शपिङ गर्न जाँदा अधिकांश मानिसहरु आकर्षक पहिरन र जुत्तामा सजिएर जाने गर्छन् । अमेरिकास्थित ‘व्रिगहाम योङ युनिभर्सिटी’का अनुसन्धानकर्ताले गरेको एक अध्ययनमा हाई हिल लगाएर शपिङ गर्न जाँदा आकर्षक देखिने मात्र नभएर अनावश्यक खर्च गर्नबाट समेत जोगिने नयाँ तथ्य फेला परेको छ । अग्लो जुत्ता लगाएर किनमेल गर्न जाने व्यक्तिको सोचाइमा भिन्नता आउने गरेका ‘कञ्ज्युमर विहेभियर इन इक्विलिब्रियम : हाउ एक्सपियरियन्सिङ फिजिकल ब्यालेन्स इन्क्रिजेज कम्प्रमाइज चोइस’ शीर्षकको प्रतिवेदनमा बताइएको छ । यो प्रतिवेदन जर्नल अफ मार्केटिङ रिसर्चको अगष्ट महीनाको संस्करणमा छापिइसकेको छ । हाई हिल भएको जुत्ता लगाएर शपिङ जाने महिलामा सन्तुलित व्यवहार उच्च रहने र उनीहरुमा वैकल्पिक उपायबारे सोच्ने शक्ति पनि धेरै हुने अध्ययनमा पाइएको छ ।
त्यस्तै, किनमेल गर्दा उनीहरुले ठिक्क मूल्य पर्ने उत्पादन खरीद गर्ने सम्भावना बढी हुने बताइएको छ । ‘धेरै खर्चालु प्रवृत्ति भएका मानिसले हाई हिल लगाएर शपिङ गर्न जाँदा उपयुक्त हुन्छ,’ प्रतिवेदनका सह–लेखक ज्याफ्री लार्सनले भनेका छन् । आफ्नो मनलाई सन्तुलित राख्नमा ध्यान केन्द्रित गर्ने कुनै पनि तङ्खवले खरीदारीको विकल्पलाई समेत प्रभावित पार्ने अध्ययनका लेखकद्वय ड्यारोन विलेटर र लार्सनले बताएका छन् ।
त्यस्तै, सन्तुलित खरीदारी गर्ने उपभोक्ताले टेलिभिजन खरीद गर्दा साढे ६ सय डलरको ५० इञ्च टेलिभिजनभन्दा साढे ४ सय डलर पर्ने ४२ इञ्चको टेलिभिजन खरीद गर्ने सम्भावना बढी भएको बताइएको छ । यस अध्यययनलाई शारीरिक उत्तेजना र निर्णय गर्ने शक्तिबीचको सम्बन्ध मापन गर्ने बृहत् अध्ययनको एउटा अंशका रुपमा समेत लिन सकिने उनीहरुको दाबी छ । यसअघि भएका अध्ययनले भने उत्साह, वचन र तीव्र अभिलाषाबीचको सम्बन्धलाई मात्र देखाउँदै आएको थियो । यस अध्ययनमा उपभोक्ताका अनुभवहरुलाई सन्तुलित राख्नेबारे उपायसमेत सुझाइएको थियो । यसमा अनलाइन शपिङ गर्दा कुर्सीमाथि अडेस लागेर बस्ने, वैकल्पिक उत्पादनका बारेमा उत्तर दिने क्रममा वाई फिट गेम खेल्ने र कुन चाहिँ प्रिण्टर किनौं भनेर सोच्दा एउटा खुट्टामा मात्र उभिने उपभोक्ताका अनुभवलाई अध्ययन गरिएको थियो ।
त्यस्तै, क्रुजमा यात्रा गर्दा गरिने खरीद निर्णय र जाडो महीनाको किनमेलमा वरफ जमेको ठाउँबाट गरिने हिँडडुलले शपिङमा समान प्रभाव पार्ने तथ्य भेटिए पनि यसलाई अध्ययनमा समावेश गरिएको छैन । भौतिक शक्तिले मानिसको सोचाइमा कसरी प्रभाव पर्छ भन्नेबारे मानिसहरु जानकार हुनुपर्ने अनुसन्धाकर्ताको दाबी छ । ‘मानिसहरुले किनमेल गर्नुअघि एक मिनेट बसेर मैले चाहेको यही नै हो त भन्ने कुरा सोचविचार गर्नुपर्ने विलेटरले बताएका छन् । हाम्रो सोचलाई केले प्रभावित बनाइरहेको छ भन्नेबारे पनि बढी सचेत हुन आवश्यक भएको उनको जिकीर छ ।