ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाह ! वाह !! शेयर बजार

२०७८ बैशाख, १०  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

देशमा अहिले दुईओटा बजार गुल्जार छन्, एउटा राजनीतिको बजार र अर्काे शेयर बजार । दुवैमा एउटा समानता के छ भने दुवै बजारमा ‘इन्साइडर ट्रेडिङ’ हुन्छ । फरक ? राजनीतिको बजारमा हुने खरीद–विक्रीको तथ्यांक बाहिर त्यति आउँदैन । तर खास कुरा के भइरहेको हो भन्ने सबै जनतालाई थाहा हुन्छ । तर शेयर बजारका धेरै तथ्यांक बाहिर आए पनि भित्र के भइरहेको छ, त्यसबारे केही मानिस बाहेक सबै रनभुल्लमा हुन्छन् । अनि राजनीतिमा लगानी नगरी प्रतिफल पाइन्छ, अझ अविश्वास प्रस्तावमा हस्ताक्षर गरे तत्कालै मन्त्री बन्न पाइन्छ । तर शेयर बजारमा नाफा कमाउन चैं लगानी गर्नैपर्छ ।

पैसा धेरै हुनेका लागि थन्काउने ठाउँ, अलि अलि हुनेका लागि जाने कमाउने, नजाने गुमाउने र केही नहुनेहरूका लागि पनि गफ गर्ने ठाउँ भएको छ शेयर बजार ।

चौबाटामा क्यारेमबोर्ड, लुडो, चेस र कलब्रेक खेल्ने जमात पनि हालै आएर शेयरतिरै लागेको छ क्यारे । सकारात्मक परिवर्तन नै मान्नुपर्छ यसलाई, हैन ? जुवामा सोह्र कौडाले बनाउने चारवटा दाउ कौडा झरेको एकै निमेषमा राम्ररी गनिसक्न जान्नुपर्छ । तासको खेलमा ५२ पत्ती कण्ठ गर्नुपर्छ । यता भने हरियो र रातो दुई रङ कण्ठ भए पुग्छ । जुवाभन्दा सजिलो भएर त होला अहिले ठूलै जमात कस्सिएर शेयरमा लागेको छ । जिन्दावाद मूर्दावाद गर्दै सडक तताउने बेरोजगार युवाहरू शेयरतिर लागेपछि सिंहदरबारका काजीहरूलाई थोरै भए पनि हाइसञ्चो भएको छ ।

अचेल बेरोजगार गृहिणी र तिनका पति परमेश्वरहरूलाई पनि आनन्दै भएको छ । किनकि गृहिणीहरू टेलिसिरियल हेर्न छाडेर शेयर शेयर भन्दै टेलिफोन र धितोपत्रका शब्दावली कण्ठ पार्न अभ्यस्त हुन थाले । यसले गर्दा पतिहरूलाई अफिसबाट घर पुग्नुअघि नै श्रीमतीको मुड कस्तो होला भन्ने अनुमान गर्न सजिलो भएको छ । आजको शेयर बजार रातो छ भने घरको आधा आकाश पक्कै ठुस्स परेको पाइनेछ भन्ने जान्नुस् । शेयरमा हरियो छ भने घरमा पनि चमकधमक हुनेछ ।

शेयरले सबैभन्दा हाइसञ्चो त सरकारी कर्मचारीहरूलाई भएको छ । युनियनका कोठामा बसेर नानाभाँती गफ दिने झुण्ड अचेल कम्तीमा ३ बजेसम्म शेयर बजारको राता र हरिया आँकडा हेर्नमै व्यस्त हुन थाले  । त्यसैले १० देखि ३ सम्म त सरकारी अफिस शेयरकै कारण शान्त देखिन्छन् । अघि पछि टेबुलमा टोपी मात्र राखेर टाप कस्ने कर्मचारीहरू अचेल कुर्सीमै टाँसिइरहनुमा शेयर खरीद–विक्रीका सफ्टवेयर नै कारक हुन् ।

सेवाग्राहीका नजरमा देश र जनताको काममा घोत्लिएको भान पार्ने गजबको अवसर पनि यही शेयर बजारले दिलाएको छ । कम्प्युटरमा के काम गरिरहेको छ भन्ने कुरा सेवाग्राहीले थाहा नपाओस् भन्दै कम्प्युटरको स्क्रीनमा सेवाग्राहीको आँखा कतैबाट पनि नपर्नेगरी सेटिङ मिलाइएकै हुन्छ । हाकिम पनि शेयरमा लागेको थाहा पाए भने चाकरीबाज कर्मचारीहरू वारेन बफेटका अवतार जस्तो गरी सल्लाह दिन हाजिर भइहाल्छन् । गजब छ है यो शेयर भन्ने चिज !

