अटोमेटिक टेलर मेशिन (एटीएम)बाट आफूलाई चाहिने रकम त हामी सबैले झिक्ने गरेकै छौं । त्यसका लागि सम्बन्धित बैङ्कमा खाता र खातामा आवश्यक रकम भने हुनुपर्छ । तर, भारतमा भने छिट्टै नै बैङ्कमा खाता नभईकनै पनि एटीएम मेशिनबाट रकम झिक्न मिल्ने भएको छ । भारतमा बैङ्क खाता नभएका व्यक्तिले पनि मोबाइलको माध्यमबाट रकम प्राप्त गर्न सक्ने भारतको केन्द्रीय बैङ्क ‘रिजर्व बैङ्क अफ इण्डिया (आरबीआई का गभर्नर रघुराम राजनले बताएका छन् । ‘हालै मात्र हामीले बैङ्क खाता भएका व्यक्तिबाट खाता नहुनेलाई एटीएमको माध्यमबाट रकम हस्तान्तरण गर्ने नयाँ प्रणाली अनुमोदन गरेका छौं,’ राजनले भने । यो प्रणालीअन्तर्गत रकम हस्तान्तरण गर्ने व्यक्तिले एटीएममा गएर आफ्नो खाताबाट झिक्न चाहेको रकमको परिमाण बताउनु पर्छ । त्यसपछि मेशिनले रकम प्राप्त गर्ने व्यक्तिको मोबाइलमा एउटा कोड पठाउँछ । कोड प्राप्त गर्ने व्यक्तिले नजिकैको एटीएममा गएर कोडको सहायताले रकम निकाल्न सक्ने राजनको भनाइ छ ।
हाल भारतमा बैङ्क खाता हुनेले मात्र एटीएमबाट रकम निकाल्न पाउने व्यवस्था रहेको छ । ‘भारतमा विप्रेषण रकम प्राप्त गर्नेको सङ्ख्या अधिक रहे पनि तीमध्ये अधिकांशको बैङ्क खाता नरहेको र वित्तीय सेवामा औपचारिक पहुँच नभएकाले पनि विप्रेषणको रकम भुक्तानी गर्न नयाँ प्रणाली महत्वपूर्ण सावित हुनेछ,’ राजनले बताए । यस्तो अवस्थामा यो प्रणालीका माध्यमबाट छिटो र प्रभावकारी रुपमा सम्बन्धित व्यक्तिले पैसा प्राप्त गर्न सक्नेमा राजनले जोड दिए । यसले उपभोक्ताको परिचयलाई समेत खुलाउने हुँदा रकम हस्तान्तरण सहज हुने विश्वास व्यक्त गरिएको छ । एजेन्सी