ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिदेशीय राजमार्ग जोड्ने लामाबगर सुरुङमार्ग बनाउन डीपीआर तयार

सुरुङ मार्गको लागत २ अर्ब ४६ करोड २३ लाख रुपैयाँ अनुमान

२०७७ चैत, २१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
लामाबगर सुरुङमार्ग स्थलको फाइल फोटो
author avatar नवराज शिवाकोटी

चैत २१, दोलखा । उत्तर–दक्षिण त्रिदेशीय मार्ग अन्तर्गत दोलखाको लामाबगरमा बन्ने सुरुङ मार्गको डीपीआर तयार भएको छ ।  सडक विभागले उक्त सुरुङमार्गको विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) तयार गरेको हो ।

डीपीआरमा उल्लेख भएअनुसार सुरुङ मार्गको लागत २ अर्ब ४६ करोड २३ लाख रुपैयाँ अनुमान गरिएको छ । डीपीआर तयार भएपछि सुरुङमार्ग निर्माणकालागि बहुवर्षीय ठेक्का लगाउन अर्थ मन्त्रलायसँग सहमतीको माग गरिएको  विभागका गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा विजय जैशीले बताए । चालू आर्थिक वर्षका लागि सरकारले सुरुङ मार्गको लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

करीब एक किलोमिटर लामो हुने सुरुङ मार्गको  चौडाई १० मिटर तथा उचाई ६ मिटरको हुने छ । सूरुङ मार्ग फूटपाथसहितको हुने डीपीआरमा उल्लेख छ । सुरुङ मार्गको निर्माण पछि भारतीय सिमानादेखि चीनसम्म सडक मार्गले जोड्न सहज हुने छ ।

सुरुङमार्ग बनेपछि थप १० किलोमिटर सडक बनाउँदा चिनियाँ सिमाना ङ्याङ्लुङ जोडिंदा व्यापारिक नाका खोल्नसमेत सहज हुनेछ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई असर नपर्ने गरी यो सुरुङमार्ग बनाउन लागिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा ६१ करोड ५५ लाख ८६ लाख रुपैयाँ थप बजेट अर्थ मन्त्रालयसँग माग गरेको छ । 

चीन, नेपाल र भारत जोड्ने त्रिदेशीय राजमार्ग जोड्ने सुरुङमार्ग भएकाले यो अत्यन्तै महत्वपूर्ण रहेको निर्देशक जैशीको भनाइ छ । अर्थमा बजेट सहमतिको प्रक्रियामा रहेकाले सहमति पाउना साथ बोलपत्र आह्वान गर्न सकिने उनले बताए ।

सुरुङमार्ग बनेपछि सबैभन्दा पुरानो लामाबगर नाका सञ्चालनमा ल्याउन सकिन्छ । तातोपानी नाका सडकसँग जोड्नु अघि काठमाडौं र ल्हासाको मुख्य व्यापारिक नाका यही लामाबगर थियो । लामाबगरमा अहिलेसम्म पुरानो भन्सार कार्यालय भए तापनि कारोबार भने छैन ।

भारतको भिठ्ठामोडदेखि लामाबगरसम्मको सडक पूर्णरूपमा सञ्चालन भए तापनि तिब्बत सिमानासम्मको सडक यही कठिन भीरका कारण जोडिएको छैन ।
माथिल्लो तामाकोशीको बाँध क्षेत्रमा पानी भरिएपछि लप्ची जानका लागि हिँड्ने बाटोसमेत नहुने भएपछि सडक विभागकै अनुरोधमा ७ वर्षअघि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सिभिल ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनमार्फत सुरुङको डिजाइन गराएको थियो ।

सी आकारमा निर्माण प्रस्ताव गरिएको सुरुङको लगत त्यस बेला ३२ करोड रुपैयाँ अनुमान गरिएको थियो । त्यस बेला हतारमा गरेको डिजाइन र अहिले बजारको मूल्य, अन्तरराष्ट्रिय मापदण्ड अनुरुपको सुरुङमार्ग बनाउने गरी डिजाइन गर्दा लागत बढेको विभागको दावी छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)