ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटक घुमाएरै कुमरोजले कमायो सवा करोड

२०७८ बैशाख, २१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । गत वर्षदेखि महामारीको रूपमा फैलिएको कोभिड–१९ ले पर्यटन क्षेत्र थला परिरहेका बेला चितवनको पर्यटकीय गन्तव्य कुमरोज सामुदायिक वनले भने उल्लेख्य आम्दानी गर्न सफल भएको छ ।

चालू आर्थिक वर्ष ०७७/७८ मा चितवनको खैरहनी नगरपालिका–१३ स्थित कुमरोज सामुदायिक वनले आन्तरिक पर्यटक घुमाएरै एक करोडभन्दा बढी आम्दानी गरेको हो ।
उक्त वनले चालू आवको ९ महिनामा एक करोड २५ लाख आम्दानी गरेको जानकारी दिएको छ ।

सामुदायिक वनका अध्यक्ष गणेशबहादुर श्रेष्ठ कोभिड–१९ कहरका बीच पनि वनले राम्रो आम्दानी गरेको बताउँछन् । वनमा चालू आवको कात्तिकबाट मात्रै पर्यटक आवागमन सुरु भएको थियो ।

‘कोभिड–१९ का कारण बाह्य पर्यटक आउने अवस्था छैन । अहिले पुनः कोभिडको दोस्रो लहर सुरु भएको छ’, उनले भने, ‘सेवा सञ्चालन भएपछि हामीले पछाडि फर्केर हेर्नुपरेन ।’

उनका अनुसार विगत वर्षभन्दा चालू आवमा आम्दानीमा ६० प्रतिशतले कमी आएको छ । ‘विगतमा भन्दा यो वर्ष पर्यटन आवागमन प्रभावित भयो । आम्दानी पनि पहिलेभन्दा ६० प्रतिशतले कमी आयो’, उनले भने, ‘कोभिड–१९ का बीच पनि एक करोड २५ लाख रुपैयाँ आम्दानी राम्रै हो ।’

गत आर्थिक वर्ष ०७६/७७ मा वनले २ करोड आम्दानी गरेको थियो । उक्त आर्थिक वर्षमा पनि कोरोनाले प्रभाव पारेको थियो ।

त्यसअघि आर्थिक वर्ष ०७५/७६ मा वनले ४ करोड आम्दानी गरेकोे थियो । चालू आर्थिक वर्षको आम्दानी भने सबै आन्तरिक पर्यटकबाट मात्रै भएको हो ।

कुमरोज आउने पर्यटकका लागि जीप र हात्ती सफारीको व्यवस्था छ । जिप सफारी २०७४ पुस ११ गतेबाट सुरु गरिएको हो । हात्ती सफारी भने २०४८ सालबाटै सुरु भएको थियो ।

अहिले १२ वटा निजी हात्तीले पर्यटक घुमाउने गरेका छन् । सामुदायिक वनमा पर्यटकका लागि ९० वटा जीपका लागि स्वीकृति भए पनि अहिले ५६ वटा मात्रै सञ्चालनमा छन् ।

यसमा कुमरोजको मात्रै ३० वटा रहेका छन् भने २६ वटा कुमरोज कठारको संयुक्त जीप सफारी रहेको छ । जिपका लागि प्रवेश शुल्क १ हजार ५०० रुपैयाँ तोकिएको छ ।
सामुदायिक वनभित्र ४ वटा मचान छन् । यसमध्ये २ वटा चालू अवस्थामा छ भने २ निर्माणाधीन छन् । यस्तै सामुदायिक वनभित्रै बास बस्ने व्यवस्थासहितको मचान पनि छ । मचानमा आन्तरिक पर्यटकको हकमा एक रातको प्रतिव्यक्ति ६ सय तथा बाह्य पर्यटकलाई एक रातको प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लिने गरेको श्रेष्ठले जानकारी दिए ।

आम्दानी संरक्षण र सामाजिक विकासमा कुमरोज सामुदायिक वनले पर्यटक घुमाएर गर्ने आम्दानी पूर्वाधार निर्माण र सामाजिक विकासमा खर्चिने गरेको छ । हरेक वर्ष हुने आम्दानी स्थानीय क्षेत्रको विकास, वन संरक्षणलगायत क्षेत्रमा खर्चिने गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)