यसै हप्ता एक हुल उद्योगी व्यवसायी देशमा उद्योगधन्दाको विकास कसरी गर्ने भन्ने छलफल गर्न भनेर बालुवाटार छिरे । तर त्यहाँबाट बाहिर निस्कँदा भने उनीहरूमध्ये धेरैले मुट्ठी पो उचालिरहेको देखियोे । अचम्म ! के भएछ हँ हाम्रा उद्योगी, व्यवसायीहरूलाई ? बालुवाटार छिरेपछि उनीहरूलाई चियासिया पिलाएपछि मार्क्स, लेनिन, चे ग्वेभेरालगायतका पाठ पो पढाइएछ । त्यहाँ उनीहरूले दीक्षा र भिक्षा दुवै पाएछन् जस्तो छ ।
मुलुकमा किन औद्योगिक वातावरण बनेन, किन उद्योग खुलेनन् भनेको त उद्योगीहरू कामरेड नबनेर पो रछ । यत्ति ब्रह्मज्ञान उद्यमीहरूलाई पहिल्यै भएको भए अहिलेसम्म मुलुक कहाँ पुगिसक्थ्यो ।
उद्यमीहरू पनि अब माक्र्स, लेनिनका चेला हुने भएपछि आडम स्मिथ, किन्स, मार्शल, मिल, सेन यी सबै प्रतिगामी अर्थशास्त्रीहरू हुन् भनेर मान्नैपर्ने हुन्छ । अब उद्योगी व्यवसायीले तिनका हैन, यिनका किताब पढ्नुपर्छ । अर्थात् अब उनीहरूले कम्युनिष्ट र अग्रगामी अर्थशास्त्रीहरूका पुस्तकहरू पढ्नु थाल्नु पर्दछ । अनि मात्र उद्योगको पनि असली विकास हुन्छ । बन्दुकबाट नआएको समाजवाद अब चैं आउँछ कि ?
मुलुकमा किन औद्योगिक वातावरण बनेन, किन उद्योग खुलेनन् भनेको त उद्योगीहरू कामरेड नबनेर पो रछ । यत्ति ब्रह्मज्ञान उद्यमीहरूलाई पहिल्यै भएको भए अहिलेसम्म मुलुक कहाँ पुगिसक्थ्यो । तर केही छैन । ‘देर आया दुरुस्त आया’ भनेझैं उद्यमीहरू लाल भएपछि मुलुकमा कमाल हुने निश्चित छ । मुलुकमा अब भने औद्योगिक क्रान्ति साँच्चै होला जस्तो छ । तर यसका लागि उद्यमीहरूका लागि छुट्टै विशेषखाले नयाँ पाठ्यक्रमको पनि व्यवस्था तुरुन्त हुन जरुरी छ । अब उद्योगीहरूले कच्चापदार्थ, उत्पादनको बजारीकरण जस्ता कुराभन्दा पनि तल दिइएका यस्ता पाठ्यसामग्री र पुस्तकहरू नपढी नहुने देखिन्छ । जस्तै,
जसले यी विषय राम्ररी पढ्छ, त्यही सबैभन्दा सफल उद्यमी हुने निश्चित छ । आखिर नेपालजस्तो देशमा बिक्ने भनेकै यही कुरा हुन् क्यार ! जे होस्, दशकौंपछि बल्ल उद्यमीको घैंटामा घाम लागेछ । सरकारले उद्योग खोल्नुहुन्न भन्नेहरू नै आफै सरकारी मान्छे बनेपछि अब गजबको पीपीपी मोडेल स्वतः बन्ने भो । हिजोसम्म उद्यमी र सरकार सर्प र भ्यागुता जस्ता भएर पो पीपीपी असफल भएको रहेछ । भन्नेहरूले त क्रोनी क्यापिटलिज्म भन्लान् । तर कसले कसको मुख टाल्न जान्छ र ? सत्ताको फेर नसमाती चोखो व्यवसाय गरेर कहाँ अग्रगामी हुन सकिन्छ र ? गणेश शैलीका सत्ता परिक्रमा देउतैको पालादेखि चलेकै हो क्यारे ? त्यही भएर उद्योगको विकासका लागि हाम्रा उद्यमीले नयाँ आइडिया फुराएका होलान् ।
तर नेपाली उद्यमीहरूले भ्याकुताजस्तो उफ्रने प्रगति गर्न केही क्रान्तिकारी शब्दावलीहरू कण्ठै पार्नुपर्ने हुन्छ । जस्तै, अग्रगामी छलाङ, पश्चगामी भ्वाङ, बुर्जवा, विदेशी दलाल, लफ्फाजी, संशोधनवादी, घोर दक्षिणपन्थी, दलाल पूँजीवादी, पलायनवादी, दक्षिणपन्थी, अराजकतावादी, रूप तत्त्व र सार तत्त्ववीच भेद, वर्गशत्रु, प्रधान शत्रु, गौण शत्रु, आदि ।
आइन्दा नेपाली उद्यमीहरूले एक–अर्कासँग कुरा गर्दा अर्थशास्त्रको विज्ञान प्रयोग गर्ने हैन, मार्क्सवादी गाली विज्ञानलाई प्रयोग गर्नुपर्छ । यसका लागि उद्यमीहरूले मार्क्सवादी सम्बोधन विज्ञानको छुट्टै कक्षा लिनुपर्ने हुन्छ ।
कम्युनिष्ट भन्नासाथ लाल अर्थात् रातो रङको महत्त्व हुने भएपछि हरेक उद्यमीहरूले चढ्ने कार, लगाउने कपडा, अफिस सजावट सबै रातो नै बनाउनुपर्ने हुन्छ । अझ उद्यमी स्वयम् कम्युनिष्ट भएपछि मजदूर संगठनको नेता पनि स्वयम् उद्यमी नै हुन पाउनुपर्छ । मजदूर नेता बनिसकेपछि उद्यमी आफैले ‘हाम्रो माग पूरा गर’ भनेर धर्ना दिन पनि सजिलो हुने देखिन्छ । बरु उद्यमीले आफ्नै उद्योगको अगाडि धर्ना दिँदा लगाउने नाराहरूका बारेमा पनि एउटा छुट्टै तालीम सञ्चालन हुन जरुरी देखिन्छ । साथै, विभिन्न अवसरहरूमा कसरी प्रस्तुत हुने भनेर टिभीमा रामदेवले योग सिकाए जसरी निम्न किसिमका तालीमहरू पनि उद्यमीहरूले लिनु महत्त्वपूर्ण हुन्छ ।
यदि तपाईंको पनि कुनै उद्यमीसँग जम्काभेट भयो भने बिर्सिएर पनि नमस्ते गर्ने, कुइनो ठोक्ने, अँगालो हाल्ने काम नगर्नु होला । यसो गर्नुभयो भने तपाईं प्रतिगामीमा दरिन सक्नुहुन्छ । त्यसैले नेपाली उद्यमीहरूसँग भेट हुँदा मुट्ठी कसेर अभिवादन कामरेड ! भन्न नबिर्सिनु होला ?
यत्ति गरेपछि अब नेपाली उद्योगले कसो नमार्ला त छलाङ हँ ?