सेवानिवृत्त कर्मचारीहरूका लागि त झन् काइदा भएको छ शेयर बजार । बिहान चौबाटाका निःशुल्के सल्लाहकारको कुरा सुन्यो, ब्रोकर अफिसतिर अड्डा जमायो । दुई चार हजार फाइदा भए राम्रै भयो । घाटा भए उही एक महीनाको पेन्सन त हो भन्यो, चित्त बुझायोे ।

अचेल ज्योतिषीकहाँ ग्रह, गोचर, विवाह, सम्बन्ध, रोजगारी, विदेश आदि प्रश्न पनि फाट्टफुट्ट मात्र आउँछन् क्यारे । ‘गुरु, शेयरमा आज मेरो कस्तो छ, कुन दिन र कुन शेयर किन्दा फाइदा हुन्छ ?’ भन्ने मानिसको लर्को लाग्न थालेको छ । ‘फलानो औंठी लाउनुस्, शेयरमा मालामाल भइन्छ’ भन्दै पत्थरको व्यापार गर्नेहरू पनि फस्टाएकै छन् ।

पैसा धेरै हुनेका लागि थन्काउने ठाउँ, अलि अलि हुनेका लागि जाने कमाउने, नजाने गुमाउने र केही नहुनेहरूका लागि पनि गफ गर्ने ठाउँ भएको छ शेयर बजार । १० कित्ता शेयर लिएर करोडौंको कथा कथ्ने ठाउँ पनि हो शेयर बजार । त्यसैले के वामपन्थी, के रामपन्थी, के हामपन्थी हिजोआज सबै सबै शेयर बजारमै झुम्मिरहेका भेटिन्छन् ।

जे होस् शेयर बजार यस्तै हो । कोही भुट्ने छन्, कोही भुटिने छन् । कोही लुट्ने छन्, कोही लुटिने छन् । केही कमाउने छन्, केही गुमाउने छन् । तर भुट्ने र भुटिनेहरू, लुट्ने र लुटिनेहरू सधैं एकै हुँदैनन् । कहिले भुट्नेहरू भुटिनेमा पर्छन् । कहिले भुटिनेहरू भुट्नेमा आइपुग्छन् । राजनीतिमा पनि यस्तै हो ।  दुवैमा भुट्ने र भुटिनेहरूको लुकामारी गजबले चलिरहन्छ ।

तर अचेल भुट्ने भन्ने शब्द पुरानो भयो भन्दै मुग्र्याउने भन्ने नयाँ शब्द शेयर खेलाडीहरूले आविष्कार गरेका छन् । यो शब्द पनि राजनीतिबाटै आएको हो क्यारे । मुग्र्याउने पनि कस्ता कस्ता ! हकप्रदको हल्ला फिँजाएर बजार हल्लाउने कम्पनी पनि छन् । किन्ने र बेच्ने दुवै एकअर्कालाई मुर्ग्याएँ अर्थात् मुर्गा बनाएँ भनेर मख्ख पर्ने पनि छन् । वास्तविक मुर्गा को बन्यो भन्ने त समयले बताउँछ नै ।

जे होस् कम्पनी खोल्ने, आईपीओ निकाल्ने र सारा नेपालीलाई शेयरमा आबद्ध गरेर रोजगार बनाउने मोडेलको विकास गजबले भइसकेको छ नेपालमा । विज्ञान, प्रविधि, सृजना आदिमा धेरै आविष्कार पश्चिमी गोलाद्र्धमा भए पनि शेयर बजारको विकासमार्फत आम रोजगारीको मोडल चाहिँ नेपालमा विकसित भइसकेको छ । यसैले अब भन्नैपर्छ वाह ! वाह !! शेयर बजार ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)