ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनका इँटा उद्योगमा कोरोनाको असर : विस्थापित हुँदै उद्योगी

२०७७ चैत, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । कोरोना महामारीले सबै क्षेत्रमा असर परिरहेका बेला यसको मारमा चितवनका इँटा उद्योग पनि परेका छन् । गत वर्षबाट बन्द भएका इँटा उद्योग हालसम्म सञ्चालन आउन नसकेका हुन् ।

कोरोनाका कारण भारतलगायत सीमा क्षेत्रका मजदुर, कामदार नआएपछि उद्योगीहरूले ठूलो क्षति बेहोर्नुपरेको हो । धेरै रोजगारी सिर्जना गर्ने यो क्षेत्र बन्द हुँदा अधिकांश उद्योगी विस्थापित भएका छन् ।

संघका अनुसार जिल्लामा सञ्चालित १८ मध्ये दुई वटा उद्योग मात्र सञ्चालनमा  छन् ।

मजदुर र कामदारमा निर्भर रहँदै आएका इँटा उद्योगले कोरोना महामारीका कारण गत वर्षबाटै उत्पादन बन्द गर्न बाध्य भएको चितवन इँटा उद्योग संघका अध्यक्ष नारायण सापकोटाले बताए ।

‘सबै मजदुर कामदार भारतबाट ल्याउनुपर्ने हुन्छ’, उनले भने, उनीहरू गत वर्षबाटै फर्किन सकेनन ।’ मजदुर कामदार नफर्किंदा १६ वटा उद्योग बन्द भएको र यीमध्ये ७ वटा उद्योगी यस क्षेत्रबाट विस्थापित भइसकेको उनले जानकारी दिए ।

उनका अनुसार मजदुर अभाव, बैंकको ऋण, जग्गा भाडाका कारण अन्य उद्योगीसमेत विस्थापित हुने क्रममा छन् ।  

स्वदेशकै कच्चा पदार्थ प्रयोग हुने निर्माणको प्रमुख सामग्री इँटा उद्योगमा राज्यको ध्यान नपुग्दा  बन्द भएपछि आफूहरू विस्थापित हुने अवस्था आएको उद्योगीहरूको गुनासो छ । जिल्लामा हाल २ वटा मात्र उद्योग सञ्चालनमा छन् ।

राप्ती नगरपालिका–९ मा सञ्चालित मनकामना इँटा उद्योगका सञ्चालक पुष्प पिया कोरोनाका कारण उद्योग निल्नु न ओकेल्नु अवस्थामा रहेको बताउँछन् ।

‘साथीहरूले पोहोरबाटै बन्द गरिसक्नुभयो । मेरो पनि कहिले बन्द हुने ठेगान छैन,’ उनले भने ।

विगत वर्षभन्दा यो वर्ष मजदुर अभावमा न्यून क्षमतामा उद्योग चलाउनु परेको पियाको गुनासो छ । भारतीय कामदारको भर पर्दा उद्योगहरू बन्द गर्नुपरेको उनले बताए ।

इँटा उद्योगले कामदार अभाव मात्रै होइन, अन्य प्राकृतिक विपत्तिबाट पनि क्षति बेहोर्दै आएको छ । खैरहनी नगरपालिका–४ स्थित संगम ब्रिक्स प्रालिका सञ्चालक दीपक ढकाल राज्यको ध्यान इँटा उद्योगमा नपुग्दा उद्योगीहरू विस्थापित हुन पुगेको र मुस्किलले चलेका उद्योग पनि सदाका लागि बन्द गर्नुपर्ने अवस्था आएको बताउँछन् ।

‘सरकारबाट हामी उद्योगी उपेक्षित छौं । काम गर्छु भन्दा पनि गर्ने वातावरण छैन’, उनले भने, बर्सेनि कुनै न कुनै क्षति बेहोर्दै आएका हामी कोभिडका कारण उठ्नै नसक्ने गरी थला पर्‍यौं ।’

असिनापानीले लाखौं इँटामा क्षति
बुधबार साँझ चितवनमा एक्कासि आएको हावाहुरी, असिनापानीका कारण सुकाउन राखिएका लाखौं इँटामा क्षति पुगेको छ । सञ्चालनमा आएका दुई वटा उद्योगका इँटामा पूर्ण क्षति भएको छ ।

मनकामना इँटा उद्योगका सञ्चालक पियाले असिनापानीका कारण आफ्नो उद्योगमा  १२ लाख बराबरको काँचो इँटा नोक्सान भएको बताए । ‘भर्खर सुकाइएका इँटामा असिनापानीले कामै नलाग्ने गरी नोक्सान भयो । न त यसलाई अब पुनः प्रयोगमै  ल्याउन सक्छौं,’ उनले भने ।

असिनापानीका कारण काँचो इँटा सुरक्षित तरिकाले थन्काउन नसकिने र पोल्न हालिएका इँटामा पानीले गर्दा आगो निभ्न सक्ने जोखिम हुने उनले बताए ।

इँटा बनाउने उत्तम समय एक्कासि आएको असिनापानीका कारण जमिन चिसो हुने भएकाले इँटा बनाउने कामसमेत ठप्प भएको छ । खैरहनीमा रहेका संगम ब्रिक्स उद्योगमा समेत असिनापानीका कारण क्षति पुगेको छ ।

उद्योग परिसरमा सुकाउन लागिएका ३ लाख वटा इँटामा पूर्ण क्षति पुगेको सञ्चालक ढकाल बताउँछन् । कोभिडले लामो समय बन्द भएको उद्योग कम क्षमतामा सञ्चालनमा ल्याइए पनि पानीका कारण यस वर्ष इँटा उत्पादन गर्न नसकिने ढकालले बताए ।

‘अब  गर्मीको सिजन पनि सुरु भयो । कतिखेर पानी पर्छ थाहा हुँदैन’, उनले भने, ‘भएका कामदार पनि घर जान्छन् । थप जोखिम लिएर कसरी काम गर्ने ? ’

इँटाको बीमा गरिए पनि बीमाबाट क्षतिपूर्ति न्यून मिल्ने भएकाले यस उद्योगमा लगानी गर्न उद्योगीहरू आकर्षित नहुने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)