न र यहाँ भएका उत्पादित वस्तुको निर्यात गर्न चितवनमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र चितवन उद्योग संघ, चितवनको संयुक्त आयोजनामा यहाँका उद्योगी व्यवसायीलाई केन्द्रको सूचना पोर्टल सम्बन्धी अभिमुखकरण दिइएको हो । 

केन्द्रले हालैमात्र सार्वजनिक गरेको अनलाईन पोर्टल www.nepaltradeportal.gov.np को बारे अभिमुखीकरण गराई आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि प्रशिक्षण गरिएको थियो  । 

प्रशिक्षण दिँदै केन्द्रका निर्देश सुरेन्द्रनाथ गंगोलले उद्योगी व्यवसायीलाई आफ्नो उत्पादन विदेशमा कसरी बजारीकरण गर्ने र आयात प्रतिस्थापनको प्रावधान र प्रक्रियाबारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

 उनका अनुसार उद्योगी व्यवसायीले आफ्नो उत्पादन माग, बजार कुन कुन देशमा छन र आफ्नो उद्योगको प्रोफाइल र उत्पादित वस्तुको जानकारी एवम् प्रचारप्रसार गर्न सक्नेछन् । पोर्टलमा गएर हरेक उद्योगी व्यवसायीले यूजर रजिष्टर गरी एक्जीम कोड लिएपछि आफ्नो व्यवसाय प्रवर्द्धन गर्न  निःशुल्क रुपमा सक्नेछन् । सरकारले नेपालमा उत्पादित भएका वस्तुलाई बढी भन्दा बढी निर्यात गर्न र आयात प्रतिस्थापन गरी मुलुकलाई आत्मनिर्भरको बाटोमा डोरयाउन अनलाईन पोर्टलबाट सहजीकरण गर्न लागिएको गंगोलले बताए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले आफ्नो देशको उत्पादनको प्रवर्द्धन गर्न निजी क्षेत्र तथा राज्यको उत्तिकै भूमिका रहने भन्दै यसलाई भरपुररुपमा प्रयोग गर्न आग्रह गरे । यो अनलाई पोर्टलको चितवनमा पहिलो पटक सार्वजनिक गरी अभिमुखीकरण गरी क्रमश काठमाडौं, र अन्य सातै प्रदेशका व्यवसायिक संघसंस्थाको सहकार्यमा अभिमुखिकरण गरिने केन्द्रले जानकारी दिएको छ । 

उद्योगी व्यवसायीले देशको आयात निर्यात बारे अनलाईनबाट यकिन तथ्यांक दिने र सोही अनुसार औद्योगिक उत्पादनको निर्यात गर्न मदत पुग्ने उनको भनाइ छ । ‘उद्योगी व्यवसायीलाई प्रविधिमैत्री बनाउन र राखिएका विषयबस्तु पारदर्शी बनाई निर्यात प्रवर्द्धन गर्नुनै हाम्रो लक्ष्य हो । राणाले भने, गतवर्ष मात्रै हामीले २५० अर्बको तरकारी फलफूल मात्र आयात गरेका छौं । यसलाई हामीले प्रतिस्थापन गर्न सक्छौं ।’ 

राज्यका नीतिहरु अझैपनि व्यवसायी मैत्री र कमजोर हुनसक्ने भन्दै राणाले आफ्ना समस्याहरु राज्यसँग राखेर आवश्यक सल्लाह सुझाव दिन आग्रह गरे । 

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले यस पोर्टलबाट कम्पनीलाई चाहिने र आफूले निर्यात गर्ने उत्पादनको सबै जानकारी सम्बन्धित पक्षसँग सजिलै पुग्न सक्ने हुनाले प्रविधिको प्रयोगमा उद्योगी व्यवसायी अभ्यस्त हुनुपर्ने बताए । 

यसबाट स्वदेशकै उत्पादन प्रयोग गर्न र निर्यात प्रवर्द्धन गर्न सजिलो प्लेटफर्मको रुपमा पोर्टल बनेकोले यसको सदुपयोग गर्नुपर्ने उनले बताए  । यसले रोजगारी, राजस्वमा योगदान दिन मदत पुग्ने उनको भनाइ छ । कार्यक्रममा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, परिसंघ लगायतका पदाधिकारी तथा उद्योगी व्यवसायीले आफ्ना धारणा राख्नुको साथै प्रशिक्षण लिएका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)