ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेता र शेयर बजार

२०७७ फागुन, २१  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

जनता जति दुब्लाए पनि नेता भने मोटाएको मोटायै छन् । पूरै अर्थतन्त्र दुब्लाएर सिल्टिमुर खाने बेला भइसक्दा पनि शेयर बजार भने उकालो लागेको लाग्यै छ । कोही भन्छन्, नेता रोगले सुन्निएका हुन्, शेयर बजार लोभले । शेयर सुन्निएको हो कि मोटाएको हो भन्नेमा विश्व बैंकको ऋण लिएरै अध्ययन गर्नुपर्ला जस्तो छ । अर्थतन्त्रका आधारभूत सूचकांकहरू जहाँको तहीँ हुने, अनि शेयर बजार मात्र मोटाउने नेपाली चरित्रको अर्थतन्त्रमा कसैले अनुसन्धान गरे नोवेल पुरस्कार पाउने सम्भावना पनि छ है !

कम्युनिष्टहरू फुटेर ध्वस्त हुन्छन् । नफुटी ध्वस्त हुने त कांग्रेस मात्रै हो । तर शेयर बजारमा कम्पनीका सञ्चालकहरूबीच फुट छ अथवा भित्रभित्रै लुट छ भने तपार्ईं डुब्ने सम्भावना खुब छ है !

अन्य क्षेत्रमा विकल्प नभएकाले शेयरमा लगानी खनियो । बैंकमा पैसा फालाफाल छ रे । त्यसैले शेयर किन्नेलाई खोजी खोजी पैसा गनियो । भोलि बैंक ब्याजदर बढ्नेबित्तिकै ‘तेरा क्या होगा कालिया ?’

शेयरकै जमाना छ । भेडीगोठदेखि खलिहानसम्म, अफिसदेखि भान्सासम्म शेयरकै चर्चा छ । जसले शेयरको कुरा गर्दैन, उसलाई त एलियनलाई जस्तो गर्न थाल्या छन् । तर सबै जना ओइरिएर शेयर शेयर भनिहिँडेर लगानी गर्ने सबैले कमाउँछन् त ? एउटै शेयर ओल्टाई पल्टाई एउटाले किन्ने, अर्कोले बेच्ने । फेरि अर्कोले बेचेकोलाई पहिलेकाले किन्ने । किन्ने पनि दंग, बेच्ने पनि दंग । दुवैले आफूलाई बुद्धिमान् ठान्ने । तर, को कतिबेला खाल्डामा जाकिने हो, त्यो चाहिँ राम जाने । नेटवर्क मार्केटिङमा झैं कोही त मुर्गा बन्ला नि ?

जान्ने बुझ्नेहरू भन्छन्, बुझेर लगानी गरे कमाइन्छ । आज लगानी ग¥यो, भोलि नै घरखेत जोड्छु भन्नेहरूले चैं गुमाउँछन् । अरूले यति कमायो रे, उति कमायो रे भनेर देखासिकीमा जथाभावी लगानी गर्नेले त क–कसले गुमायो भन्ने पनि सुन्नु नि । भएभरको बचत एउटै शेयरमा हाल्दा बैंकमा न बाक्सामा होला है ! हौसिएर धेरै ऋण काढेर शेयरमा मात्रै पैसा खन्याए घरबार नै उठिबास नहोला भन्न सकिन्न ।

अब आईपीओमा १० को साटो कम्तीमा ५० कित्ता शेयर दिने रे । ५० कित्ता पाइयो भन्दैमा १०० बित्ता उफ्रिँदै हिँड्ने पनि ठीक होइन । नत्र निफ्रा बेचेर बालुवाटार किन्ने सपना देख्नेहरूको जस्तै सपना अधुरो रहन सक्छ । कम्युनिष्टहरू फुटेर ध्वस्त हुन्छन् । नफुटी ध्वस्त हुने त कांग्रेस मात्रै हो । तर शेयर बजारमा कम्पनीका सञ्चालकहरूबीच फुट छ अथवा भित्रभित्रै लुट छ भने तपार्ईं डुब्ने सम्भावना खुब छ है ! कम्पनीको आर्थिक परिसूचक राम्रो भए पनि लगानी गर्ने रंग ढंग पुगेन भने पनि ‘लाटो खान्छ एक बल्ढ्याङ, बाटो खान्छ तीन बल्ढ्याङ’ हुन बेर लाग्दैन ।

