ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैठक माहात्य

२०७७ फागुन, २८  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

नेपालमा क्यै पनि काम भाछैन भन्छन् मान्छेहरू । किन भा भाछैन ? अरू क्यै नभए पनि देशमा एउटा काम त भयंकर हुने गरेको छ त । त्यो हो बैठकै बैठक । सधैं बैठकमै व्यस्त रहने हाम्रो देश सर्वोच्चको फैसलापछि त झन् बैठकमय बनेको छ । वार्ता गर्न चाहने सबै दलसँग वार्ता गर्ने विषयमा बैठक, सरकारमा जाने, नजाने वा कोसँग कसरी जाने वा कोसँग कसरी खाने भन्ने विषयमा बैठक । लड्डु खाएर बैठक, बैठक बस्ने बारेमै बैठक ।

बैठकबाजी वस्तुतः सरकारी र राजनीतिक दलको कार्य प्रणालीको एक अभिन्न अंग हो । विनाबैठक सरकारी कुनै काम पनि अघि घिस्रँदैन । भलै बैठकले गरेको निर्णय हावामा नै किन नउडोस् ।

हाम्रो देशमा बैठकबाजीको एउटा लामो परम्परा नै छ, जुन अनादि कालदेखि आजसम्म जीवन्त एवं निरन्तर विकासशील पनि छ । बैठकबाजी हाम्रो पहिचान हो भन्दा फरक नपर्ला । यो हाम्रो नसा नसामा बसेको छ । औसत नेपाली स्वभावैले बैठकबाज हुन्छन् । चौतारादेखि गौचरन, स्कूलदेखि संसद्, बल्खुदेखि बालुवाटार र नांगेडाँडादेखि अहिले पेरिसडाँडासम्म, बैठक जहाँ पनि बस्छ ।

देशमा अरू खास क्यै नभए पनि बैठक परम्पराको विकास भने राम्रैसँग भइसकेको छ । हाम्रो देशको परम सौभाग्य यो छ कि यहाँ एक से एक इतिहास प्रसिद्ध बैठकबाज थिए । उनीहरूले दिल्लीमा १६ बुँदे, काठमाडौंमा १२ बुँदेदेखि अहिले पनि भित्रभित्रै कहाँ कहाँ कति बुँदे बैठक गरिनै रहेका छन् । गत हप्ता मात्र सरकारसँग तीनबुँदे बैठक गरेर एउटा विद्रोही पार्टी जंगलबाट शहर पसेको छ । यसरी बैठकबाजहरूका एक से एक दुर्लभ निर्णयहरू छरपस्टै छन् । हुन पनि जस्तोसुकै समस्याको पनि समाधान बन्दुकबाट भन्दा बैठकबाटै निक्लन सक्तछ । बैठकबाजी नै हाम्रा सम्पूर्ण रोगको उपचार हो अथवा भनौं सम्पूर्ण मुद्दाको फैसला हो ।

बैठकबाजीका कैयौं शैलीहरू छन् । यसमा सबैभन्दा महत्त्वपूर्ण हो – बैठकबाजीको सरकारी शैली । नामबाटै प्रस्ट छ कि यो शैलीको विकास मन्त्रालय, विभाग, आयोजना र मातहतका कार्यालयहरूबाट भएको हो । यो शैलीको विकासमा पहिले संघ, अहिले प्रदेश र स्थानीय निकाय सबैको उत्तिकै योगदान छ ।

बैठकबाजी वस्तुतः सरकारी र राजनीतिक दलको कार्य प्रणालीको एक अभिन्न अंग हो । विनाबैठक सरकारी कुनै काम पनि अघि घिस्रँदैन । भलै बैठकले गरेको निर्णय हावामा नै किन नउडोस् । बैठकको दोहोरो प्रयोग हुन्छ । काम गर्न र नगर्न दुवैका लागि बैठकलाई प्रयोगमा ल्याउन सकिन्छ । विषयलाई झुलाउने वा कुनै काम नगर्न सबैभन्दा सुन्दर र उपयोगी तरीका नै त्यस विषयमा कुनै समिति या आयोग बनाएर बैठक बसाइदिने हो । बैठकै बैठक भइरहन्छ र सम्बन्धित विषय हाम्रो अदालतमा फसेका मुद्दाहरू जसरी वर्षौंसम्म तन्किरहन्छन् । र, जबसम्म फैसला हुन्छ, तबसम्म मुद्दाको वादी र प्रतिवादी दुवै रहन्नन् । अर्थात् सर्प पनि मर्छ र लठ्ठी पनि भाँचिन्न ।

