ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाको असर चितवनका सरकारी कार्यालयमा : बाक्लिंदै संक्रमण, पातलिंदै सेवाग्राही

२०७८ बैशाख, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख १३, चितवन । देशभर कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै चितवनका सरकारी कार्यालयमा समेत यसको असर पर्दै गएको छ ।

 कोरोना महामारीका चितवनमा दैनिक औषत दुई गुणा संक्रमितको संख्या वृद्धि भएको छ । संक्रमित र मृत्युको संख्या बढ्दै जाँदा यसको प्रत्यक्ष असर चितवनका अधिकांश सरकारी कार्यालयहरुमा परेको छ । आइतवारको तथ्यांक अनुसार चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ 

जसका कारण एकसाता अघिमात्र भीडभाड हुने सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति घट्दै गएको छ  । चितवनका मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, नेपाल विद्युत् प्राधिकरण तथा घरेलु तथा साना उद्योग लगायतका कार्यालयमा सेवाग्राहीको चाप कम हुँदै गएको पाइएको छ । 

मालपोत कार्यालय भरतपुरका सूचना अधिकारी  हेम तिमिल्सिना  कार्यालयमा दैनिकजसो सेवाग्राहीको चाप घट्दै गएको बताउँछन् । ‘कार्यालयमा सबै किसिमका गरी दैनिक १२० जनाको भन्दा बढीको काम हुन्थ्यो ’, उनले भने हाल २० प्रतिशत सेवाग्राही घटेको पाएका छौं ।’ हाल रजिष्ट्रेसन पासभन्दा बैंक धितो राख्ने सेवाग्राही धेरै भएको उनले बताए । 

हुनत भरतपुर नारायणगढका मुख्य बजारमा पनि मानिसको उपस्थिति कम हुँदै गएको छ । आर्थिक गतिविधि पनि घट्दै गएको छ । कोरोनाका जोखिमकै कारण स्थानीय प्रशासनले महानगरका हरेक पसल, होटल, रेष्टुरेण्ट राती ८ बजेभन्दा बढी समय खोेल्न निषेध गरिएको छ । कारोबारमा ह्रास आएपछि व्यवसायीहरु पनि चिन्तामा देखिन्छन् । 

कोरोना जोखिम र व्यवसायमा ह्रास देखिएपछि आन्तरिक राजस्व कार्यालय भरतपुरमा समेत सेवाग्राहीको चाप कम हुँदै गएको छ । कार्यालयका सूचना अधिकारी कपिलराज नेपाल वैशाख महीना शुरु भए यतानै सेवाग्राहीको संख्यामा कम हुँदै गएको बताउँछन् । ‘वैशाख अघिसम्म सेवाग्राहीको चाप पनि बढी थियो, राजस्व संकलन पनि उल्लेखनीय थियो तर यो क्रम ह्वातै घटेको छ’,उनले भने ।

केही दिन अघिमात्र कोरोना भ्याक्सिनको दुबै डोज लगाइसकेका उक्त कार्यालयका चारजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाको त्रासका कारण र व्यापार व्यवसायमा मन्दी आएपछि सेवाग्राही घट्दै गएको हुन सक्ने उनको भनाइ छ । 

यसैगरी चितवनमा सार्वजनिक यातायात तथा निजी यातायातको आगमनमा पनि केही कमी भएको देखिन्छ । कतिपय नागरिकहरु घरबाट निस्कन छाडेका छन् । सेवाग्राहीको उत्तिकै चाप हुने भरतपुरको यातायात व्यवस्था कार्यालयमा पनि चाप घट्दै पाइएको छ । 

कार्यालयका लेखाप्रमुख सम्राटमणी अधिकारी  वैशाख लागेदेखिनै कार्यालयमा आउने ५० प्रतिशत सेवाग्राही कम भएको बताउँछन् । ‘वैशाखबाट ५० प्रतिशतनै सेवाग्राही कम भएको छ’, उनले भने, ‘यसअघि दैनिक ८०० जनाको हाराहारीमा सेवाग्राही थिए । अहिले ४०० जनाको हाराहारीमा छन ।’

यसअघि सेवाग्राहीको चाप बढ्दा एकजना सेवाग्राहीको लागि १ घण्टा समय लाग्थ्यो अहिले सेवाग्राहीले कुर्नुनपरेको उनले बताए । भरतपुरको विद्युत् कार्यालयमा पनि दैनिकजसो सेवाग्राहीको चाप बढ्दै गएकोमा हाल आएर सेवाग्राहीको चाप घट्दै गएको छ । कार्यालयका लेखा प्रमुख चिरञ्जीवी शर्मा यो अनुपात गत हप्ताबाटनै कम भएको बताउँछन् ।

‘अधिकांश सेवाग्राहीले अनलाइन भुक्तानी मार्फत बिल तिर्ने गरेका छन् ’, उनले भने, ‘अनलाइन बिल भुक्तानी गर्न नजान्ने सेवाग्राही मात्र कार्यालय आएको पाएका छौं ।’ यसअघिसम्म दैनिक ६०० जनासम्म सेवाग्राहीले सेवा लिएपनि यो संख्या ५० प्रतिशतभन्दा कम भएको उनले बताए । 

यसअघि कोरोनाको असर कम हुँदै जाँदा उद्योग व्यवसाय दर्ता गर्न आउने घरेलु तथा साना कार्यालयमा सेवाग्राही घट्न थालेका छन् । दिनहुँ १०० ओटाभन्दा बढी उद्योग व्यवसाय दर्ता गर्ने उक्त कार्यालयले हाल अधिकतम ५० ओटाकोे हाराहारीमा उद्योग व्यवसाय दर्ता हुने गरेको जानकारी दिएको छ ।

कार्यालयका कम्युटर अपरेटर नायब सुब्बा  गौतम मैनालीले कोरोनाको त्रास र आर्थिक वर्षको अन्तिम मिति नजिकिदै गएकोले पनि सेवाग्राही कम भएको बताउँछन् । 

‘आर्थिक वर्ष अन्त्य हुने समय पनि आउन लाग्यो । उद्योग व्यवसाय भन्दा पनि मानिसको स्वास्थ्य ठूलो कुरा भयो’, उनले भने, ‘पछिल्लो समय मानिसमा स्वास्थ्य चेतना पनि छ, भय र त्रास पनि बढ्दै गएको छ । ’
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)