फागुन २७, टर्की । एक जना कमोडिटिज व्यापारीलाई टर्कीश सप्लायरले साढे ३ करोड डलरभन्दा बढी मूल्यको तामाको सट्टामा ढुंगामा रंग लगाएर दिएको छ ।
१० हजार टन कपर ब्लिष्टर खरीदमा आफू कार्गो ठगीमा परेको जेनेभास्थिल मक्र्युरिया इनर्जी ग्रूपले बताएको छ । कम्पनीले सो सामानको डेलिभरी चीनमा गर्न भनेको थियो ।
चीनमा कार्गो आउने शुरु हुँदै गर्दा तामाको पाताको सट्टामा कन्टेनरभरि रंग्याइएको ढुंगा मात्रै भेटेको कम्पनीले बताएको छ । सुरक्षा र निगरानी नियन्त्रण हुँदा समेत सो घटना भएको छ । गत वर्ष मक्र्युरियाले चीनमा कपर ब्लिष्टर (एक प्रकारको अप्रशोधित तामा) डेलिभरीका लागि तामा आपूर्तिकर्ता बेइट्सा बकिरसँग सहमति गरेको थियो ।
आठ ओटा पानीजहाजमा ३०० भन्दा धेरै कन्टेनरमा ६ हजार टन कपर ब्लिष्टर ढुवानीको लागि लोड भएको थियो । तर इस्तानबुल नजिकको एक बन्दरगाहमा यात्रा शुरु हुनु अघि तामा झिकेर पातलो ढुंगाको पत्रलाई अर्ध–प्रशोधित तामा झैं देखिने रंगमा रंग्याइएको अनि सोही ढुंगा डेलिभरी भएको बताइएको छ ।
मक्र्युरियाले टर्की र बेलायती अदालतमा तामा आपूर्तिकर्ता बेइट्सा बकिरविरुद्ध कानूनी लडाई लड्न खोजेको छ । मक्र्युरिया विश्वको पाँच ठूला तेल व्यापारीमध्ये एक पनि हो । यस नक्कली तामा कान्डमा टर्कीश प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । एजेन्सी