पुर्खाहरूले खुँडा र खुकुरीले भौगोलिक एकीकरण गरे । भावनात्मक रूपमा मुलुकलाई एक बनाउने काम त यिनै बैठकहरूले पो गरेका छन् भनी तर्क दिने बैठकविज्ञहरूको पनि कमी छैन । परिपाटी अनुसार देशको कुनै एउटा कुनामा अवस्थित कुनै आयोजना वा विभागको कुनै समितिको बैठक देशको अर्को कुनामा आयोजना गरिन्छ । र, प्रत्येक पटक बैठक बस्ने स्थान बदलिरहन्छ । कहिले हापुरे, कहिले लुम्बिनी त कहिले पोखरा । यसबाट बैठकेहरूलाई देश दर्शनको अवसर प्राप्त हुन्छ, जसबाट क्षेत्रीयता जस्तो संकीर्ण भावनाको उन्मूलन गर्न पनि मद्दत पुग्छ । विगत दुई–तीन दशकयता त झन् बैठकका लागि विदेश भ्रमणको नयाँ क्षितिज पनि खुलेकै छ । कोभिड–१९ को त्रास मात्र हटोस् न, अनि देख्नुहुनेछ बैठक बस्न विदेश जानेहरूको लर्को । यसबाट निश्चय पनि अन्तरराष्ट्रिय सुझबुझ र भाइचारा विकासमा सहयोग पुग्नेछ ।

बैठकबाजीबाट विमान कम्पनी र तारे होटलहरूको पनि व्यवसायमा वृद्धि हुन्छ । बैठकबाजी प्रतिव्यक्ति आय बढाउन पनि सहायक हुन्छ । बैठकमा भाग लिनेहरूका लागि आउने, जाने, बस्ने, खाने, पिउने आदिको व्यवस्था त प्रायः सरकारी खर्चमै हुन्छ । आयकर मुक्त भ्रमण भत्ता र काल्पनिक ट्याक्सीका बिलका भुक्तानी त अलग्गै भइहाल्छन् । बैठककै नबसी कागजपत्र मिलाएर भत्ता लिने अचेलका चलनका बारेमा त यहाँ के चर्चा गर्नु र खै ?

बैठकहरू सामान्य पारिवारिक दृष्टिकोणबाट पनि उपयोगी हुन्छन् । हाकिमसाहेब र मेमसाहेब आदिको पनि भ्रमण साथै भैहाल्छ । अर्थात् उनीहरूका लागि यो सरकारी पिकनिक हुन्छ । त्यहाँ आवश्यक शपिङ पनि भइहाल्छ । हावा पानी पनि फेरिरहन पाइन्छ । त्यसैले बैठकको व्यवस्था पनि मौसम हेरेर गरिन्छ । जस्तै, गर्मीमा अलि चिसो ठाउँको रिसोर्टमा राखिन्छ । वास्तवमा यस्तो काममा ठूलै दूरदर्शिताको खाँचो पो हुन्छ त ।

बैठकबाजीमा आदान प्रदानको पनि निकै सम्भावना रहन्छ । तपाईं उसलाई पनि तपाईंको समितिमा राख्नुस् । उसले पनि तपाईंलाई उसको कमिटीमा राख्छ । ढुकुटी खेले जस्तो आलोपालो । कहिले तपाईं पाहुना त कहिले ऊ । तपाईंको माया ऊमाथि, उसको माया तपाईंमाथि । यति भएपछि जीवनमा के चाहियो साथी !

समग्रमा बैठकबाजी पारिवारिक, राजनीतिक, सरकारी वा कर्पोरेट सबै दृष्टिकोणले एक उपयोगी वस्तु हो । जसले बैठकबाजीको कर्तव्य पूरा गरेको छ, उसले नै यसको सुख या दुःख राम्रोसँग बुझ्न सक्छ । बैठकै बस्न नपाएकालाई बैठकको स्वाद के था ? तर ज–जसले बैठक बस्ने सौभाग्य प्राप्त गरेका छन्, उनीहरूलाई यो शुभकामना छ है– ‘तपाईंका सबै बैठक फलदायी रहून्, संसद्मा जस्तो कुनै दुःखद घटना कहिल्यै नहोस् ।’

अन्त्यमा, उनीहरू बधाईका पात्र हुन्, जसले बैठकबाजी गरिरहेका छन् । तर मलाई एउटै प्रश्नले बारम्बार सताइरहेको छ कि यत्तिका वर्षदेखि देशका विषयमा यति धेरै चिन्तन, मनन, गन्थन, मन्थन र बैठकबाजी भइरहेका छन् । तर देश चैं उभो लाग्न किन नसक्या होला हँ ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)