चैत ५, नयाँदिल्ली । कहिले काहीं सुन्दा पनि आश्चर्य लाग्ने घटनाहरु सुन्न र देख्न पाइन्छ । हो, यस्तै भएको छ यतिखेर भारतको अजमेरमा ।
बालमस्तिकमा असंवेदनशिल टेलिभिजन तथा रेडियो विज्ञापनले कसरी प्रभावित पारिरहेको छ भन्ने कुराको यो घटना ताजा उदाहरण पनि हो। क्याटबरी चकलेटको विज्ञापनबाट बालकको आनीबानी प्रभावित भएको र बालमस्तिष्कमा असर परेको भन्दै भारतको अजमेरस्थित रामनगर वस्ने एक जना अभिभावकले उक्त कम्पनी विरुद्ध मुद्दा दायरसमेत गरेका छन् ।
घटना पृष्ठभुमि अनुसार अभिभावक अमित गान्धिले आफ्नो छोरा प्रक्षलाललाई हजुरबुवालाई औषधी दिन भनेका थिए । तर उसले त्यो काम नगरिकन सुनेको नसुन्यै गरेर क्याटबरी चकलेट खाइरह्यो । पुन : ती अभिभावकले काम गर्न अह्राए । तर बालकले काम गर्नुको साटो जवाफमा काम नगरीकन पनि मद्दत गर्न सकिन्छ भन्ने कुरा सुनाए अभिावकलाई ।
टीभीको विज्ञापनबाट प्रभावित भएर ती बालकले अभिभावकले अह्राएको काम गर्न मानेको थिएन । यो कुरा सुनेर उनका अभिभावक आश्चर्यचकित भएका थिए ।हुन पनि हो, अह्राएको काम नगर्दा पनि कहिले काहीं कसैलाई सहयोग हुन्छ, मद्दत पुग्दछ ।
पेशाले वकिल रहेका अमितले छोरालाई सम्झाउँदै बालमस्तिष्कलाई प्रभाव पार्ने असंवेदनशिल विज्ञापन रोक्न तथा ६ लाख भारु क्षतिपूर्ति दिलाउन माग गर्दै उपभोक्ता विवाद आयोग अजमेरमा हालै मुद्दा दायर गरेका छन् ।
उनले आफ्नो याचिकामा यस्तो विज्ञापन खुलम खुला प्रसारण हुनु भारतीय संस्कृति र नैतिकता विरुद्ध भएको उल्लेख गरेका छन् । साथै वृद्ध हजुरबुवालाई औषधि जस्तो महत्वपूर्ण चिज दिएर संवेदनशिल बन्नु पर्नेमा बालक असंवेदनशिल भएको र यसले समाजमा गलत सन्देश जाने पनि याचिकामा उनले उल्लेख गरेका छन् ।
याचिकापछि उपभोक्ता आयोगले उक्त कम्पनीलाई मे ४ सम्ममा कारण देखाउन आदेश जारी गरेको छ । उनले यस्तो याचिका भ्रामक विज्ञापन विरुद्ध गरिएको एउटा नजिर हुने र यसबाट पाउने हर्जाना उपभोक्ता कल्याण कोषमा दान गर्ने पनि बताएका छन् ।
क्याटबरी चक्लेटको विज्ञापन यस्तो रहेको छ : यो विज्ञापनमा एक युवा र वृद्ध महिलालाई देखाइएको छ । यसमा वृद्ध महिलाको लौरो भूईंमा झर्दछ । यसबीचमा ती महिलाले लौरो उठाएर दिन भन्छिन् । तर लौरो उठाएर दिनुको साटो त्यो युवा आफ्नो धुनमा फाइभ स्टार क्याटबरी चकलेटर खाएर अह्राएको काम सुनेको नसुन्यै गरिरहन्छ । मद्दतको लागि याचना गर्दा पनि बेवास्ता गरिरहन्छ । त्यसपछि ती बृद्ध महिला लौरो उठाउन आफैं प्रयास गर्छिन् तर संजोग लड्नबाट बच्छिन् । विज्ञापनको अन्त्यमा भनिन्छ - कहिले काहीं केहि काम नगरेर पनि बेवास्ता गरौं । एजेन्सी