नबुझी लगानी गर्दा हिजो कुमारी, ज्योति, लक्ष्मीबाट धोखा पाएकाहरूले अहिले महिलाबाट पनि धोखा खाए । आफू कुरो नबुझी लगानी गर्ने, डुबेपछि गाली चैं बजार वा नेतालाई दिने ? नेता बन्न शैक्षिक योग्यता नचाहिए पनि शेयरमा लगानी गर्न त आधारभूत कुराहरू सिके फाइदै हुन्छ नि । तर अचेल सबै शेयर पण्डित, कुन चैं पण्डितलाई मान्नु ? समस्या त यो पो छ ।

आफूले किनबेच गर्ने कम्पनीका बारेमा आधारभूत र सके प्राविधिक ज्ञान लिने, नसके पत्रिका हेर्ने । इनर्जीलाई सिनर्जी गरेर लगानीमा हाइब्रिड गर्ने । शेयरमा पनि कृषिमा जस्तै हाइब्रिड गरेपछि धेरै फल्छ रे । अलिकति धैर्य, बठ्याइँ र पूँजी व्यवस्थापन गर्न सक्नेहरू शून्यबाट करोडपति पनि भए । नसक्नेहरू करोडबाट रोडपति भए । शेयरमा नलाग्नेहरू चैं खाली श्रीमतीका पति मात्रै रहे ।  

बजारमा साँडे कुदेको बेला, हरियो नेप्से परिसूचकको पछि लाग्दा खाल्डामा पर्न नि बेर लाग्दैन । तर साँडे दौडिएको बेला कसको कुरा कसले सुन्ने ? तर बजारमा जब भालु दौडिन थाल्छ, अनि मानिसहरू आत्तिएर शेयर फाल्न थाल्छन् । तर त्यतिखेर किन्ने मान्छे कोही हुँदैन, पदबाट हटेपछि नेताकहाँ कोही नगएजस्तै । त्यसैले शेयरमा आत्तिने र मात्तिने दुवै खराब कुरा हुन् ।

अहिले शेयरको साँडे उकालो उक्लेको उक्ल्यै छ । कथं कुनै कारणले ओरालो हामफाल्न थाल्यो भने कतिलाई रुवाबासी गराउला, कतिलाई सुकुमबासी बनाउला । नेताजीलाई सुरक्षा थ्रेट छ कि छैन था छैन, तर बजारलाई भने जहिले पनि थ्रेट रहिनै रहन्छ ।

शेयर बजारमा पनि अन्य क्षेत्रमा जस्तै जोखिम त हुन्छ नै । जोखिमसँग डर लाग्छ भने म्युचुअल फण्ड कम्पनीको शरण पर्न सक्नु हुन्छ । तर विनालगानी, विनाजोखिम फाइदै फाइदा चाहिन्छ भने शेयर बजार होइन, नेता बजारमा छिर्नुस् । घरमै करोड करोड अफर आइहाल्छ । अस्ति एक नेताले उनलाई अर्बको अफर आयो भनेर भाषणै ठोकेको सुन्नुभयो नै होला ? छैन त शेयरबजार भन्दा नेता बजार आकर्षक ?

नेता बजारमा ‘अण्डरभ्यालुड’ र ‘अण्डरइष्टिमेटेड’ कित्ताका नेताहरू रहेझैं शेयर बजारमा पनि कम्पनीका त्यस्तै कित्ता हुन्छन् । त्यस्तै कित्ता पत्ता लगाएर च्याप्प समातेर लगानी गरेमा झ्याप्पै फाइदा हुन्छ । कोलम्बसले अमेरिका झुक्किएर पत्ता लगाएका थिए भन्दैमा तपाईंले राम्रो शेयर त्यसै पत्ता लाग्छ भन्ने चैं नठान्नुहोला । अलिकति होमवर्क त गर्नुपर्छ नि हो !

निफ्रा र बोली बा दुवै अस्वाभाविक रूपमा उफ्रिएका थिए । एकै दिन थच्चारिए । अहिले फेरि विस्तारै उठ्दै छन् । कुन शेयरले धेरै नाफा दिन्छ र कुन चैंले ज्यान लिन्छ भनेर जान्न त समय कुर्नैपर्छ । सांसद हुनेबित्तिकै सबैले मन्त्री कसरी पाउँछन् त ? दुई–चार वा दश–बीस वर्ष त कुर्नैपर्छ नि राम्रो प्रतिफल लिन । खै कुरा बुझेको ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)